|

दुनै(डोल्पा) : हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्नै छोडेका छन्। दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यन्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्नै छोडेका हुन्।

जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यन्नको जापानी चामल किन्न नमानेका हुन्। प्रतिकेजि ६५ रुपैयाँमा बिक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महँगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्य संस्थान डोल्पा शाखाले जानकारी दिएको छ। जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको ३५१५ क्विन्टल जापानी चामल बिक्री हुन नसकेको हो।

०७२/७३ मा ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष आएर एकै पटक प्रतिकेजीमा १५ रुपैयाँ वृद्धि भएको हो। हाल खाद्यले प्रतिकेजी भर्इ ६५ रुपैयाँमा अनुदानको चामल बेच्दै आएको छ। मूल्य समायोजनपछि स्थानीयले चामलको मूल्य महँगो भएको भन्दै किन्न नमानेको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारि दिए।

जनताले जापानी चामल किन्न नमानेपछि पुनः मूल्य समायोजनका लागि जिल्ला समन्वय समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले बताए। उनले भने 'सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो। जनताले किन्न सक्दैनन।'

पहिलोपटक आठ जातको चामल अनुदानमा

डोल्पामा पहिलोपटक आठ जातको चामल नेपाल खाद्यन्नले वितरण गरेको छ। बजरामा आउने जातको चामल बराबरको गुणस्तर भएको चामल नेपाल खाद्यन्नले वितरण गर्ने गरेको डोल्पा शाखाका प्रमुख जोसिले जानकारी दिए। उनले भने 'मूल्य अलि महँगो छ। तर बजारको चामलभन्दा राम्रो गुणस्तर नेपाल खाद्यन्नले अनुदानमा दिने चामलमा छ।'

हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुलि प्रतिकेजी ६० रुपैयाँ, मध्यम ६०, मकावनपुरे ५२, मोटा ५१, जिरा मसिनो ७०, गोरखनाथ ६५ र उसिना ३५ रुपैयाँ प्रतिकेजीमा नेपाल खाद्य संस्थानले जनतालार्इ चामल  बिक्री गर्दै आएको छ।

सबै जनतासँग महँगो चामल किन्नको लागि पैसा नहुने भएकोले जति सक्दो सस्तो चामल रोज्नु परेको स्थानीय उपभोक्ता धनरुपे कामीले आफनो वास्तविकता सुनाए। उनले भने 'छाक टार्नकै लागि खाद्यान्नको चामल किन्नु पर्छ मिठो खाने भए त बजारकै किनै भइहाल्यो नि सबैसँग बजारको र खाद्यन्नको महँगो चामल किन्ने क्षमता छैन्।'

अनुदानमा आएको चामल बजारमा अन्य ब्राण्डका चामल सरह बिक्री भएको भन्दै उनले भने, 'सरकारले दिने चामल बजारको सरह नै भयो हामी जस्ता गरिबको लागि सरकारले दिने र बजारको चामलमा कुनै परक छैन। जतिनै जातका चामल दिए पनि महँगो भएपछि कागलार्इ बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो।

सात हजार ४९१ क्विन्टल चामल ढुवानी हुन सकेन

डोल्पा जिल्लाको लागि आर्थिक वर्ष ०७४/७५ मा २४ हजार २०० क्विन्टल चामल ढुवानी हुनु पर्नेमा १६ हजार ७०९ क्विनटल मात्र ढुवानी भएको छ। नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट तीनवटा ठेकेदारले डोल्पाको लागि ढुवानी गर्ने जिम्मा लिए पनि आर्थिक वर्ष सकिन लाग्दासमेत ढुवानी पूरा गर्न सकेका छैनन्।

यातायातको समस्या सडक जोखिम र खच्च्डबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेकोले ढिलाइ हुने गरेको ईन्द्रदीप क्न्सट्रक्सन,सिद्धार्थ ढुवानी सेवा र ओमजयदुर्गे ढुवानी सेवाको दावी रहेको छ। यता जिल्लामा ढुवानी भएको चामल भने जनताले सरकारले महँगो दररेटमा बिक्री गर्न खोजेको भन्दै लिन मानेका छैनन्।

हाल जिल्लामा ढुवानी भएको चामलमा एक सय २६९ क्विन्टल चामल मात्र मौजात रहेको त्यसमध्ये लगभग एक हजार २०० क्विन्टल जापानी चामल नै रहेको नेपाल खाद्यसंस्थान शाखा कार्यालय डोल्पाले जानकारी दिएको छ।

जापानी मात्र नभएर सरकारले अनुदानमा दिने सबै जातका चामलको मूल्य महँगो भएको कारण समायोजन हुने पर्ने माग यहाँका स्थानीयको छ। जनताको लागि अनुदान भन्ने मात्र गरेको तर व्यापारी शैलीमा चामल जनतालाइ बिक्री गरेको जनताको आरोप रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.