|

दुनै (डोल्पा) : डोल्पाका सम्पूर्ण सहकारी संस्थाहरूको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिइएको छ। डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा सोमबार सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतहरूका लागि अभिमुखीकरण एवम् अभिलेख हस्तान्तरण पहिलो दिनको कार्यक्रममार्फत डोल्पाका ५३ वटा सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई बुझाइएको हो।

डोल्पाका आठवटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा मात्रै सहकारी संस्था रहेका छन् जसमा त्रिपुरासुन्दरी नगरपालिकामा १९ वटा, ठूलीभेरी नगरपालिकामा २०, मुड्केचुला गाउँपालिकामा ५, जगदुल्ला गाउँपालिकामा ४, शे फोक्सुन्डो गाउँपालिकामा २, छार्काताङसोङ गाउँपालिकामा १, काइके गाउँपालिकामा २ सहकारी रहेका छन्। डोल्पो बुद्ध गाउँपालिकामा भने एउटै संस्था छैन।

अभिमुखीकरण तथा अभिलेख हस्तान्तरण कार्यक्रममा सहकारी भएका सातवटा स्थानीय तहमध्ये काइके गाउँपालिकाका प्रमुख आफैँ उपस्थित भएका थिए भने त्रिपुरा सुन्दरी, ठूलीभेरी, जगदुल्ला, मुड्केचुलालगायतका स्थानीय तहबाट प्रमुख तथा उपप्रमुखको उपस्थिति नभई प्रतिनिधि मात्रै उपस्थित थिए।

सहरकारीसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम विशेषगरी स्थानीय तहका जनप्रतिनिधिहरू र कर्मचारीका लागि उपलब्धिमूलक भए पनि उनीहरूकै न्यून उपस्थिति रहेको पाइएको छ।

योभन्दा अगाडि सहकारी दर्ताका लागि हप्तौँदिन बिसौँ हजार रकम खर्च गरेर जुम्लामै पुग्नुपर्थ्यो भने अब सहकारी दर्ता, खारेजी, अभिलेख राख्नेलगायतका सम्पूर्ण अधिकार स्थानीय तहलाई गएको छ डिभिजन सहकारी दाङका सहकारी अधिकृत विनोद कुमार पौडेलले बताए।

यो नै सिंहदरको अधिकार गाउँ गाउँमाको ज्वलन्त उदाहारण भएको उनको भनाइ छ। कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख एवम संयोजक शेर बहादुर बुढाले विभिन्न जानकारीमूलक कार्यक्रममा उपस्थिति नहुनु दुखदायी भएको बताए।

मान्छे सबै कुरामा पोख्त नहुने भएकाले कुनै पनि कुराको जानकारीका लागि अभिमुखिकरण, तालिम,गोष्ठीमा सहभागिता अनिवार्य रहेको बुढाले बताए। मन्तव्यकै क्रममा नागरिक समाज अध्यक्ष शेरबहादुर बुढाले कार्यन्वय गर्ने निकाय र नियमन गर्ने निकायबीच तालमेल नहुँदा बेथिति मौलाएको बताए।

राज्यले कर्णाली भन्नेबित्तिकै जुम्लाई मात्र चिन्ने भएकाले अन्य जिल्लाका अवसरहरू ओझेलमा परेको उनको भनाइ छ। कर्णालीका पाँचवटै जिल्लाका सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरी सकिएको डिभिजन सहकारी कार्यालय जुम्लाका दोर्णराज आचार्यले बताए। कार्यक्रममा जिल्ला स्थित कार्यलय प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, पत्रकारलगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.