|

डोल्पा : यार्सागुम्बा टिप्ने समय सुरु भएसँगै  डोल्पाका अधिकांश विद्यालयमा विद्यार्थीको सख्या घटेको छ। जेठ १ गतेभित्रै यासागुम्बा पाटनहरु खुला गरिने भएपछि बालबालिका विद्यालय छोडेर यार्सागुम्बा संकलनका लागि  पाटनतिर लागेका हुन्।  

नियमित कक्षा छाडेर विद्यार्थीहरू धमाधम यार्सागुम्बा संकलनका लागि उच्च हिमाली पाटन जान थालेकापछि तल्लो डोल्पाका अधिकांश विद्यालयहरुमा विद्यार्थी संख्या घटेको पत्रकार रामचन्द्र न्यौपानेले बताए।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यामिक विद्यालय नर्कुका प्रधानाध्यापक दिपक गुरुङका अनुसार धेरैजसो विद्यार्थीहरु यार्सागुम्बा संकलनका लागि पाटनतिर लागिसकेका छन्। एक साताअघिसम्म खचाखच हुने कक्षामा विद्यार्थी पातलिँदै गएको छन्। 

धेरै विद्यार्थी पाटनतिर लागिसकेको र भएका विद्यार्थीहरु पनि यार्सागुम्बा टिप्ने तयारीमा जुटेपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको उनले बताए। त्यस्तै मध्ये डोल्पाका धेरैजसो आधारभूत र माध्यामिक विद्यालयमा पनि विद्यार्थी घटेका छन्। 

जेठको पहिलो सातादेखि भने सबै विद्यार्थीहरु यार्सागुम्बा संकलनका लागि पाटनतिर जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुन्छन्। प्रत्येक वर्ष जेठदेखि असारसम्मको अवधिमा चल्ने 'यार्सा सिजन' डोल्पाली विद्यार्थीहरुको आम्दानीको भरपर्दो स्रोत मानिँदै आएको छ। जनप्रभा मावि लिकुमा यार्सागुम्बा सिजन सुरु भएपछि पहिलेको तुलनामा विद्यार्थीहरू नियमित हुन छाडेका शिक्षक भगीरथ भट्टले जानकारी दिए।

यार्सागुम्बा संकलन गरेरै डोल्पाली विद्यार्थीहरुले वर्षभरको पढाइखर्च जुटाउने भएकाले विद्यालय सुनसान हुने गरेका हुन्। यार्सागुम्बायुक्त हिमपाटन अघिल्ला वर्षहरूमा जेठको दोस्रो साताबाट खुला गरिन्थ्यो। डोल्पाली विद्यार्थीहरु मात्र होइन छिमेकी  जाजरकोट, जुम्ला लगायत सुर्खेत, दैलेख, बाँके र रामेछापबाट समेत यार्सागुम्बा संकलकहरु डोल्पाका पाटनहरूमा जाने क्रम सुरु भएको छ।

यार्सा चोरी गर्ने पक्राउ 

डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रूपमा  यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ तस्कर पक्राउ परेका छन्।पक्राउ पर्नेहरु मध्ये ११ जना महिलाहरू छन्। पक्राउ परेका ४९ जना सबै जिल्लाबाहिरका रहेको पनि निकुञ्जले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.