काठमाडौं : भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन्। यसपटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सुकुटे पुगेका छन्।
पूर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले-माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ। एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्रका नेताको ‘दबाब’ तीव्र छ। एकीकरण हुँदा सैद्धान्तिक रूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष त छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठूलो दबाब नेता व्यवस्थापनमा परेको छ। उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफूलाई कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाब दिइरहेका छन्।
दाहाल आफैं पनि पार्टी एकतापछिको आफ्नो स्थान र भूमिकाबारे पिरलोमा रहेको उनीनिकट नेताहरूको भनाइ छ। ‘अध्यक्षज्यू रिफ्रेस हुन सुकुटे पुग्नुको खास कारण पनि यही हो’ दाहाल नजिकका एक नेताले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पार्टी एकता नगर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट दिइएको दबाबका कारण धेरथोर तनाव होला तर यसलाई उहाँले इग्नोर गरिरहेजस्तो लाग्छ।’
एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित दुवै कार्यदलको सुझावका आधारमा वैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गरिएको थियो। तर, पार्टी नेताको व्यवस्थापनमा समस्या देखिएपछि दाहालले पछिल्लोपटक ‘बराबरी’ का आधारमा एकता गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।
दुई दलबीच एकता गर्न बनेको कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समितिको प्रस्ताव गरेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार माओवादी केन्द्रको मात्र ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति, ३ सय ९९ सदस्यीय पोलिटब्युरो र ३४ सदस्यीय स्थायी समिति छ। पार्टी एकताका क्रममा माओवादी केन्द्रका अधिकांश नेताको तह ‘घटुवा’ हुने निश्चित भएपछि पार्टीभित्र उत्पन्न तरंगले अध्यक्ष दाहाल तनावमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।