काठमाडौं : महानगरीय प्रहरी वृत्त पुल्चोकका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ। उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा राखेर अनुसन्धान भइरहेको छ। पन्थी कारवाहीको प्रक्रियामा रहेको र निलम्बनसम्म हुन सक्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताए। 'उनलाई प्रहरीको आचरणविरुद्ध काम गरेको भन्ने बुझिएकाले कारवाही गर्न लागिएको हो', न्यौपानेले भने।
तर पन्थीले गत कार्तिक २४ गते भारतीय नागरिक रवि सिंहले आफ्नै डेरामा बन्धक बनाइएकी एक नेपाली महिलालाई ७ घन्टापछि आफ्नो नेतृत्वमा उद्धार गरेको र त्यही विषयलाई लिएर आफूमाथि कारवाही भएको गुनासो गरे। उनले भने, 'रवि सिंहलाई पक्राउ गर्नुको परिणाम मैले संगठनको कारवाही भोग्नुपरेको हो।' यस विषयमा समेत अनुसन्धान भएको स्वीकार गर्दै प्रवक्ता न्यौपानेले यो अनुसन्धानको विषय भएकाले बोल्न नमिल्ने बताए।
पन्थीले कार्तिक २४ गते सिंहलाई पक्राउ गरेर ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेललाई बुझाएको थियो। जावलाखेल प्रहरीले सिंहलाई २४ दिनपछि थुनामुक्त गरेको थियो। थुनामुक्त भएसँगै सिंहले गोविन्द पन्थीको जागिर खाइदिनेसम्मको धम्की दिएको महानगरीय प्रहरी वृत्त पुल्चोकका एक प्रहरीले बताए।
के थियो घटना?
कार्तिक २४ गते ललितपुरको झम्सिखेलको एक घरमा भारतीय नागरिक रवि सिंहले नीता डंगोललाई बन्धक बनाएका थिए। बन्धक बनाएको खबर नीताका श्रीमान दिलीप डंगोलले १०० मा फोन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई जानकारी गराए।
बन्धक बनाएको खबर रानीपोखरीले पाउनासाथ पुल्चोक वृत्तलाई खबर गर्यो र गोविन्द पन्थीको नेतृत्वमा पुल्चोक प्रहरीले नीता डंगोललाई उद्धार गर्यो। बन्धक बनाउने भारतीय नागरिक रवि सिंहलाई प्रहरी नियन्त्रणमा लिइयो। बन्धक बनाउनुभन्दा पहिला सिंहले नीताका श्रीमान दिलीपलाई समेत कुटपिट गरेका थिए। सिंह र डंगोल परिवारको पार्टनरसीपमा हरिहर भवनमा रेस्टुरेन्टसमेत संचालन गर्दै आएका थिए। सोही विषयमा सिंह र दिलीप डंगोलबीच आर्थिक विवाद थियो।
आर्थिक विवाद आफूसँग भएको र आफ्नी श्रीमतीलाई सिंहले बन्धक बनाएको दिलीपको आरोप छ। उनले भने, 'लेनदेन मसँग भएको थियो, उसले मेरो श्रीमतीलाई केका आधारमा बन्धक बनायो?' बन्धक बनाइएकी आफ्नी श्रीमतीलाई उद्धार गरेर प्रहरीले आफ्नो कर्तव्य पूरा गरेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।