|

काठमाडौं : चालू आर्थिक वर्षको अन्त्यसम्ममा निजी र सार्वजनिक गरी कुल २१४.२८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। निर्माणको अन्तिम चरणमा आइपुगेका कुल २२ वटा आयोजनामध्ये हालसम्म ९२.५३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा आबद्ध भइसकेको छ।

विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार बाँकी ११२.२५ मेगावाट बराबरका नौवटा आयोजना यही आर्थिक वर्षको अन्त्यसम्ममा पूरा हुनेछन्।

झन्डै १० वर्षको अवधि लगाएर ३० मेगावाटको चमेलिया पछिल्लोपटक गत फागुनमा ग्रिडमा जोडिएको थियो। चालु आवमा पूरा भएका र हुने आयोजना सूचीमध्ये चमेलिया सबैभन्दा ठूलो हो। विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलियाको प्रतिमेगावाट लागत ५५ करोड रुपैयाँ छ।

विभागका अनुसार २५ मेगावाटको काबेली बी, २१.६ मेगावाटको तल्लो हेवा, २० मेगावाटको तल्लो मोदिखोला, १४ मेगावाटको कुलेखानी तेस्रो, १३.६ मेगावाटको थापाखोला, १३ मेगावाटको मदक्यु खोला आयोजना पनि यही आर्थिक वर्षभित्र सम्पन्न हुने सूचिमा छन्। बाँकी आयोजना १० मेगावाटभन्दा कम क्षमताका छन्।

हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा नेपाल विद्युत् प्राधिकरणका विभिन्न १८ वटा आयोजनाको क्षमता ५००.३६२ मेगावाट, निजी क्षेत्रबाट सञ्चालित ५४ वटा आयोजनाको कुल क्षमता ४७१.४६५ मेगावाट गरी ९७१.८२७ मेगावाट पुगेको छ। विभागका अनुसार हालसम्म ७२ वटा आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.