मुलुकभरबाट माघ महिनामा मात्र ७ थान बरामद

|

काठमाडौं : माघ १२ गते सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान व्युरोको टोलीले कैलाली लम्की नगरपालिकाको चिसापानीबाट ३ थान चितुवाको छाला र ३ किलो हड्डीसहित कालीकोट जिल्ला धौलाकोट नगरपालिका- ६ का कर्ण कामीलाई पक्राउ गर्‍यो।

त्यस्तै, माघ ५ गते चितुवाकै १ थान छाला झोलाभित्र प्याक गरी राखेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोड भूगोलपार्कबाट ३ जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेहरूमा बैतडी जिल्ला रुडिदेउका महेशराम औजी, बैतडी दशरथ नगरपालिका- १२ का जनक महरा र बैतडी मेलौलीका सुरेन्द्र दयाल थिए।

माघ ३ गते तनहुँको आँबुखैरेनी मुग्लिन पुलबाट केन्द्रीय अनुन्धान व्युरो (सीआईबी) र ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले ३ थान चितुवाका छाला र हड्डीसहित २ जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिकाका भीमबहादुर तामाङ र गोरखा सुलिकोट गाउँपालिका- २ का ईतबहादुर तामाङ थिए। उनीह्ररूलाई स्कोर्पियो जीपमा सुटकेसभित्र चितुवाको छाला लुकाएर काठमाडौं ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो।

त्यसैगरी पुस २६ गते मकवानपुरको थाहा नगरपालिकामा हिउँ चितुवाको १ थान छालासहित प्रहरीले १ जनालाई पक्राउ गर्‍यो। ६ फिट लम्बाइ भएको उक्त छाला १४ लाख रुपैयाँमा किनबेच हुन लागेको थियो। पक्राउ पर्नेमा थाहा नगरपालिका- ८ का सञ्जीव थापा थिए।

यी त पुस महिनायता मुलुकभरका विभिन्न ठाँउबाट चितुवाका अवैध छाला ओसारपसार गर्नेलाई छालासहित प्रहरीले पक्राउ गरेका घटना हुन्। मुलुकभर यस्तै लोपोन्मुख जनावरहरूको हाड, छालाको तस्करी भयावह अवस्थामा हुने गरेको छ।

नेपालमा पाइने महत्त्वपूर्ण वन्यजन्तुमा बाघ, गैँडा, हात्ती, हिंउँ चितुवा, गोही, रेडपान्डा, घडियाल, व्वाँसो अादि दुर्लभ जन्तु हुन्। यिनीहरूको अवैध चोरी सिकारी र अवैध व्यापारले गर्दा यी जन्तु लोप हुने अवस्थामा पुगिसकेका छन्।

एकातिर जलवायु परिवर्तनका कारण हिउँ चितुवा, चितुवा जस्ता जनावरको वसस्थान भत्किँदै गएको छ भने अर्कोतिर अवैध चोरी सिकारीले यिनको संख्यामा व्यापक कमी हुँदै गएको त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मुकेशकुमार चालिसेले बताए।

'नेपाली समाज अझै अन्धविश्वसमा भर परेको छ, लोपोन्मुख जनावरहरूका हाड, छालाको प्रयोगले विभिन्नथरीका रोग निको हुनेदेखि पैसासम्म कमाउन सकिन्छ भन्ने धारणा अझै गाउँघरका मानिसमा छ', उनले भने। यसका लागि जनचेतना जगाउनु आवश्यक रहेको र यसो नभए नेपालका पाइने धेरै किसिमका जन्तु लोप भएर जाने उनले बताए।

नेपालीहरू आर्थिक प्रलोभनमै परेर वन्यजन्तुको अवैध कारोबार गर्ने गरेको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका प्रहरी नायव उपरीक्षक जीवन श्रेष्ठले बताए। छिटो र सजिलो पैसा कमाउने लालसाले दुर्लभ वन्यजन्तुको तस्कर हुने गरेको उनको भनाइ छ। उनले वन्यजन्तुको चोरी तस्करी नियन्त्रणका लागि सीआईबी गम्भीर भएर लागेको उनले बताए। पक्राउ पर्नेमा धेरै जना भरिया हुने गरेको तथ्यांकले देखाउँछ। तस्करहरू आफ्नो सामान भरियामार्फत् सम्बन्धित ठाउँमा पुर्‍याइदिएवापत भरियालाई धेरै पैसा दिने हुनाले भरियाहरूले यस्तो जोखिम उठाउने गरेको प्रहरीले बताएको छ।

अवैध चोरी सिकारी सबैभन्दा बढी चितुवाको छाला हुने गरेको काठमाडौं वन कार्यालय मुद्दा शाखाकी प्रमुख दीपा बुढाथोकीले बताइन्।

उपत्यकाका विभिन्न स्थानबाट केन्द्रीय अनुसन्धान व्युरो र अन्य प्रहरी टोलीले २०६४/०६५ यता ९२ थान चितुवाका छालासहित तस्करलाई पक्रेर जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएका छन्।

यस्तो छ आर्थिक वर्ष २०६४/०६५ यताको तथांक

आर्थिक वर्ष २०६४/०६५ मा काठमाडौंका विभिन्न ठाउँबाट बाघ र चितुवाका गरी ८ थान छाला बरामद गरेको छ। यस्तै, आर्थिक वर्ष २०६५/०६६ मा ५ थान, २०६६/०६७ मा ९ थान, २०६७/०६८ मा ४ थान, २०६८/०६९ मा १० थान, २०६९/०७० मा ९ थान, २०७०/०७१ मा ७ थान, २०७१/०७२ मा २३ थान, २०७२/०७३ मा ६ थान, २०७३/०७४ मा ७ थान र २०७४/०७५ मा हालसम्म ४ थान चितुवाको छाला तस्करहरूबाट बरामद गरिएको छ।  

के हुन्छ कारवाही?

वन्यजन्तुको चोरी सिकारी तथा ओसारपसार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र साइटिस महासन्धिअनुसार कारवाही हुने गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) मा यसरी गैरकानुनी रूपले वन्यजन्तुको चोरी सिकारी गर्ने, खरिद बिक्री गर्ने तथा ओसारपसार गर्नेलाई ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद तथा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

सोही एेनको दफा २६ (६) अनुसार तर अदालतको हकमा भने २० हजार जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ। यसमा धेरै अदालतको नियम अनुसार नै धरौटीमा रिहा हुने गरेको काठमाडौं वन कार्यालय मुद्दा शाखाकी प्रमुख बुढाथोकीले बताइन्।

कता जान्छ तस्करी भएको छाला?  

देशभरबाट प्रहरीले बरामद गरेका अवैध छाला सम्बन्धित वन कार्यालयमा बुझाउने गर्छन्। यसलाई वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा दाखिला गर्ने गर्छ। दाखिला भएका अवैध हाड, छाला निकुञ्जले नष्ट गर्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.