|
फाइल फोटो

काठमाडौं : विराटनगर महानगरपालिका- ३ गोधूलिमार्ग पूर्व र पश्चिमतिर बाटैको छेउमा एक तले र दुई तले पक्की घर, उत्तर र दक्षिणमा पोखरिया स्कुल। दुर्गा चोकतर्फ जाने-आउने बाटो यही चार किल्ला। दक्षिणबाट उत्तर दिशातर्फ जाँदै गरेको बा१२च ५९६३ नम्बरको सेतो रङको स्कोर्पियो गाडी।

गाडी हुइँकाएका थिए मोहन काफ्लेले। चालककै सिट नजिक बसेका थिए, अर्का एक जना कृष्ण भन्ने नरेन्द्र कार्की। बाटो अगाडि त्यही स्कोर्पियो गाडी र सुन तस्करीका डन चूडामणि उप्रेती 'गोरे' समात्न काठमाडौंबाट हिँडेको अपराध महाशाखाको प्रहरी टोली। कमाण्डर थिए- प्रहरी नायव उपरीक्षक प्रजित केसी।

हेर्दा र सुन्दा एक चलचित्रको कथा जस्तै लाग्छ उक्त घटना। त्यही घटनाबाट सुरु भएको अनुसन्धानले प्रहरी संगठन नै हल्लायो भने तस्करीको सुन र तस्करको एकएक पर्दाफास गर्दै गयो।

गाडी अगाडि हुइँक्याउन खोजिँदै थियो, डिएसपी केसीले रोकिहाले। समय फरक थियो। सधैँ किलोका किलो सुनसँगै रमाउन खोज्ने गोरेलाई आपत परेको थियो- आफ्नै तस्करीको सुनको हिसाबकिताब गर्ने सनम शाक्यको शव व्यवस्थापन गर्ने। त्यही नाटकीय शैलीमा व्यवस्थापनको जिम्मा लिएर पक्राउ गर्न पुगेका थिए उनी।

प्रजित केसी नेतृत्वको अपराध महाशाखाको टोली, केसीले दिएको बयान र घटनाको अपडेट अपराध महाशाखाका प्रमुख दिवेश लोहनीलाई दिएको जानकारीबाट देखिन्छ।

प्रहरीले गाडी रोक्यो। गाडीमा एक जनाको शव छ भन्ने प्रहरीलाई जानकारी नै थियो तर गोरे प्रहरीको चासोको विषय थियो। चेकजाँच गर्दा गाडीको बीच सिटमा दुईवटा कालो रङका व्याग। एक व्यागमा थियो १२ भोल्टका हरिया रङमा ब्याट्री रातो कालो तार र डिसी टु एसी पावर इन्भर्टर र अर्को व्यागमा थियो १२ भोल्टको रातो रङको ब्याट्री र अघिल्लो व्यागको जस्तै तार र इन्भर्टर झोलाको पछाडि भागतिर सिद्धार्थ बैंक लिमिटेडको ऋणीको नाम मेनका तिम्मल्सिना लेखिएको बा१२च ५९६३ नम्बरको गाडीको ब्लु बुक।

गाडीको पछाडिको सिटमा सेतो रङको तौलियाले बेरिएको एक शव मात्र देखे। गोरे सम्पर्कविहीन बने। यसरी एक हत्या घटनाबाट अनुसन्धान सुरु गरेको छानविन समितिले सुन तस्करीको जालो नै तोड्न सफल भएको छ।  

किन मारिए शाक्य?

गत फागुन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको तस्करीको ३३ केजी सुन ओसारपसारका क्रममा हरायो। त्यही सुन शाक्यको सुराकीका लुटिएको आशंका थियो- गोरे समूहलाई। त्यही पत्ता लगाउने क्रममा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएको थयो। उनलाई मोरङ उर्लाबारी नगरपालिका- १ मा पर्ने एक घना जंगलमा यातना दिँदादिँदै शाक्यको ज्यान गएको थियो।

उनको घना जंगलबीचमा भएको खाली ठाँउको रूखमा डोरीले बाँधेर १२ भोल्टको करेन्ट दिँदै ३३ किलो सुनबारे कुरा खोल्न लगाउँदा लगाउँदै उनको ज्यान गएको थियो। त्यही हत्या अनुसन्धान थालेको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी नेतृत्वको टोलीकै भूमिका शंकास्पद देखिएपछि मन्त्रिपरिषद्ले विशेष अनुसन्धान समिति गठन गरेको थियो।

घटनाको अनुसन्धान गर्न गठित गृह मन्त्रालयको सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिको अनुसन्धानले घटनाको लहरो तान्दै जाँदा सुन तस्करको पर्दाफास भएको हो।

के हुँदै छ मुद्दा?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न २९ जनालाई मोरङ प्रहरीको न्यायिक हिरासतमा राखिएको छ। तस्करीका मुख्य नाइके चूडामणि उप्रेती 'गोरे', एसएसपी श्याम खत्रीसहित ३४ जना भने अझै प्रहरीको फरार सूचीमा छन्। प्रहरीले पक्राउ गरेका २९ जनासहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मोरङमा गत बुधबार ‘अापराधिक समूह स्थापना र संचालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो। 

मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि अभियुक्तको बयान सुरु भएको थियो। २९ जनाकै बयान सक्किएपछि जिल्ला अदालतले घटनाको फैसला गर्नेछ। जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालका अनुसार भोलि (मंगलबार)सम्म सबैका बयान लिने काम सकिनेछ।

३८ क्विन्टल सुन तस्कर  

सरकारी छानविन समितिले चूडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ। ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानबिन गर्न बनेको गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले गोरे समूहले ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको हो।

गोरेको नेतृत्वमा सन् २०१५ यता पटक पटक गरी करिब ३८ क्विटल अर्थात् ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको समितिको दाबी छ। मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ।

मुद्दामा अभिुयक्त बनाइएकाहरूमध्ये सात प्रहरी अधिकारीसहित २९ जना पक्राउ परेका छन्। प्रतिवादी बनाइएकामध्ये मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ फरार छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.