लहान : दृष्टि गुमाएका व्यक्तिको दैनिकीबारे कसैलाई अवगत गराइरहनु पर्दैन। उनीहरूलाई पलपल सहाराको आवश्यकता पर्छ। यस्ता व्यक्तिको परिवारमा कोही भएनन् भने झन् कस्तो संकट पर्ला भन्ने सम्झँदै कहाली लाग्छ हामीलाई। तर, त्यही कहाली लाग्दो दैनिकी बिताउँदै छिन् सिरहाको धनगढीमाई नगरपालिका–१४ हात्तीमुढा गाउँकी ३५ वर्षीया लक्ष्मी राई।
लक्ष्मीले २० वर्षका उमेरमा गाउँ नजिकैको जंगलमा घाँस काट्न जाँदा भालुको आक्रमणमा परेर दुवै आँखा नै गुमाएकी हुन्। आँखाको ज्योति नहुँदाको पीडा छँदैछ, परिवारमा एक्लो हुँदाको पीडा भनेर साध्य नभएको लक्ष्मी दुखेसो पोख्छिन्। उनी भन्छिन्, ‘भालुले आँखा मात्र खायो, ज्यानै खाइदिएको भए यो दुःख त भोग्नुपर्ने थिएन।’
कहाली लाग्दो त्यो दिन
सिरहाको उत्तरी क्षेत्रमा पर्ने हात्तीमुढा गाउँकी लक्ष्मीलाई बाबु–आमाले छिमेकी उदयपुर जिल्लाको रिस्कु बाँकेटारका कमल राईसँग विवाह गरिदिएका थिए। ०५६ मा विवाह बन्धनमा बाँधिएकी लक्ष्मीको वर्ष दिन छोरा जन्मियो। मजदुरी गरेर दाम्पत्य जीवन चाउँदै आएका थिए। तर, ०५९ मा पतिले अर्की श्रीमती हिँडेपछि लक्ष्मी छोरालाई च्यापेर माइती आइन्।
माइतीमा बस्दै आएकी लक्ष्मी ०५९ माघ १७ गते खसी बाख्रालाई घाँस काट्न गाउँ नजिकैको मनैगैरा जंगलमा जाँदै थिइन्। उकालो चढ्दै गर्दा एक्कासी भालुले झम्टिएर दुवै आँखा झिकिदियो। भालुको आक्रमण परेकी लक्ष्मीको गाउँलेहरूको सहयोगमा अस्ताल पुगिन्। तीन महिनाको लामो उपचारले हिँड्न सक्ने त भइन् तर उनको आँखाको दृष्टि सधैंका लागि गुम्यो।
यस घटनापछि उनी अढाई वर्षीय छोरा अमृतलाई धनुषामा रहेकी बहिनीलाई सुम्पेर माइती गाउँमा संघर्षमय जीवन एक्दै बिताउँदै आएकी छन्। तर, माइतीमा रहेको झुपडी पनि ढल्ने अवस्थमा पुगेको छ। ‘बाँच्नका लागि खानै पर्छ,’ उनी भन्छिन्, ‘आँखा छैन, खोलामा पानी लिन जाँदा कैयौं पल्ट बाढीले बगाएरको छ।’
सुरक्षा भत्ता जीवनको सहारा
बाबु आमा गुमाएकी र एक्ली बहिनी विवाह गरेर गएकीले लक्ष्मीको जीवन चलाउने सहारा भनको सरकारले दिने सामाजिक सुरक्षाको भत्ता मात्र रहेका छ। उनले अपांगताको सुरक्षा भत्ता लिँदै आएकी छन्। ‘आँखा गुमाएको १२ वर्षपछि०७३ सालमा बल्ल रातो कार्ड पाए,ँ’ उनी भन्छिन्, ‘मासिक दुई हजार रुपैयाँको दरले चार महिनामा एक पटक आउने आठ हजार रुपैयाँले जसोतसो जीविका चलाउँदै आएकी छु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।