|

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका नयाँ बजार, जोगमाईका १ देखि ७ वडा, नाम्सालिङ, सोयाङ र प्याङ गाउँविकास समितिलाई समेटेर माईजोगमाई गाउँपालिका बनाइएको हो। यस गाउँपालिकालाई छ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसंख्या २१ हजार ४४ रहेको छ। यसको क्षेत्रफल १७२.४१ वर्ग किलोमिटर छ। यस गाउँपालिकाको केन्द्र साविकको नयाँ बजार गाविसको कार्यालयमा राखिएको छ।

इलामको पूर्वी भागमा मात्र बसोबास गर्ने न्यून संख्यामा रहेका लेप्चा र थामी जातिहरूको समेत यस गाउँपालिकामा बसोबास रहेको छ। यस क्षेत्रमा बर्खा लाग्नासाथ सदरमुकामबाट यातायातको सम्बन्धविच्छेद हुन्छ। गाउँपालिका भने आगामी ४ वर्षभित्र सबै आधारभूत आवश्यकता परिपूर्ति गर्ने रणनीतिका साथ अघि बढेको छ। गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका जीतबहादुर राई नेपाली कांग्रेसका सिटी शेर्पालाई हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। राई जिल्ला खेलकुद विकास समिति इलामको अध्यक्ष पदबाट राजीनामा दिँदै स्थानीय तहको निर्वाचनमा भिडेका थिए। माईजोगमाई गाउँपालिका ​अध्यक्ष जीतबहादुर राईसँग थाहाखबरकर्मी नमीन ढकालले गरेको कुराकानी प्रस्तुत छ।

जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पूरा भई दोस्रो वर्षमा प्रवेश गर्नुभयो। पहिलो गाउँसभाको मुख्य उपलब्धि के रह्यो?

पहिलो त सिंहदरबार गाउँ नगरमा भन्ने जुन मान्यता छ, त्यसलाई स्थापित गराउन लागिपरेका छौँ। जनतालाई सरल रूपमा सेवा सुविधा दिनुका साथै अधिकार स्थापित गर्न जोड दिएका छौँ। हामीले सर्वप्रथम त पूर्वाधार विकास, बाटो, भवन, विद्यालय निर्माण गरेका छौँ। पर्यटकीय क्षेत्र विकासले गति लिएको छ। धर्म, संस्कृति, शिक्षा र बालबालिकाको क्षेत्रमा उपलब्धि रह्यो। जस्तै : बालमैत्री गाउँपालिका घोषणाको अभियानलाई तीव्रता दिइरहेका छौँ। यिनै नीति कार्यक्रमलाई सार्थक बनाउन अघि बढेका छौँ। 

अधिकारसहितको स्थानीय तह संचालन पुरानो व्यवस्था भन्दा फरक छैन भन्ने गुनासो छ नि?

मुलुक संघीयतामा गएको छ। नयाँ योजना र कार्यक्रमसहित अघि बढ्दा समस्या पनि हुन्छ। हिजोका अनुभूति परिर्वतन गर्न प्रयासरत छौँ। जनता विकास र परिर्वतन चाँडो चाहन्छन्। त्यो एकै पटकमा र छोटो समयमा सम्भव हुँदैन। दीर्घकालीन योजना पनि हुन्छन्। विकास निर्माण र जनताको अधिकारको प्रत्याभूति दिलाउने किसिमका योजना लिएर अघि बढेका छौँ। जनताले हिजो र आजमा फरक नपाउने कारणचाहिँ अहिले ल्याइएका नीति र कार्यक्रम उस्तै लाग्छन् तर स्थानीय सरकार नयाँ व्यवस्था, कानुनमा अघि बढेको हुँदा तत्काल पुरानो अनुभूत गरे पनि भविष्यमा फरक ढंगले काम गर्दा फरक नीति र कार्यक्रम रहेको प्रत्याभूति हुनेछ। भविष्यमा परिर्वतन गरी सुशासनको अनुभूति गराउनेछौँ। 

चुनावमा विकास र समृद्धिको नारासहित धेरै प्रतिबद्धताहरू जनताबीच लैजानुभयो। कार्यान्वयन गर्न कतिको सहज हुँदोरहेछ?

समृद्धि मात्र नभएर सुशासन पनि थप्न चाहन्छु। सुशासन र समृद्धिको मूल नाराको एजेन्डा पूरा गर्न प्रयत्नरत छौँ। हामीले निर्वाचनमा मत माग्दै गर्दा सक्ने मात्र प्रतिवद्धाता राखेका थियौँ। माईजोगमाई गाउँपालिकाको जनताको स्तर तथा समृद्धिसँग जोडिएका विषयमा प्रतिवद्धता जनाएका थियौँ। जस्तो : बाटोघाटो, बिजुली, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषि, भाषा, संस्कृति, विभिन्न जाति समुदायका कुराहरू उठाएका थियौँ। ती कुराहरू पूरा गर्ने प्रयासमा छौँ र त्यसको सुरुवात गरिसकेका छौँ। त्यसको नतिजाचाहिँ आउन बाँकी छ। अब बाँकी रहेको चार वर्षमा जनताको समृद्धिको शत प्रतिशत चाहना पूरा गर्छौं त भन्दैनौँ तर त्यस बाटोमा समाजलाई डोहोर्‍याउने प्रयास गर्नेछौँ। 

जनताको माग सडक, खानेपानी, स्वास्थ्य, शिक्षा छन् तर मुख्य सडकमै लगानी देखिन्छ। अस्तव्यस्त सडक निर्माणले विपत्ति निम्त्याएका छन्। बर्खामा ​सदरमुकामसँग सम्बन्ध विच्छेद नै हुन्छ, यसको स्तरोन्नतिका लागि कस्ता योजना छन्?

जनताले हिउँदमा धुलो र बर्खामा हिलोको समस्या अझै भोग्दै आएका छन्। उहाँहरूको चाहना पूरा गर्ने योजनालाई अगाडि बढाइरहेका छौँ। पूरा गर्नका निम्ति वैज्ञानिक र प्राविधिक समाधानका कार्यक्रमलाई मुख्य प्राथमिकता दिएका छौँ। अव्यवस्थित र अव्यावहारिक रूपमा बाटोघाटो निर्माण भइरहेको कुरा साँचो हो। तर विकास गर्दा त्यसको सकारात्मक मात्र नभई नकारात्मक के हुन्छ भन्ने जनचेतनाको कमीका कारण गाउँगाउँमा बाटो निर्माण भएका हुन्। त्यसलाई अब हामी वैज्ञानिक ढंगले कार्ययोजना बनाएर अघि बढेका छौँ। यस्तो प्रवृत्तिलाई कम गरेर सार्थक परिणाम आउने काम गर्नेछौँ। 

संविधानले निर्दिष्ट गरेको स्थानीय तहको निर्वाचनपछि संरचनाविहीन अवस्थामा स्थानीय सत्ता सम्हाल्नुभयो, कस्ता समस्याहरू देखिए?

संविधानले परिकल्पना गरेको पहिलो स्थानीय सरकार हौँ हामी। ऐतिहासिक सरकारको रूपमा चित्रित हुनु वास्तवमा गर्वको कुरा हो। शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था विद्यमान थियो। भौतिक पूर्वाधार न्यून मात्र थियो। कर्मचारीको अभाव नै थियो। प्राविधिकदेखि लिएर प्रशासनिक कर्मचारीहरू नहुँदा सेवाग्राहीहरूलाई सिंहदरबार गाउँमा प्रत्याभूत गराउन असहज भएको थियो। नीति नियम र कानुनको समस्या थियो। त्यसलाई विस्तारै हल गर्दै अहिले सहजतातर्फ जाँदै छौँ। 

सरकार संचालनको मुख्य स्रोत कर हो। गाउँपालिकाको संचालनका लागि करको आन्तरिक व्यवस्थापन कसरी भइरहेको छ?

स्थानीय होस् र या संघीय सरकार संचालनको मुख्य आधार कर नै हो। सरकार र जनता विकास चाहन्छन्, त्यसको पहिलो पाटो आर्थिक व्यवस्थापन नै हो। स्थानीय सरकारका लागि आर्थिक व्यवस्थापनको पहिलो पाटो कर व्यवस्थापन नै हो। निती नियम र कानुनले दिए अनुसार कर सम्वन्धी कार्यक्रम अगाडी बढाएका छौ। निर्वाचन अगाडी ५ वटा गाविस थिए हाल त्यसलाई ६ वडामा विभाजन गरेर माईजोगमाई गाउँपालिका बनाइएको छ। साविकका पाँच गाविसमा वार्षिक साढे छ लाख रुपैया कर उठ्ने गरेको थियो। तर गाउँपालिका भएपछि करको दायरा बढाएर गत आर्थिक वर्षमा २२ लाख ९० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका थियौँ। लक्ष्यभन्दा बढी झन्डै ३५ लाख रुपैयाँ संकलन गर्न सफल भयौँ।

संविधानले व्यवस्था गरेअनुसार करको दायरा फराकिलो बनाउने सोचमा छौँ। अहिले नै संविधानको अधिकार प्रयोगमा ल्याइहालेका भने छैनौँ। साउन १ गतेदेखि एकीकृत सम्पति कर लागू गर्नुपर्छ भन्ने थियो तर संघबाट लागू नगर्नू भन्ने निर्देशन आएपछि अहिले कार्यान्वयनमा छैन। राज्यको निर्देशनअनुसार पारदर्शी र नियमसंगत व्यवस्थापन गरेर करको दायरा बढाउने लक्ष्य छ। बजारमा रहेको हल्लाभन्दा बेग्लै रूपमा कार्यान्वयन गर्नेछौँ। 

करको दायरा बढाउने योजना कस्तो छ?

अहिले व्यवस्थित विकास नभएकाले जथाभावी वन फँडानीका कारण रेडपान्डाको बासस्थान र आहारा मालिङ्गो लोप हुँदै छ। गाउँपालिकाकाले लक्ष्य र योजना लिएर २० लाख रुपैयाँ विनियोजन गरेको छ, जसबाट चरिचरण व्यवस्थापन र अव्यवस्थित विकास रोकेर वन्यजन्तु संरक्षण गर्नेछौँ। 

अहिले यस क्षेत्रका करदाताहरूको अवस्था हेरेर दर र दायरा बढाउने हो तर दरभन्दा पनि हामी दायरा नै बढाउनेछौँ। 

कृषि र पर्यटनको प्रशस्त संभावना छ त्यसलाई कार्यान्वयनको लागी के कस्ता योजना छन?

माईजोगमाई कृषि र पर्यटनको उर्वर ठाउँ हो। यहाँका अधिकांश बासिन्दाहरू कृषिसँग जोडिएका छन्। कृषिको माध्यमबाट जीवनस्तर, समाज र गाउँपालिकाको विकास गर्न सकिन्छ भन्ने कुरामा हामी गम्भीर छौँ। अहिले कृषि उत्पादन, बिउबीजन र बजार व्यवस्थापनका योजनाहरूलाई अगाडि बढाएका छौँ। पर्यटनको पाटोबाट हेर्दा प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण क्षेत्र हो यो। मेग्मा, तुम्लिङ जस्ता क्षेत्रहरू भारतसँग जोडिएका छन्। माईजोगमाईको थुम्केडाँडाबाट सूर्योदय मात्र होइन, इलामका १० वटै स्थानीय तहलाई नियाल्न सकिन्छ। यो एउटा जिल्लाको महत्त्वपूर्ण भ्यू प्वाइन्ट पनि हो।

श्रीअन्तुबाट सूर्योदयको दृश्य मात्र देख्न सकिन्छ तर यहाँबाट सूर्यास्त पनि देखिन्छ। प्रचारको कमी र यहाँको यथार्थ उजागर नहुँदा ओझेलमा छ। साततले झर्ना, बौद्ध गुम्बा, बालगुरुको मन्दिर, माईवेनी मेलालगायतका धेरै पर्यटकीय क्षेत्रहरू छन् यहाँ। यिनै क्षेत्रमा पर्यटकहरूको आगनमलाई बढाउन लगानी गर्ने योजना छ। लोपोन्मुख लेप्चा, सीमान्तकृत थामी र जिल्लामै ८-१० घर मात्र रहेका पहरी समुदाय माईजोगमाई गाउँपालिकामा छन्। जौबारीमा कृषि अनुसन्धान केन्द्र नार्क छ। यसले कृषकहरूलाई बिउबीजन र आधुनिक खेती प्रणाली सिकाइरहेको छ। विशेषत: आलु अध्ययनका लागि नेपालमै प्रसिद्ध महत्त्वपूर्ण क्षेत्र मानिन्छ- जौबारी। त्यसलाई प्रबर्द्धन गर्नेछौँ। 

जैविक विविधता र लोपोन्मुख जन्तुको आधार क्षेत्र हो। जैविक विविधता संरक्षणको योजना कस्तो छ?

जैविक विविधता संरक्षणलाई प्राथमिकता दिएका छौँ। केही दिनअघि मात्र पनि रेडपान्डा नेटवर्कको कार्यक्रममा हाम्रा योजनाहरू प्रस्तुत गर्‍यौँ। यस क्षेत्रमा लोपोन्मुख रेडपान्डाबाहेक काँडे भ्याकुरसमेत पाइन्छ तर संरक्षण अभावले लोप हुने अवस्थामा पुगेका छन्। अहिले व्यवस्थित विकास नभएकाले जथाभावी वन फँडानीका कारण रेडपान्डाको बासस्थान र आहारा मालिङ्गो लोप हुँदै छ। गाउँपालिकाकाले लक्ष्य र योजना लिएर २० लाख रुपैयाँ विनियोजन गरेको छ, जसबाट चरिचरण व्यवस्थापन र अव्यवस्थित विकास रोकेर वन्यजन्तु संरक्षण गर्नेछौँ। 

संचारको पहुँच नहुँदा यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचार हुन सकेको छैन। यसको निराकरण कसरी हुन्छ?

यो मुख्य समस्या हो। सञ्चारचारमैत्री गाउँपालिका बनाउन बजेट विनियोजन गरेका छौँ। पत्रपत्रिका, रेडियो र सञ्चार माध्यमसँग जोड्ने योजना छ। इन्टरनेटका लागि नेपाल टेलिकमसँग टावरको विषयमा छलफल गरेका छौँ। पर्यटकहरूलाई नेटको पहुँचमा पुर्‍याउन तुम्लिङमा टावर राख्ने योजना छ। प्याङ र नयाँ बजारमा समेत गरेर तीनवटा टावर राख्नेछौँ, जसले गर्दा सहज रूपमा टेलिफोन र इन्टनेटको पहुँचमा स्थानीय र पर्यटकहरू हुनेछन्।

गाउँपालिका कार्यालयबाट सात किलोमिटर माथि जौबारीमा कृषि अनुसन्धान केन्द्र (नार्क) छ, त्यहाँ पुग्न सडक समस्या छ। यसले मुहार कहिले फेर्छ?

सडक राम्रो नहुँदा जौबारीले मुहार फेर्न सकेको छैन। तर हामीले अहिले सडक सञ्जाल विस्तार र स्तरीकरण गर्दै छौँ। गाउँपालिकाको केन्द्र नयाँ बजारदेखि जौबारी, जौबारीदेखि तुम्लिङ र मेग्माको बाटोलाई प्रदेश सरकारबाट सशर्त बजेटअनुसार पर्यटन मार्ग घोषणा भई एक करोड ४० लाख रुपैयाँ स्वीकृत भएको छ। अब त्यो समस्या चाँडै समाधान हुनेछ। 

तपाईंको कार्यकालपछि अबको ४ वर्षमा गाउँपालिकाको चाहिँ मुहार कस्तो हुनेछ?

सबैको चाहना र उद्देश्य पूरा त हुँदैन तर आजसम्मको अवस्थामा जुन प्रकारको विकास, कृषि, शिक्षा र वातावरणमा भइरहेका छन्। त्यो पक्कै परिर्वतन हुनेछ। गाउँगाउँमा सहज सेवा सुविधा पाइनेछ। त्यही लक्ष्य हामीले राखेका छौँ। अब मेरो कार्यकालपछि बत्ती नपुगेको घर हुँदैन। सबैको घरमा स्वच्छ पानी पुर्‍याइने प्रयास हुनेछ। शिक्षा, स्वास्थ्य, रोजगारमा सबै जनताको सहज पहुँच हुनेछ। गाउँपालिकाभित्रका सबै सडकहरूलाई स्तरीकरण गरेर हिलो र धुलोमुक्त बनाइनेछ। पूर्ण रूपमा धुलोमुक्त त नहोला तर ९० प्रतिशत सडक भने हिलोमुक्त हुनेछ। 

सबै सडक कालोपत्रे नै हुन्छन् त?

माईजोगमाईको नयाँ बजारदेखि फिक्कल जोड्ने, नयाँ बजारदेखि दुधाङ हुँदै इलाम सदरमुकाम जोड्ने बाटोलाई प्रदेश सरकारले गौरवको आयोजनामा राखेको छ। त्यसका लागि तत्काल दुई करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ। पक्कै पनि माईजोगमाईको केन्द्र नयाँ बजारदेखि सूर्योदय नगरपालिकाको फिक्कल वा नयाँ बजारदेखि इलाम बजारसम्मको मध्ये एउटा सडक पूर्ण कालोपत्रे हुनेछ। फिक्कलको बाटोलाई कालोपत्रे गर्न ४० करोड रुपैयाँ बजेटको सिलिङ अर्थ मन्त्रालयमा पठाएका छौँ। यस क्षेत्रबाट विजयी हुने सांसदहरूसँग पनि यस विषयमा छलफल भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.