|
फाइल फोटो

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा) को तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले सोमबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन्।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा थरूहट आन्दोलनका क्रममा भएको हिंसामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)सहित ७ प्रहरी र एक बालकको मृत्यु भएसँगै उनी फरार भएका थिए। सोमबार चौधरीले अदालतमा अात्मसमर्पण गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। 

टीकापुर घटनामा चौधरीलाई प्रहरीले मुख्य अभियुक्त ठहर गर्दै सरकारी वकिल कार्यालय कैलालीमा मुद्दा दर्ता गराएको थियो। सरकारी वकिल कार्यालय कैलालीले दर्ता गराएको मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ।

चौधरीले अदालतमा आत्मसमर्पण गरेसँगै अदालतले आजैबाट चौधरीको बयान लिन सुरु गरेको कैलाली जिल्ला अदालतका श्रेष्तेदार ईन्द्रबहादुर कठायतले जानकारी दिए। 'बयान लिएपछि थुनछेक आदेश हुनेछ', उनले भने।

चौधरीले शपथ कार्यक्रमको करिब एक साताअघि मात्र अदाल तसमक्ष आत्मसमर्पण गरेका हुन्। यसअघि उनले सर्वोच्च अदालतबाट रिटमार्फत आदेश ल्याएर विजयी प्रमाणपत्र लिएर शपथमा उपस्थित हुने बताउँदै अाएका थिए । यो प्रयास असफल भएपछि उनले आत्मसर्पण गरेका हुन्। 

फागुन २१ गते संसदको पहिलो अधिवेशन बस्ने भएकाले त्यसको अघिल्लै दिन संसद सचिवालयले प्रतिनिधिसभा सांसदहरूको शपथको कार्यक्रम तय गरको छ।

के हुन्छ चौधरीको शपथ?

चौधरीले फगुन २० गते तय भएको प्रतिनिधिसभा सांसदको शपथ लिनेमा भने अझै अन्योल देखिएको छ। चौधरीले शपथ लिनका लागि अदालतले सफाई दिनै पर्ने अधिवक्ता प्रेमसिंह धामीले बताए। उनका अनुसार त्यो सम्भवना न्यून रहेको छ।

'चौधरीले सफाई पाउन अदालतमा बयान दिएपछि थुनछेकको म्याद थप गरेर प्रहरीले अनुसन्धान गर्नेछ, प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पुग्नुपर्ने हुन्छ। त्यसको आधारमा मात्र अदालतले फैसला गर्छ', धामीले भने।

मुलुकी ऐन अदालती बन्दोबस्तको दफा ११८ अनुसार कुनै पनि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा नेपाल सरकार वादी हुने र अदालतले धरौटीमा रिहा गर्न नमिल्ने उल्लेख छ। यसकारण पनि चौधरीले २० गतेकै शपथ लिन पाउने देखिँदैन। उनमाथि कर्तव्य ज्यानसमबन्धी मुद्दा अदालतमा विचाराधीन छ।

यस्तो छ चौधरीको विगत  

कैलाली जिल्लाको जानकी गाउँपालिका- ६ का स्थानीयवासी हुन् रेशम चौधरी। उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनमा रुचि राख्ने गर्थे। चौधरीले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्। थारू र नेपाली भाषामा उनले दर्जनौँ गीत गाएका छन्।

साहित्य र पत्रकारितामा समेत उनको अनुभव रहेको छ। बर्दियाको भुरी गाउँ, गुलरियालगायत तीन ठाउँमा उनको फूलबारी एफएम संचालनमा छ। तर टीकापुर घटनापछि टीकापुरमा रहेको उनको एफएममा आगजनी भएपछि हाल बन्द रहेको छ। टीकापुरमै चौधरीको फूलबारी रिसोर्टसमेत संचालनमा रहेको छ।

यसरी भएको थियो टीकापुर घटना

थरूहट प्रदेश माग गर्दै शान्तिपूर्ण आन्दोलन हुने भनिएको टीकापुरमा २०७२ भदौ ७ मा सात प्रहरी र एक बालकको ज्यान जाने गरी हिंसा भड्किएको थियो।

टीकापुर क्षेत्रमा चार दिनअघिदेखि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी भएकाले सार्वजनिक स्थलमा सभा सम्मेलन गर्न रोक लागेको थियो। उता, प्रशासनले लगाएको निषेधाज्ञा तोड्ने आन्दोलनकारीहरूले घोषणा गरिसकेका थिए।

टीकापुर वरिपरिको बस्तीमा थारूहरूकै बाहुल्य छ। यही जातीय संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आफ्नो सक्रियता बढाएको थियो। २७ गते टीकापुरको मोतीनगरबाट करिब  १५ हजार थारू कार्यकर्ता आउँदै गरेको थाहा पाएपछि एसएसपी न्यौपाने त्यतै गएका थिए।

प्रहरीका अनुसार टीकापुर मनुवाको शहीद गेट नजिकै थरूहट कार्याकर्ताले प्रहरीलाई घेराबन्दीमा पारेर आक्रमण गरेका थिए। त्यसै बेला प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो र स्थिति तनावपूर्ण बन्यो।

एसएसपी न्यौपानेले सम्झाउन खोज्दा आन्दोलनकारीले उनलाई नियन्त्रणमा लिए। घरेलु हतियारले जथाभावी प्राहर गरेपछि उनको मृत्यु भएको थियो। न्यौपानेको मृत्यु भएपछि कतिपय प्रहरी त आफ्ना हतियारै छोडेर भागेका थिए। भाग्दै गरेका अन्य प्रहरी र एक बालकसहित अाठ जनाले घटनामा ज्यान गुमाएका थिए। यसै घटनाको मुख्य योजनाकार रेशम चौधरी रहेको प्रहरीको दाबीसहित जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.