भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको चाैथो दिन शुक्रबार (अाज) साँझ भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो ) ठड्याएर जात्रा मनाइँदैछ। यो भक्तपुरको बिस्केट जात्राको एक आकर्षण हो।
लिङ्गे जात्राको लागि सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ। ‘लिङ्गो ठड्याउनका लागि आवश्यक लिङ्गो, डोरी र लिङ्गो उठाउन प्रयोग हुने कैंची समेत तयारी अवस्थामा रहेको छ।’ गुठी कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले भने, ‘जात्रा ४ बजे सुरु गर्ने तयारी छ।’
भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू निलो कपडाले बेरिएको हुन्छ। लिङ्गो को कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजा फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।
लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ। लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ। लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ।
लिङ्गो ठड्याउनु अघि भैरवनाथ र भद्रकालीको रथलाई ग: हिटीबाट तानेर भेलुखेलस्थित यसीँख्य पुर्याउने परम्परा रहेको छ। यो जात्राका एक जोडी लिङ्गो आवश्यक पर्छ। जात्राको लागि भक्तपुर चित्तपोलस्थित लिङ्गे वनबाट ५५ हात लामो सल्लाको रुख काटेर ल्याइन्छ।
लिङ्गोलाई भैरवनाथ र भद्रकालीको प्रतीकको रुपमा लिइन्छ। यो जात्राका लागि ल्याइएको काठलाई जन्म मृत्युसम्बन्धी दशकर्म गरेर काठलाई लिङ्गोको रुपमा परिणत गर्ने प्रचलन रहेको संस्कृतीकर्मी ओमप्रसाद धौभडेलले बताए। ‘लिङ्गोका लागि ल्याएको नयाँ काठलाई नेवारी संस्कृति अनुसार बेल विवाह गर्ने, गुफा राख्ने, व्रतवन्ध गर्ने र विवाह समेत गर्ने कार्य सम्पन्न भएपछि एउटा काठ लिङ्गोको रुपमा परिणत हुन्छ।’ संस्कृतीकर्मी धौभडेलले भने, ‘त्यसपछि मात्र त्यो काठले देवत्व प्राप्त गर्दछ।’
लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकोले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरेको संस्कृतिकर्मी धौभडेलले बताए। यसैबीच शुक्रबार बिहान तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो ) ठड्याइएको छ। जात्राको चौंथो दिन साँझ अर्थात आजैको दिन भक्तपुरकै भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसीँ (लिङ्गो ) ठड्याउनु अघि बिहान कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याउने परम्परा अनुसार सो लिङ्गो ठड्याएको हो।
कुमाले टोलमा ठड्याइने लिङ्गो लाई राज्यको विरोधस्वरुप ठड्याएको लिङ्गोका रुपमा लिइन्छ। तत्कालीन मल्ल कालमा राज्य र स्थानीय प्रजापति समुदायबीच केही मनमुटाव भएपछि राज्यद्वारा ठड्याइने यसीँख्यको लिङ्गो भन्दा पहिला नै कुमाले टोलमा स्थानीयद्वारा लिङ्गो उभ्याउने प्रचलनको थालनी गरेको जनश्रुति छ।
नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने
उक्त लिङ्गोकोे टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ। प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याउने र बैशाख ५ गतेका दिन सो लिङ्गो ढालेपछि नौदिन आठ रात लामो बिस्काजात्रा सम्पन्न हुने परम्परा रहेको छ।
लिङ्गो ढालेपछि बिस्का जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको बेग्लै महत्व रहिआएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।