लहान : सिरहाको धनगढीमाई नगरपालिका- १० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा सोमबार बिहान भेटिएका मृतकको पहिचान खुलेको छ।
स्थानीय सागर मगरको आँपको बगैँचामा भेटिएका मृतक लहान नगरपालिका- २४ डाँडाटोल बस्ने ३२ वर्षका जोगी सदाय रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार सदायको शव मृतकका साला राजकपुर सदायले सनाखत गरेपछि पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ।
हत्या गरी फालेको आशंका
बगैँचामा भेटिएको शवको घाँटीमा नीलडाम देखिएकाले कर्तव्य गरी हत्या भएको आशंका गरिएको छ। पोष्टमार्टमपछि मात्र यकिन भन्न सकिने प्रहरीले जनाएको छ। अन्यत्र हत्या गरेर शव बगैँचामा फालेको हुनसक्ने प्रहरीको अनुमान छ।
गाउँ नजिकै पर्ने खुट्टी खोलामा गिट्टी बालुवाको काम गरेर जीविका चलाउँदै आएका मृतक सदायकी श्रीमती लिखनीदेवी सदाय सुत्केरी हुने अवस्थामा रहेकी गाउँलेहरू बताउँछन्। ४ छोराछोरीका बाबु सदाय पछिल्लो २ महिनादेखि घरबाहिर बस्दै आएका थिए।
खुट्टी खोलाको गिट्टी बालुवाको ठेकेदारसँग थप काम गरिदिने शर्तमा लिएको १० हजार रुपैयाँको विषयमा विवाद भएपछि सदाय घरबाहिर बस्दै आएको बताइएको छ। गिट्टी बालुवाको कारोबार गर्ने ठेकेदारको नाम भने खुलेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।