काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे। कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन।
पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए। कांग्रेसका एक केन्द्रीय सदस्यले सभापति देउवाको फेसबुक स्टाटस हेरेर मात्र पार्टी स्थापनाको मिति थाहा पाएको बताए । उनले भने, ‘पार्टीले कुनै औपचारिक कार्यक्रम गर्ने भए पो थाहा हुन्छ। पार्टीले नै वास्ता नगरेपछि हामीलाई पनि के चासो।’
बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र सूवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गतेका दिन पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखियो। उसो त कतिपय कांग्रेसी नेताले माघ १२ लाई पनि कांग्रेस स्थापना दिवसका रूपमा मनाउँछन्। २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन कलकत्तामा भएको थियो। तर, पार्टीले भने चैत २७ गतेलाई नै स्थापना दिवस मान्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।