बुटवल: कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सदन र सडक चर्किरहेका वेला रूपन्देही र गुल्मीमा बलात्कारका दुई घटना बाहिर आएका छन्।
रूपन्देहीको कञ्चन गाउँपालिका ३ घर भएकी ६ वर्षिया बालिका बुधवार राति बलात्कृत भएकी हुन्। यस्तै गुल्मीको इस्मा गाउँपालिका ५ इस्मा रजस्थलका ५६ वर्षीय धनबहादुर चुदाराले स्थानीय ३५ वर्षीया एक महिलालाई बिहीबार जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
रूपन्देहीको कञ्चन गाउँपालिका ३ का स्थानीय २० वर्षीय विकल भन्ने खेमबहादुर पुनले ६ वर्षीया वालिकालाई रातको समयमा चकलेट तथा पैसाको लोभमा ललाइफकाई गरी बलात्कार गरेको इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक दीपेश बस्यालले दिएको जानकारीअनुसार बालिकाको अवस्था सामान्य छ। जवरजस्ती गर्ने युवकलाई बिहीबार नै पक्राउ गरी म्याद थप गरी अनुसन्धान गरिरहेको बस्यालले जानकारी दिए।
यस्तै गुल्मीको गाउँपालिका ५ इस्मा रजस्थलका ५६ वर्षीय चुदाराले स्थानीय ३५ वर्षीया एक महिलालाई बिहीबार जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दीपक बस्नेतले जानकारी दिए। खेतमा पानी लगाएर फर्कदै गरेकी सोझी खालकी ती महिलालाई जवरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित महिलाले प्रहरीलाई जानकारी दिएपछि तत्कालै इस्मा प्रहरी चौकीको प्रहरी टोलीले चुदारालाई पक्राउ गरेको थियो। पक्राउ परेका उनलाई शुक्रबार जवरजस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।