|

काठमाडौं : मानव तस्करीको अभियोगमा माघ २५ गते पक्राउ परेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको अध्ययन प्रतिवेदन सरकारी वकिल कार्यलयमा पेस भएको छ। सिआइबीले खड्गीबारेको अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालयमा पेस गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जनकारी दिए।

'मानव बेचबिखनअन्तर्गतको मुद्दामा सिआइबीले उनको फाइल सरकारी वकिल कार्यालयमा पेस गरेको हो। सिआइबीको अनुसन्धानको क्रममा खड्गीले केही पैसा लिएको पनि देखिएको छ। उनीसँग गएका केही मानिस नेपाल फर्केको देखिएन', श्रेष्ठले भने, 'त्यसैले हामीले अध्यन प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छौँ। बाँकी अदालतले के फैसला गर्छ।'

खड्गीलगायत धेरै समूहले विभिन्न वहानामा मानिस विदेश लैजाने र उतै छाड्ने गरेको सूचना प्राप्त भएका र उनीहरूबारे पनि अनुसन्धान गरिरहेको श्रेष्ठले बताए।

खड्गीले विभिन्न व्यक्तिबाट रकम असुलेर सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको भन्ने उजुरी परेपछि अनुसन्धानका लागि माघ २५ मा उनलाई ठमेलबाट सिआइबीले पक्राउ गरेको थियो।

सिआइबीका अनुसार सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गीसहित १३ जनाको टोली कोरिया गएको थियो। तर फर्किने क्रममा खड्गी र अर्का एक जना मात्र नेपाल आएको देखियो, बाँकी ११ जना कोरियाबाट नेपाल फर्केका छैनन्।

मानव बेचविखन तथा ओसारपसरा नियन्त्रण ऐन, २०६४ को दफा १ र ३ अनुसार मानिस किन्ने र बेच्ने ठहर भएमा २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ।

यस्तो छ राजेन्द्र खड्गीको पृष्ठभूमि

हेटौँडामा जन्मिएका राजेन्द्र खड्गी नेपाली चलचित्रका द्वन्द्व निर्देशक हुन्। उनले थुप्रै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन्। दर्जनौँ चलचित्रमा उनले खलनायकको भूमिकासमेत निर्वाह गरेका छन्। खड्गी मार्शल आर्टअन्तर्गत क्युकोसिन कराँतेका गुरु पनि हुन्। केही चलचित्र निर्माणसमेत गरेका खड्गीले ‘कालो चस्मा’ नामक चलचित्र निर्देशनसमेत गरेका छन्।

यसअघि सबैभन्दा धेरै चलचित्रमा द्वन्द्व निर्देशन गर्ने संसारमै आफू पहिलो व्यक्ति भएको दाबी गर्दै आएका उनी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन पनि चाहन्थे । उनले अभिनेता शिव श्रेष्ठसँग मिलेर अर्को एक चलचित्र निर्माणको तयारीसमेत गरेका छन्।  

 के भन्छ नेपाल चलचित्र द्वन्द्व निर्देशक संघ?

मानव बेचबिखन अभियोग मुद्दामा प्रहरीले पक्राउ गरेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीका बारेमा नेपाल चलचित्र द्वन्द्व निर्देशक संघले कुनै औपचारिक धारणा राखेको छैन। राजेन्द्र खड्गी कोरिया जानेबारेमा आफूहरूलाई जानकारी नै नगराई गएकाले यसबारेमा कुनै धाराणा नराखेको नेपाल चलचित्र संघका अध्यक्ष सूर्य थोकरले बताए। 'राजेन्द्र खड्गीको व्यक्तिगत विषय हो, यसमा हामीले केही बोल्न मिल्दैन', उनले भने, 'यस प्रकारको घटनाले अब बाहिर सुटिङ हुने नेपाली चलचित्रमा केही अप्ठ्यारा आउन सक्छन्।'

अर्का द्वन्द्व निर्देशक राजकुमार उप्रेती भने कतिपय मानिस आफैँ तपाईंहरूको संघमार्फत् विदेश पुर्‍याइदिनुपर्‍यो भनेर आउने गरेको बताउँछन्। 'यसमा गल्ती कसको हुने? कसैलाई फकाएर विदेश लैजानु पो बेचबिखन हुनुपर्ने हो', उनी भन्छन्। खड्गीको विषयमा के भएको हो, आफूलाई जानकारी नभए पनि यस्तो प्रकारको घटनाले विदेशमा सुटिङ हुने चलचित्रमा असर पुग्ने उनको बुझाइ छ।   

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.