|

कालीकोट : कर्णाली प्रदेश सरकारले पर्यटन वर्ष– २०७५ घोषणा गरेपछि स्थानीयवासी जुर्मुराउन थालेका छन्। पर्यटक तान्न कर्णालीका स्थानीय तहहरूले विभिन्न कार्ययोजना तयार पारेका छन्।

यहाँ उत्पादन हुने स्थानीय बाली बिक्री वितरण, पर्यटकलाई सहजताका विभिन्न धार्मिकस्थल चिटिक्क पार्नुका साथै स्थानीय खानाका परिकार, होटेल खोल्ने लगायत कार्यलाई स्थानीय तहहरूले प्रोेत्साहन गर्ने वातावरण बनाउन थालेका छन्। 

कालीकोटको तिला गुफा नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द्रप्रसाद देवकोटाले पर्यटकका लागि होटेल खोल्न, स्थानीय अन्नबालीका लागि कोसेली घर लगायतका पूर्वाधार निर्माण गर्न थालिएको बताए। ‘हामीले पर्यटन वर्षमा अधिकतम लाभ लिने योजना बनाएका छौँ’, देवकाेटाले भने, ‘धार्मिक मठमन्दिर, होटेल र पर्यटकलाई सहजताका लागि विभिन्न क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छौँ।’

कर्णाली पर्यटक वर्षमा नगरपालिकाले रातो टिका लगाएर स्वागत गर्ने, ओझेलमा परेको तिला गुफाको पूर्वाधार निर्माण गर्नेलगायतका काम प्राथमिकतामा राखेको देवकोटाले बताए। ‘तिला गुफा र मठमन्दिरलगायत क्षेत्रमा पूर्वाधार निर्माण गरेर अगाडि बढ्ने तयारी गरेका छौँ’, उनले भने।

त्यस्तै जुम्लाको पातारासी गाउँपालिकाले पनि पर्यटकलाई लक्ष्य गरी कार्ययोजना तयार पारेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बोहोराले बताए। ‘हामीले पर्यटकलाई प्रभावमा पार्न विभिन्न योजना बनाएका छौं’, उनले भने। पर्यटकलाई लोभ्याउनका स्थानीय कला, संस्कृतिलगायत क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको अध्यक्ष बोहराले बताए। 

पर्यटकको संख्या बढ्दै 

दुई वर्षयता रारा भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्या बढेको छ। रारा राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष १२ हजार बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए। चालू आर्थिक वर्षको हालसम्म करिब ८ हजार बढी पर्यटकले राराको भ्रमण गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.