दमक (झापा) : साउनको सुरुवातमा नै धान रोपेको जमिन धाँजा फाट्न थालेपछि झापाका किसानलाई भर्खर रोपेको रोपो हुर्काउननै कठिन भएको छ। कतिपय किसानले अझै धान रोपिसकेका छैनन्। तर, रोपाइँ भएको जमिनमा समेत एक साता नभई धाँजा फाट्न थालेपछि बाँकी रोपाइँ कसरी गर्ने र रोपिएको धान कसरी हुर्काउने भन्ने पीर थपिएको छ।
असार पहिलो र दोस्राे सातामा परेको झरीले धान रोपाइँ गरे पनि अन्तिम सातादेखिको खडेरीले रोपिएको धान हुर्काउन कठिन भएको झापाको गौरीगञ्ज-१ का किसान धनपति पौडेलले बताए। ‘खेतालासमेत जसोतसो खोजेर रोपोसम्म गाडियो’ उनले भने, ‘तर रोपेपछि खेतमा धाँजा फारेर भ्वाङ नै पर्न थाल्यो। अब धान कसरी जोगाउनु।’ आकाशे झरीका भरमा खेती गर्नु किसानलाई मात्रै होइन। नहर भएका ठाउँमा पनि उस्तै पीर छ। गर्मीको प्रभावका कारण कृषि मजदुरहरू कामका लागि तयार नहुँदा किसानहरूलाई सिँचाइ सुविधा भएका ठाउँमा पनि धान रोपाइँ गर्न सकस परेको छ।
झापाको शिवसताक्षीका किसान कन्काई नहरको पानीले रोपाइँ गर्न हतारमा भएपनि रोपाहार नपाएर धान रोपाइँ गर्न नसकेको बताउँछन्। सो नगरपालिका-६ का वडाध्यक्ष मनोज खुलालले गाउँमा कृषि मजदुरको चर्को अभाव रहेको बताए। किसानलाई उद्दत गर्दै वडाध्यक्ष कार्कीले भने, 'खडेरीका कारण कतिपय ठाउँमा रोपाइँ हुन सकेको छैन। सिचाइँ हुने क्षेत्रमा पनि रोपाहार नहुँदा किसानहरूलाई सास्ती छ।
झापाका शिवसताक्षीसँगै गौरादह नगरपालिका, गौरीगञ्ज, कमल कचनकवल, हल्दीबारी लगायतका गाउँपालिकामा धान खेती उच्च हुने गरेको छ। धान रोप्नका लागि श्रावणको पहिलो साता सम्म उत्तम समय मानिन्थ्यो। तर असारको अन्तिम सातादेखि नै पानी नपरी चर्को घाम लागेका कारण किसानहरुले यस वर्ष टाउकोमा हात लगाउनु पर्ने अवस्था आएको गौरीगञ्ज गाउँपालिका- २ साविक कोरोबारीका पूर्व शिक्षक समेत रहेका स्थानीय अगुवा कृषक नारायण कार्की बताउँछन्।
मोटरको पानी टिकाउनै कठिन
शुक्रबार झापामा तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। यस अघि बिहीबार पनि ३८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। गर्मीका कारण स साना बालबालिका र बृद्धबृद्धा, कृषि, निर्माण लगायतका कडा परिश्रम गर्नुपर्ने मजदुरहरू धेरै प्रभावित भएका छन्। चर्को घामका कारण मोटर चलाएर पानी लगाए पनि एकरात समेत नथाम्ने किसानहरूको भनाई छ।
मोटर चलाउन समेत अनियमित विद्युत आपूर्तिबाट किसान आजित छन्। ‘बिजुली झ्याप्प आउने र जाने गर्दा मोटर चलाउन पनि कठिन छ’ झापाको कमल गाउँपालिका-६ का किसान मदन आचार्य भन्छन्, ‘चलाउँ भन्दा मोटर नै बिग्रिने डर, नचलाउन खेतमा धान सुकेर आगो बल्ने बेला भइसक्यो।’ बिजुली पर्खेर पानी चलाए पनि टम्म भरिएको खेत खडेरीले एकै दिनमा सुक्ने उनले बताए।
पुराना कुलो सरसफाइ
चर्को घाम लागेर खडेरी पर्न थालेको र विद्युतबाट मोटर चलाउन समेत भर नपएपछि किसानहरू पुराना कुला सफा गर्न थालेका छन्। पानी पर्छ कि भन्ने आश गर्दा गर्दै खडेरीले धान सुक्न थालेपछि इन्द्रेणी तालको पानी ल्याएर सिँचाइ गर्न कुलो सफा गर्न थालेको दमक-१० कि किसान शारदा न्यौपानेले बताइन्। ‘तालको पानीले पनि कहाँ सवैतिर छेलोखेलो त हुन्छ त’ उनले भनिन्, ‘तै अलि अलि भा पनि धान जोगाउन सकिन्छ कि भनेर गाउँलेहरू कुलो सफा गर्न जुट्या हुन्।’
झापा शरणामतीका किसान चेतबहादुर राउतको पीडा पनि उस्तै छ। ‘यस वर्ष त अनिकालै लाग्ला जस्तो भइसक्याे’ उनले भने, ‘खडेरीले धान खान थालिसक्यो, अब पहिला रोपेको ठाउँमा फेरि थप्नु कि जोतेर तोरी छर्नु कि के गर्नु गर्नु, वडा अलमलमा परियो।’ झापामा केही दिन यता चर्को घाम लाग्न थालेपछि खेतमा काम गर्न समेत कठिनाई भएको छ। खेतमा रोपाई नहुने भएको पनि सुक्ने भएकाले किसानहरू अन्याेलमा परेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।