|

काठमाडौं : केही दिनअघि मात्र प्रहरीको थुनामा रहेकै बेला एक जना थुनुवाले आत्महत्या गरे। सुन तस्करीको आरोपमा पक्राउ परेका नेपाल वायु सेवा निगमका कर्मचारी प्रेमराज चौधरीले महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमै आत्महत्या गरेका हुन्। उनले शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

त्सस्तै, ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका स्याङ्जा फेदीखोलाका कृष्ण क्षेत्रीले चैत ७ गते अस्पतालको छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरे। यी त केही दिनअघि मात्र आत्महत्या गरेका उदाहरण हुन्। यसरी जिन्दगीदेखि हार खाँदै आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। सबै समस्या समाधानको एक मात्र कारण आत्महत्या गर्नु सोच्ने मानिसले आत्माहत्या गर्ने गरेको प्रहरीको भनाइ छ। जब मान्छेलाई जीवनभन्दा पनि मृत्यु प्यारो लाग्न थाल्छ अनि आत्महत्या गर्ने गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल बताउँछन्। 

उनका अनुसार धेरै कारणले आत्महत्या गर्ने गरे पनि अहिलेको सन्दर्भमा बढी महत्वकांक्षी हुनु, घरेलु हिंसा र सामाजिक बहिष्कार, प्रेममा धोका, आर्थिक पीडा, परिवारिक विचलन, बेरोजगारी, जीवनप्रतिको निराशा नै मुख्य कारण रहेको उनको भनाइ छ।  

महत्त्वाकांक्षी हुनु, घरेलु हिंसा सामाजिक बहिष्कार, प्रेममा धोका, आर्थिक पीडा, परिवारिक विचलन, बेरोजगारी, जीवनप्रतिको निराशा अात्महत्याका प्रमुख कारण।

 

शिक्षण अस्पताल महाराजगंजका मानसिक रोग विभाग प्रमुख डा. सरोजप्रसाद ओझाका अनुसार आत्महत्या मान्छेको अन्तिम अस्त्र हो। बाँच्ने आधार कहीँ कतै नदेखेपछि मान्छेले आत्महत्या गर्ने उनको भनाइ छ। जीवनमा आइपर्ने अनेकौँ उतारचढाव, आरोह-अवरोह, सुखदुःख आँसु-हाँसोसँगै जीवनलाई अगाडि बढाउँदै बाँच्न सक्नु नै वास्तविक जिन्दगी रहेको उनी बताउँछन्। 'तर अहिले त्यो अवस्था छैन', उनले भने, 'मानिस निराश हुँदै जानु, सोचेका कुरा पूरा नहुनु, मादक पदार्थको सेवन, रिसको अावेग, कतिपय कडा रोगका कारण पनि आत्महत्या गर्ने गरेको उनको भनाइ छ। 

बढ्दै आत्महत्याका घटना

समाज जति विकसित हुँदै जान्छ, त्यति नै आत्महत्या बढेको देखिन्छ। समाजको विकास सँगसँगै मान्छेका सोचाइ पनि ठूला हुने गर्छन्। यसरी ठूला सपना पूरा नहुँदासमेत मानिसले आत्महत्या गर्ने गरेका छन्। उपत्यकामा मात्र आर्थिक वर्ष २०७१/०७२ यता एक हजार ६२९ जनाले आत्महत्या गरिसकेका छन्। सबैभन्दा बढी काठमाडौं जिल्लामा भएको तथ्यांकले देखाएको छ।  

यस्तो छ तीन जिल्लाको तथ्यांक

काठमाडौं : उपत्यकाको आत्महत्याको तथ्यांक हेर्दा सबैभन्दा बढी काठमाडौं जिल्लामा रहेको देखिन्छ। आर्थिक वर्ष २०७१/०७२ मा काठमाडौंमा आत्महत्या गर्नेको संख्या २६४ रहेको छ। यसमध्ये १७० जनाले झुण्डिएर आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७२/०७३ मा २७५ जनाले आत्महत्या गरेका छन्। यसमध्ये १९९ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। २०७३/०७४ को तथ्यांकअनुसार काठमाडौंमा ३०३ जनाले आत्महत्या गरेका छन्। यसमध्ये २०६ जनाले झुण्डिएर आत्महत्या गरेका हुन्। चालू आर्थिक वर्षको तथ्यांकअनुसार १९६ जना आत्महत्या गरेका छन्। यसमध्ये १२६ जनाले झुण्डिएर आत्महत्या गरेका हुन्।

ललितपुर : ललितपुर जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा आत्महत्या गर्नेको संख्या १७० रहेको छ। यसमध्ये ५१ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७२/०७३ मा ६९ जनाले आत्महत्या गरेका छन्। यसमध्ये ४७ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। २०७३/०७४ को तथ्यांकअनुसार ७७ जनाले आत्महत्या गरेका छन्। यसमध्ये ५० जनाले झुण्डिएर आत्महत्या गरेका हुन्। चालू आर्थिक वर्षको तथ्यांकअनुसार ४३ जनाले आत्महत्या गरेका छन्। यसमध्ये २२ जनाले झुण्डिएर आत्महत्या गरेका हुन्।

भक्तपुर : उपत्यकाको सानो जिल्ला भक्तपुरमा पनि वर्सेनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। भक्तपुर जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा आत्महत्या गर्नेको संख्या ७७ जना रहेका छन्। यसमध्ये ३६ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७२/०७३ मा ४८ जनाले आत्महत्या गरेका छन्। यसमध्ये २८ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। २०७३/०७४ को तथ्यांकअनुसार ७५ जनाले आत्महत्या गरेका छन्। यसमध्ये ४९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन्। चालू आर्थिक वर्षको तथ्यांकअनुसार ३२ जनाले आत्महत्या गरेका छन्। यसमध्ये १९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन्।

यो उपत्यकाको चार वर्षको तथ्यांक मात्र हो। यसरी आत्महत्या गर्नेको संख्या देशभर भयावह बन्दै गरएको छ। यसमध्ये पनि धेरै ३० वर्षभन्दा कम उमेर समूहका रहने गरेको प्रहरीको भनाइ छ।

झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी

उपत्यकामा भएका आत्महत्यामध्ये झण्डै ७५ प्रतिशतले झुण्डिएर आत्महत्या गर्ने गरेका छन्। झुण्डिएर आत्महत्या गर्नका लागि सहज रूपमा डोरी तथा कपडा पाइने र भरपर्दो देखेकाले मान्छेहरू बढी झुण्डिने गरेको मनोपरामर्शदाताहरूको भनाइ छ। जब मान्छे निराश हुँदै जान्छ, तब आत्महत्या गर्नसम्म पुग्ने उनीहरूको भनाइ छ।

आत्महत्याका लक्षण

शिक्षण अस्पताल महाराजंगका मानसिक रोग विभागका प्रमुख डा. सरोजप्रसाद ओझाका अनुसार आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै प्रकारको लक्षण देखाउने  गरेको हुन्छ। तनावमा जेलिएका व्यक्तिले आत्महत्या गर्छन् । आत्महत्या गर्नुअघि उनीहरूले केही न केही संकेत दिने गर्छन् ।

साथीभाइबाट, आफन्तबाट टाढिनु, भेटिरहेको भन्दा पनि कहिले पनि भेट नभएको साथीसँग भेट्नु र नकारात्मक कुरा गर्नु। भोक नलाग्नु, हरेश खानु, कुनै पनि कुरामा चासो नदेखाउनु, नकारात्मक कुरा मात्र सोच्नु, एकोहोरो सोच्नु, असफलताका मात्र कुरा गर्नु अात्महत्या गर्न खोज्ने मान्छेका पहिलो लक्षण हुन्।

साथीभाइबाट आफन्तबाट टाढिनु, भेटिरहेको भन्दा पनि कहिले पनि भेट नभएको साथीसँग भेट्नु र नकारात्मक कुरा गर्नु, भोक नलाग्नु, हरेश खानु, कुनै पनि कुरामा चासो नदेखाउनु, नकारात्मक कुरा मात्र सोच्नु, एकोहोरो सोच्नु, असफलताका मात्र कुरा गर्नु जस्ता लक्षण देखिनु अात्महत्या गर्न खोज्ने मान्छेको पहिलो लक्षण हुने गरेको डा. ओझाको भनाइ छ।

समाधानका उपाय

कनै पनि संकेत नदिईकन कसैले पनि आत्महत्या नगर्ने डा. ओझा बताउँछन्। "तर कसैको परिवारले त्यो संकेत थाहा पाउँछन् र समाधान गर्छन्, कतिपयले त्यस्तो संकेत थाहा पाउँदैनन् र तनावमा भएको मान्छेले आत्महत्या गर्छन्’, उनले भने। 

आत्महत्या गर्ने निर्णयमा पुगेका मानिसहरू प्रायः अन्तिम समयसम्म पनि दोधारमै हुने भएकाले समयमै थाहा पाए उनीहरूलाई बचाउन सकिने उनको भनाइ छ। आत्महत्या रोकथामका लागि पहिला कारण पहिल्याउनुपर्ने डा. अोझा बताउँछन्।

'आत्महत्यासम्म पुर्‍याउन सक्ने रोग लागेको छ भने त्यसको निदान गर्ने प्रयास गर्नुपर्छ। आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्याबाहेक अरू पनि समस्याका निदान छन् भनेर त्यो व्यक्तिलाई मायालु वातावरणमा सम्झाउनुपर्छ', डा. अोझा भन्छन्, 'सल्लाहको जरुरी भएमा दिनुपर्छ, यदि त्यस्तो गर्न सके धेरै मान्छेे अात्महत्या गर्नबाट रोक्न सकिन्छ।'

यदि कुनै मान्छेले आत्महत्या गर्ने संकेत दिएको छ भने त्यस्तो व्यक्तिलाई एक्लै छोड्न नहुने उनको सुझाव छ। त्यस्तै, तनावमा भएका व्यक्तिका कुरा गम्भीरतापूर्वक लिने हो र सरकारले यस्ता मान्छेलाई सम्झाउन हटलाइन सेवा सुरु गर्न हो भने धेरै मात्रामा रोकथाम हुन सक्ने डा. ओझाको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.