|

काठमाडौं : सरकारले उत्पादनशील रोजगारीमूलक र न्यायपूर्ण वितरणसहित आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रमको तयारी गरेको छ।

केपी ओली प्रधानमन्त्री भएको झण्डै अढाइ महिनापछि ल्याउन लागिएको नीति तथा कार्यक्रममा आठ प्रतिशतको आर्थिक वृद्धिदरबाट आगामी नौ वर्षमा अर्थतन्त्रको आकार दोब्बर बनाउँदै सन् २०३० सम्ममा नेपालीको प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर (२ लाख ५० हजार रुपैयाँ) पुर्‍याउने लक्ष्य राखिएको छ।

आगामी १० वर्षको विकास यात्रालाई ऊर्जा दशकको रूपमा अघि बढाउँदै देशैभर लोडसेडिङ अन्त्य गरी विद्युत्मा आत्मनिर्भर हुनेतर्फ ठोस कदम चालिने नीति तथा कार्यक्रमले जोड दिएको छ। खानेपानी तथा सरसफाइ सेवामा पहुँच नपुगेको जनसंख्यालाई राज्यका तीनै तहबाट सहअस्तित्व, समन्वय र सहकारिताको सिद्धान्तका आधारमा सबै नागरिकलाई खानेपानी तथा सरसफाइको पहुँच अभिवृद्धि गरिने लक्ष्य राखिएको छ।

प्रशासनिक तहमा छलफल गरी तयार पारिएको आर्थिक वर्ष ०७५/७६ को प्रस्तावित नीति तथा कार्यक्रमलाई राजनीतिक तहबाट अन्तिम रूप दिइने प्रधानमन्त्री कार्यालयले जनाएको छ। नयाँ कार्यक्रममा सबैका लागि सुनिश्चित आवासको नीतिअनुसार आवास अधिकारसम्बन्धी कानुन तर्जुमा गर्दै ज्येष्ठ नागरिक, दलित, लोपोन्मुख, विपन्न, सीमान्तकृत, लक्षित तथा जोखिममा रहेकाको लागि सुरक्षित, किफायती र वातावरणमैत्री आवासको पहुँच सुनिश्चित गरिने लक्ष्य छ।

आर्थिक वृद्धिको करिडोर निर्माण गरी तदनुरूप आर्थिक परिसूचकमा सुधार गर्ने तथा जोखिम पहिचान गरी तत्काल सम्बोधन गर्ने तथा अर्थतन्त्रको संरचनात्मक रूपान्तरण थालनी गरिने उल्लेख छ। ऊर्जा तथा जलस्रोत र अन्य पूर्वाधार विकासमा जोड दिँदै कृषि, वन र पर्यटन क्षेत्रको दिगो विकास गर्दै कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान वृद्धि गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.