|

डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिकामा नगर कार्यपालिकाको बैठक बस्न नसक्दा आर्थिक वर्ष ०७५/७६ को बजेट नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ।

जिल्लाका अन्य सबै स्थानीय तहले आर्थिक वर्ष ०७५/७६ को नीति तथा बजेट पारित गरी घोषणासमेत गरी सकेको अवस्थामा ठूलीभेरि नगरपालिकाको केन्द्र विवादले कार्यपालिकाको बैठक नै बस्न नसकेका कारण नीति कार्यक्रम अन्योलमा परेको हो।

स्थानीय सरकार सञ्‍चालन ऐनमा असार १० गतेभित्र स्थानीय तहले बजेट  नीति तथा कार्यक्रम नगर कार्यपालिकाबाट पारित गरिसक्नुपर्ने उल्लेख भए पनि असारको तेस्रो साता बित्न लाग्दासमेत कार्यपालिकाको बैठक बस्नसम्म सकेको छैन।

नगरप्रमुख गणेशबहादुर शाही सरकारले तोकेको नगर केन्द्र जुफालमा कानुनत वैधानिक रूपमा बैठक बस्नुपर्ने बताउँदै आएको छन्। तर उपप्रमुख योगेन्द्रबहादुर शाही जुफाल केन्द्रमा नभई पहिलेकै सदरमुकाम दुनै केन्दबाट नगरको कार्यसम्पादन हुनु पर्ने फरक अडान राखेपछि नगरपालिकाको नीति तथा कार्यक्रम पारितका लागि कार्यपालिकाको बैठक बस्न नसकेको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा २ बमोजिम कार्यपालिकाका बहुमत सदस्यले निर्णय गरेको अवस्थामा नगरको कार्यपालिकाको निर्णय मान्य हुने कानुनी प्रावधान रहेको भन्दै उपप्रमुख शाहीले कार्यपालिकाका बहुमत सदस्य आफूसँग रहेकाले बुधवार दुनैमा कार्यपालिकाको बैठक बसेर योजना छनौट तथा बजेट नीति तथा कार्यक्रम तय गर्ने बताए।

केन्द्र विवादका कारण ठूलीभेरी नगरपालिकाका वडा न २ र ३ का ०७४/०७५ का कुनै पनि योजनाहरूसमेत सम्झौतासम्म हुन नसकेको बताइएको छ। नगर प्रमुख शाहीका अनुसार ०७४ असार ३१ मा बसेको ठूलीभेरी नगरपालिकाको पहिलो नगरसभाले बहुमत सदस्यको उपस्थितिमा सदरमुकाम दुनैमा रहेको केन्द्र जुफालमा सार्ने गरी निर्णय गरेको थियो। उक्त निर्णयपछि नेपाल सरकारले ठूलीभेरी नगरपालिकाको स्थायी केन्द्र जुफालमा कायम गरेको सूचना १६ फागुन ०७४ मा राजपत्रमा प्रकाशित गरिसकेकाले उप प्रमुख शाहीले भनेजस्तै किर्ते नभएको नगर प्रमुख शाहीले बताए।

नगरप्रमुख शाहीले केन्द्र जुफालमा सार्न गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उपप्रमुख शाहीलगायतले ०७४ चैत ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। नगरकेन्द्र विवादसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

२१ सदस्य नगर कार्यपालिकाका सदस्य मध्य १३ जना दुनै केन्द्रको पक्षमा रहेकोले बुधबारबाट कार्यपालिकाको बैठक बसी नीति तथा कार्यक्रममाथि छलफल गर्ने वडा-६ का अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए।

नगरप्रमुख शाहीले भने केन्द्रको विवाद सर्वोच्च अदालतमा गइसेकेकाले सरकारले हाल कायम गरेको नगरपालिकाको केन्द्र जुफालमा बैठक बसी नीति तथा कार्यक्रम पारित गर्न सबैलाइ आग्रह गरेको बताए।

कानुनी रूपमाले केन्द्र जता तोके पनि जनताको काम रोक्नतिर नलाग्न दुनै केन्द्रका जनप्रतिनिधिलार्इ आग्रह गरेको उनले बताए। नगर कार्यपालिकाको बैठक संचालनको कार्य सम्पादन ऐनको दफा ६ मा नगरप्रमुखको उपस्थितिमा मात्र सरकारले तोकेको नगरकेन्द्रमा कार्यपालिकाको बैठक बस्न सक्ने अन्यथा नगरप्रमुखको अनुपस्थितिमा बैठक बसे त्यसको कुनै अर्थ नरहने कानुनी प्रावधान रहेको नगरप्रमुख शाहीले बताए।

उपप्रमुख शाहीलगायत नगरपालिकाका वडा १, २, ३, ४, ६, १०, ११ का अध्यक्षहरूले आफूसँग बहुमत नगरकार्यपालिका सदस्यहरूको उपस्थितिमा दुनैमा नै बसेर नीति तथा बजेट ल्याउने भन्दै मंगलबार दुनैमा पत्रकार सम्मेलनसमेत गरेका थिए।

नगर प्रमुख शाहीले नगरपालिकाको केन्द्र जुफालमा सारेपछि उत्पन्न केन्द्र विवादका कारण नगरपालिकाको बैठक हालसम्म बस्न नसक्दा नगरपालिका भित्रका योजनाहरू अलपत्र परेको उपप्रमुख शाहीको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.