|

भक्तपुर : गत जेठ ९ मा सूर्यविनायक नगरपालिका–९ पलाँसेमा टिपरको ठक्करबाट स्कुटरमा सवार तीन जनाको घटनास्थलमा नै मृत्यु भयो। काभ्रेबाट भक्तपुरको सूर्यविनायकतर्फ आउँदै गरेको बा ५६ प १२२७ नम्बरको स्कुटरलाई बा ३ ख ६६७४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा स्कुटरमा सवार मध्यपुर थिमि–१ लोहकिल्थलीका हरिबहादुर कटुवाल, दोलखा मेलुङ घर भई लोहकिल्थलीमा खाजा पसल सञ्चालन गर्ने ३६ वर्षीया सविता घिमिरे र उनका छोरा नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालय साँगा काभ्रेमा पढ्ने १३ वर्षीय अरविन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको हो।

त्यसैगरी गत जेठ १९ मा मध्यपुर थिमि ४ राधेराधे चोकमा भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको बसले निकोसेराबाट राधेरोध चोकतर्फ आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक निकोसेराका २५ वर्षीय दिपक ख्याजुको घटनास्थलमा नै निधन भयो। तीब्र गतिमा रहेको बसले रोधराधे चोकमा बाटो काट्दै गरेको मोटरसाइकललाई ठक्कर मात्र दिएन करिब २५ मिटर परसम्म घिसार्दै लगेको थियो।

यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन्। भक्तपुरमा आर्थिक वर्ष २०७४/७५ मा सवारी दुर्घटनाबाट ३० जनाको मृत्यु भएको छ। जसमध्ये २४ पुरुष, तीन महिला र तीन जना बालबालिका रहेको महानगरिय प्रहरी परिसर भक्तपुरको तथ्यांक छ। भक्तपुरमा गत वर्ष करिब सात सय वटा साना ठूला सवारी दुर्घटना भएका थिए। तीमध्ये सवारी ज्यान र अंगभंगमा ३६ वटा मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण प्रसाईंले जानकारी दिए।

दुर्घटनाको प्रमुख कारणमा तीब्र गति, लेन अनुशासन पालना नगर्नु, जथाभावी ओभरटेक गर्नु जस्ता कारण रहेको भक्तपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जगत नेपालीले बताए। उनले भने, ‘ट्राफिक नियमसम्बन्धी जनचेतनाको अभावले पनि नियम पालना नगर्ने प्रवृत्तिले दुर्घटना बढेको हो।’

सवारीसाधनको अत्यधिक चाप हुने भक्तपुरका मुख्य सडकहरु अरनिको राजमार्गअन्तर्गतको जडिबुटी–साँगा र जगाती–व्यासी–पेप्सीकोला सडक हुन्। यसका साथै बहाखाबजार–बोडे–सरस्वतीखेल, डेकोचा–चाँगु, सल्लाघारी–दुवाकोट, कमलविनायक–नगरकोट, जगाती–डोलेश्वर, थिमि–तर्खगाल, कौशलटार–बिरुवा, पाण्डुबजार–गुण्डु, च्याम्हसिंह–नाला, च्याम्हसिंह–सुडाल, कमलविनायक–कलमसी सडक समेत सवारी साधनको चाप हुने सहायक सडकहरु हुन्।

दुर्घटना कम जाममुक्त नयाँ कार्ययोजना

भक्तपुर प्रहरीले सवारी दुर्घटनाको संख्यामा बृद्धि भएसँगै यसलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा लिएर विभिन्न रणनीति अवलम्बन गर्दै आइरहेको छ। पछिल्लो समय भक्तपुरमा सवारी दुर्घटना र दुर्घटनाबाट ज्यान जानेको संख्यामा अत्याधिक बृद्धि भएपछि प्रहरीले दुर्घटना कम गर्न प्रहरीले गत जेठ १४ मा जिल्ला सुरक्षा समितिको बैठकले भक्तपुरमा सवारी दुर्घटना कम गर्न र जिल्लालाई सवारी जामरहित बनाउन सवारी साधनको ब्यवस्थापनसम्बन्धी नयाँ कार्य योजना तयार गरी कार्यान्वयन गर्ने तयारी गरेको छ।

दुर्घटना कम र जाम हटाउन देखिएका चुनौती, समाधानका उपाय र अपेक्षित उपलब्धिसहितको कार्ययोजनामा जिम्मेवार निकायले गर्नुपर्ने कार्यसमेत तोकिएको छ । कार्ययोजनामा मुख्य मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गरिनु पर्ने रहेको छ।

त्यस्तै कार्ययोजनामा दुर्घटना हुने मुख्य स्थानहरुको पहिचान गर्नुका साथै ती चोकमा गर्नुपर्ने सुधारका कार्यहरु समेत उल्लेख गरिएको छ। कार्ययोजनामा सिसिटिभी जडान, पार्किङस्थलको व्यवस्थापन, राडार गनको प्रयोग, फुटपाथ अतिक्रमण हटाउने, स्मार्ट आइल्याण्डको निर्माण, अनियन्त्रित गती नियन्त्रण यन्त्रको प्रयोगमा समेत जोड दिइएको छ।

व्यवस्थापनका चुनौती

भएका ट्राफिक लाइटहरुको मर्मत सम्भारको अभाव, व्यवस्थित पार्किङ स्थलको अभाव, छाडा चौपाया, निश्चित दूरीमा बस पकेट नहुनु, जथाभावी सवारी साधन रोक्ने प्रवृत्तिलाई ट्राफिक व्यवस्थापनको चुनौतीका रुपमा हेरिएको छ। यस्तै, अव्यवस्थित सडक, सडक पैदल यात्रीमैत्री नहुनु, ट्राफिक प्रहरीको जनशक्ति अभाव, दक्ष जनशक्ति र राडार गनजस्ता अत्याधुनिक प्रवृधि नहुनु, ट्राफिक नियमको ज्ञानको अभाव, मुख्य सडक तथा भित्री सडकहरूको बस स्टप, जेव्राक्रस, घुम्टी, साँघुरोबाटो, पुल,  बढी सवारी दुर्घटना हुने स्थान र सवारी गति सम्वन्धी जानकारीमुलक चिन्हहरूको अभावलाई दुर्घटना बृद्धिको प्रमुख कारण र चुनौतीको रुपमा लिएको छ।

भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले नयाँ कार्ययोजना सहित सडक दुर्घटना कम गर्न छाडा चौपायाको व्यवस्थापन, ट्राफिक नियम सम्बन्धी सवारी चालक र पैदलयात्री समेतलाई सचेतना कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.