|
फाइल फोटो

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै उत्कृष्ट खेलकुद गन्तव्य बनाइने बताएका छन्। सुर्खेतमा जिल्ला व्याडमिन्टन संघको पहलमा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको शिल्यान्यास गर्दै शाहीले उक्त कार्यमा सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

कभर्ड हल सुर्खेतको मात्र नभई समग्र कर्णाली प्रदेशकै प्रतिष्ठाको विषय भएको भन्दै सहयोग गर्न सरकार तयार रहेको उनले बताए। ‘खेलप्रेमीका लागि कर्णाली प्रदेश विश्वकै उत्कृष्ट गन्तव्य बनाउनुपर्छ। यसका लागि सरकार सधैँ प्रतिबद्ध छ’, मुख्यमन्त्री शाहीले भने, ’सुर्खेतमा मात्र होइन, हिमाली क्षेत्रमा पनि अर्काे कभर्ड हल निर्माण गर्नुपर्छ।’

संसारका उच्च हिमाली क्षेत्रहरूमा खेलिने र आयोजना हुने खेलकुद प्रतियोगिता यस प्रदेशमा आयोजना गर्न पनि हिमाली क्षेत्रमा एउटा कभर्ड हल आवश्यक रहेको उनको भनाइ थियो। मन्त्री शाहीले भने, ‘उच्च हिमालहरूमा, हिमशृङ्खलाहरूमा खेलिने खेलहरू कर्णाली प्रदेशमा आयोजना गर्न र खेलकुद पर्यटकहरू भित्र्याउनका लागि पनि हिमाली क्षेत्रमा एउटा कभर्ड हल आवश्यक छ।’

राज्यको लगानी नहुँदा खेलकुद क्षेत्रमा पछाडि परेको भन्दै सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने शाहीले बताए। कर्णाली प्रदेशमा उत्कृष्ट खेलाडीहरू जन्माउन र यस प्रदेशलाई खेलकुद गन्तव्य बनाउन पनि सरकारले लगानी गर्ने शाहीको भनाइ थियो। 

कर्णाली प्रदेशको खेलाडीहरू विश्वको जुनसुकै कुनामा गए पनि विजेता बनेर आउने वातावरण बनाउन खेलकुद क्षेत्रमा लगानी आवश्यक भएको शाहीले बताए।
खेलकुदको विकासका लागि खेलप्रेमीलाई योजना बनाएर अगाडि बढ्न सुझाव दिँदै बीचमा आउने जस्तोसुकै बाधा अवरोधलाई पनि सामना गर्न तथा खेलकुदको विकासका लागि प्रदेश सरकारले कुनै पनि काम गर्न तयार रहेको शाहीको भनाइ थियो। मुख्यमन्त्री शाहीले अरूले गरिदिनुपर्ने भन्ने मान्यतालाई तोड्दै कभर्ड हल निर्माणमा सरिक हुने खेलप्रेमी र दान दिने दाताको समेत प्रशंसा गरे।

सुर्खेतको वीरेन्द्रनगरमा निर्माण हुन लागेको कभर्ड हल तत्काल चार करोड रुपैयाँको लागतमा निर्माण सुरु गर्ने निर्माण समितिका संयोजक चेत अधिकारीले जानकारी दिए। उपत्यका नगर विकास समिति सुर्खेतले उपलब्ध गराएको करिव पाँच कठ्ठा जग्गामा यो हल निर्माण गर्न लागिएको हो। कभर्ड हल डिपिआरअनुसार छवटा कोर्टको भए पनि समितिले रकम अभाव देखाउँदै चारवटा कोर्ट निर्माण गर्न लागेको हो। थप दुईवटा कोर्ट पछि थप्न सकिने पनि अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.