|

काठमाडौं : नेपालमा भएका हवाइ दुर्घटनासम्बन्धी अभिलेखको सत्यापनमाथि शंका उत्पन्न भएको छ। नेपाल नागरिक उड्डययन प्राधिकरण र नेपाली सेनाले प्रस्तुत गरेका हवाइ दुर्घटनासम्बन्धी मिति र गोरखापत्रमा प्रकाशित समाचारको मिति भिडाउँदा फरक पाइएको हो।

प्राधिकरणको अभिलेख र गोरखापत्रमा प्रकाशित समाचारको मितिबीच महिनौं अन्तर भेटिन्छ। प्रायः समाचारको पेटबोलीमा ‘हिजो दुर्घटना भयो’ भनी उल्लेख हुनुले दुर्घटनाको भोलिपल्ट नै समाचार प्रकाशित भएको बुझिन्छ। प्राधिरणले सन् १९५७ जुलाइ १९ तारिख अर्थात् २०१४ साउन ४ गते पाटनेभञ्ज्याङमा इण्डियन एअरलाइन्सको विमान दुर्घटना भएको र त्यसमा २० जनाको मृत्यु भएको विवरण दिएको छ।

सोही वर्षको साउन महिनाभरका गोरखापत्र पल्टाउँदा विमान दुर्घटना भएको समाचार फेला पर्दैन। विदेशमा भएका विमान दुर्घटनाका समाचारसमेत प्रकाशित हुने गोरखापत्रमा सोही साल चैत ११ गते इण्डियन एअरलाइन्सको विमान दुर्घटना भएको र त्यसमा परी १९ जनाको मृत्यु भएको समाचार छापिएको छ।

तत्कालीन राजा महेन्द्रले दिएको निजी विमानले समेत खोजी गर्दा फेला पार्न नसकेको तथा श्रीनाथ बटालियनको दलले पाटने भञ्ज्याङको भीर र गुराँसे वनमा भोलिपल्ट मात्र दुर्घटनाग्रस्त विमान फेला पारेको समाचार प्रकाशित भएको थियो।

यस्तै २०१८ वैशाख २९ गते नेपाल एअरलाइन्स(तत्कालीन शाही नेपाल वायुसेवा निगम) को विमान भैरहवामा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको अभिलेख प्राधिकरणले राखेको छ। तर गोरखापत्रको २०१७ कात्तिक २२ को अंकमा भैरहवामा विमान दुर्घटना भएको र चालक, सहचालक र रेडियो अधिकृतसहित चार जनाको मृत्यु भएको उल्लेख छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.