|

दुनै : हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एकमहिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालयहरू बन्द हुने गर्दछन्। सो अवधिमा बहुमूल्य जडिबुटी यार्सागुम्बा सिजन चल्ने भएकाले गाउँनै रित्तो पारेर सम्पूर्ण सर्वसाधारणहरू यार्सागुम्बाको खोजिमा यार्सापाटन पुग्ने गर्दछन्। त्यतिखेर विद्यार्थीहरू पनि नियमित कक्षा छाडेर वर्षभोरीको पढाई खर्च जुटाउन आफ्ना अभिभावकसँगै यार्सागुम्बा पाटन पुग्दछन्।

बहुमूल्य जडिबुटी यार्सागुम्बाका संकलनको समयमा डोल्पाका विद्यालय एक महिना बन्द भएपछि सरकारले दिने अनुदान फिर्ता जाने भएको छ। जिल्लाका विभिन्न विद्यालयमा दिवाखाजा बापतको रुपमा जाने ३३ लाख बराबरको रकम फिर्ता जाने भएको हो। यार्सागुम्बा संकलनका समयमा बन्द हुने जिल्लाका कुनै पनि विद्यालयहरूलाई शिक्षाबाट जाने दिवाखाजा बाफतको अनुदान नपाउने भएका हुन्। 

सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रमअन्तर्गत प्रत्येक एक महिनामा प्रति बिद्यार्थीका लागि करिव २० दिनको दिवा खाजा स्वरुप अनुदान दिने व्यावस्था रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सिंहराज डागीले बताए। 'यार्सागुम्बा संकलनको समयमा बन्द हुने विद्यालयहरूको एक महिनाका लागि पाउने २० दिनको दिवाखाजाको अनुदान रकम करिव ३३ लाख सरकारलाई फिर्ता हुने छ,' डाँगीले भने।

जिल्लाका ८५ प्रतिशत विद्यालय बन्द

जिल्लाका करिब ८५ प्रतिशत विद्यालय अझै पनि खुलेका छैनन्। यार्सागुम्बा संकलन सिजन सुरु भएसँगै जेठ १ गतेदेखि बन्द भएका विद्यालय अझै नखुलेका हुन्।
जिल्लाभरका ११२ वटा विद्यालय मध्ये हालसम्म जम्मा १८ वटा विद्यालय मात्र खुलेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जानकारी दिएको छ। यार्सागुम्बा संकलनका लागि जेष्टको एक गतेबाट बन्द गरिएका विद्यालयहरू महिना दिन बित्न लाग्दा पनि नखोलेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पामा प्रमुख डाँगीले जानाकारी दिए। उनले भने ८ वटा स्थानीय तह रहेको यस जिल्लामा जेष्ट २० गतेबाट जगदुल्ला गाउँपालिकाका १४ वटै विद्यालयमा पढाइ संचालन भयो भने अन्य ठाउँका कुनै पनि विद्यालय खुलेका छैनन्। 

शे-फोक्सुण्डो गाउँपालिकाको तापिरिचा माध्यामिक विद्यालय साइजल, त्रिपुरा सुन्दरी नगरपालिकाको देउराली आधारभूत विद्यालय भोरगाउ, काञ्जीरुवा आधारभूत विद्यालय दापु र हिम ज्यााेति आधारभूत विद्यालय सार्की टोल गरी ४ वटा विद्यालयले यार्सागुम्बाको समयमा पनि विद्यालय सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दिएको छ।

यार्सागुम्बाको अवधिभर विद्यालय खोल्ने चार विद्यालयले बाहेक अरुले दिवा खाजाको अनुदान रकम नपाउने डाँगीले जानकारी दिए। उनका अनुसार जगदुल्लाका १४ वटा विद्यालय २० गतेबाट खुले ती विद्यालयले पनि दिवाखाजा अनुदान पाउने छैनन्। उनका अनुसार  जम्मा महिनाभर गरी २० दिनको मात्र दिवा खाजाको अनुदान रकम पाउने हो, बीस दिन नै विद्यालय बन्द भएपछि खाजाको अनुदान पाउने छैनन्।

यार्सा सिजनमा छिमेकी जिल्लाका विद्यालय पनि बन्द  

यार्सागुम्बा सिजनमा डोल्पाका सबै विद्यालय बन्द हुन्छन नै छिमेकी जिल्ला रुकुम,जाजारकोट, जुम्ला जिल्ला लगायतका विद्यालय समेत यार्सा सिजनमा बन्द हुने गर्दछन्। डोल्पाली मात्र नभई छिमेकी जिल्लाबासीको पनि प्रमुख आम्दानीको स्रोतको रुपमा  रहेका यार्सागुम्बा सिजनमा छिमेकी जिल्लाका विद्यालयहरू पनि बन्द हुन्छन्।

विद्यालयहरू बन्द हुने भएपछि बिद्यार्थीहरू बर्षभरिको पढाई खर्च ज्यान जोखिममा पार्दै डोल्पाका उच्च हिमाली पाटनहरूमा बिद्यार्थीहरू पुग्ने गर्दछन्। विद्यालय बन्द गर्न नचाहँदा नचाहँदै पनि बाध्यता जस्तै भएकोले केही दिनलाई बन्द नै गर्नु परेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले बताए। उनले भने यस वर्ष वीस दिन बन्द गरियो सकेसम्म अर्को वर्षबाट विद्यालय बन्द हुँदैनन् शिक्षाबाट वालवालिकाहरूलाई शिक्षा लिन बञ्चित गराइदैन।

डोल्पामा पाँच महिना पनि निरन्तर पढाई हुँदैन् 

हिउदको समयमा पुस र माघ महिनामा हिउदे बिदा हुन्छ। फागुन भर्ना अभियानले एक दुई हप्ता पढाई हुँदैन्। जेष्टमा यार्सागुम्बाले एक महिना धेरै विद्यालय बन्द हुन्छन्। 'अन्य महिनामा बिभिन्न चाडपर्वका तथा सार्वजानिक बिदाले विद्यालय खुल्दैनन्,' नागरिक अगुवा योगेन्द्र बुढाले भने। डोल्पाका विद्यालयमा करिव ५ महिना पनि निरन्तर पढाइ हुँदैन। कसरी एक हजार घण्टा विद्यालयमा बालवालिकाले अध्ययन गरे त बुढाले प्रश्न गरे? 'यही कारणले डोल्पाको शिक्षाको अवस्था खस्किँदो छ। यसलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ समयमै सरोकारवालाको ध्यान जाअाेस्,'  उनको भनाई छ। 

पाठ्यक्रम नै भ्याँइदैन

विद्यालय खुल्ने भन्दा बन्द हुने समय धेरै हुने भएकाले पाठ्यक्रम नै नभ्याइने र भने अनुसार विद्यार्थीले शिक्षा आर्जन गर्न नपाउने शिक्षा विदहरूको दावी छ। 
अत्याधिक विद्यालहरू पर्ने र विद्यालय कम मात्र खुल्ने समस्याका कारण समयमा पाठ्यक्रम पूरा नहुने गरेको शिक्षा विकास तथा समन्वय इकाइले स्वीकार गरेको छ। 'कार्यालयका अनुसार यार्सागुम्बा सिजनमा औपचारिक बिदा हुँदैन। सरहरू विद्यलायमा विद्यार्थी कुरेरै वस्नु भएको हुन्छ। तर वर्षभरिको कमाई गर्नका लागि सबै पाटनमा जाने गर्दछन्। उनीहरूलाई नजाउ पनि कसरी भन्नु, तैपनि सके जति नियमन गर्ने प्रयास भएको छ,' शिक्षा विकास तथा समन्वय शाखा डोल्पाका प्रमुख डाँगीले भने। 

कोही शिक्षक घाम ताप्दै कोही यार्सा व्यापारमा 

यार्सागुम्बा टिप्नका लागि बालवालिका नै पाटनमा पुगेपछि शिक्षकहरू कोही घाम तापेर बसेका छन् भने कोही यार्साका व्यापारी पनि बनेका छन्। फुर्सदको समयको भरपुर उपयोग गर्दै शिक्षक व्यापार गर्दै छन् भने बिद्यार्थीहरू यार्सा टिप्दै पाटनमा रमाइ रहेकाछन् विद्यालय खोल्नेमा सुरसार भने कोही पनि देखिँदैनन्। 
शिक्षा विकास तथा समन्वय इकाइले जेष्टको अन्तिम साता खोल्न भने पनि धेरै विद्यालयहरू असारको दोस्रो साता मात्रै खुल्ने गरेको स्थानीयहरूले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.