प्रतिकेजी २० रुपैयाँमा पनि नबिकेको गुनासो

|

त्रिपुराकोट(डोल्पा) : यतिखेर जुम्ला, डोल्पा, मुस्ताङ लगायतका जिल्लाहरुमा लटरम्म स्याउ फलेका छन्। लटरम्म फलेको स्याउ देख्दा खुसी भएका स्थानीय स्याउ बेच्ने बजार नपाएपछि चिन्नतित हुन थालेका छन्। त्यस्तो खुसी उनीहरूमा हराउँदै जान थालेको छ। व्यावसायिक रुपमा लगाइएको स्याउ घरमै थन्किएको छ।

डोल्पाका विभिन्न बस्तीहरुमा पनि स्याउ पाकेर रातै भएको छ। सिजनमा पनि स्याउ बिक्री भएको नभएको रंगका कृषकहरुले गुनासो गरे। जिल्लाका रंग, जुफाल, डाँगीबाडा लगायतका बस्तीमा विभिन्न जातको स्याउको व्यावसायिक खेती गरिन्छ। डोल्पाका स्याउ कृषकहरूले स्याउ घरमै कुहिनुभन्दा अरुलाई सित्तैमा बाँड्न थालेको बताएका छन्। एक घर एक स्याउ बँगैचा सुरु गरिएको रंगगाउँमा यतिखेर जो कोही पाहुना गाउँमा आउँछन् उनीहरुलाई सत्‍कारस्वरूप स्याउ नै दिने र फर्कंदा पनि उपहारसहित स्याउ पठाउने गर्छन् रंगका स्याउ कृषकहरू।

फलेको स्याउमध्ये २० प्रतिशत पनि स्याउ बिक्री नभएपछि यसो गरिएको रंगाली स्याउ कृषकहरुले बताए। यो वर्ष विगतको तुलनामा धेरै स्याउ फलेको डोल्पाको रंग गाउँमा बजारको अभावमा स्याउ बिक्री नभएर कोल्डस्टोरमै थन्किएको र केही स्याउ बोटमै कुहिने थालेको स्थानीय कृषक फूलकुमारी बुढाले बताइन्।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने रंग गाउँमा फलेको स्थानीय जातको स्याउ आर्गनिक एवम् नेपालकै स्वादिष्ट र गुणस्तरीय मानिन्छ। ‘यातायातको साधन नहुँदा डोल्पाली स्याउले बजार पाउन सकेको छैन, गत वर्षभन्दा स्याउ धेरै फल्यो तर बजारको अभाव १० प्रतिशतसम्म पनि बिक्रि भएको छैन्’ स्याउ कृषक बुढाले बताइन्।

गत वर्ष स्याउबाटै झण्डै दुई लाख बराबरको आम्दानी गरेका फूलकुमारीको भनाइ छ। उनका बगैँचामा २ सय ५० भन्दा बढी स्याउका रुखहरुमा लटरम्मर स्याउ फलेका छन्। डोल्पामा फलेको अर्गानिक स्याउ प्रतिकेजी २५ रुपैयाँका दरले बिक्री गर्दा पनि वर्षभरि नै स्याउ कोल्डस्टोरमै कुहिने गरेको स्याउ कृषक तथा शिक्षक नवराज बुढाले बताए।

प्रतिकेजी २० रुपैयाँमा पनि नबिकेको गुनासो

सडक यातायातको पहुँच नपुगेको डोल्पामा रंग गाउँमा फलेको स्याउ छिमेकी जिल्ला रुकुम जाजरकोट र सल्यानबाट व्यापारी फारममै पुगेर प्रतिकेजी २० देखि २५ रुपैयाँ सम्ममा खरिद गरेर लैजाने गर्दछन्। तर वर्षको लगातारको वर्षाले रंग गाउँमा आउने छोटो दुरीको बाटोमा पर्ने फोई नजिक भेरी नदिमाथिको झोलुङ्गे पुल भत्केपछि औलेल अर्थात् रुकुम जाजरकोट र सल्यानका व्यापारी नआउने भएपछि स्याउ कोल्डस्टोरमै कुहिने भएको हो।

ढुवानी अनुदान नपाउँदा बजार अभाव

विगतमा सरकारले कर्णाली विशेष कृषि कार्यक्रमअन्तर्गत सडकको पहुँच नपुगेको डोल्पाका स्याउ किसानहरुले फलाएको अर्गानिक स्याउलाई नेपालगन्ज सुर्खेत भैरहवा र काठमाडौं लगायतका सहरहरुमा पुर्‍याउनका लागि हवाई ढुवानीमा अनुदानसहित स्याउ प्याकेजिङको लागि कार्टुनको समेत व्यवस्था गरेको थियो। तर, हाल स्थानीय तहले उक्त व्‍यवस्था हटाएपछि पनि रंगाली स्याउले बजार नपाएको हो।

त्रिपुरासुन्दरी नगरपालिकाले फलफूल खेतीबाटै नगरलाई आर्थिक समृद्दि बनाउने महत्वकांक्षी योजनाबमोजिम स्याउ, र अंगुरको विरुवा खरिद तथा ढुवानीमा गत आर्थिक वर्षमा एक करोड बराबरको रकम विनियोजन गरेको थियो।

प्याकेजि र ढुवानीको सुविधा दिएका छौँ : नगर प्रमुख

यो आर्थिक वर्ष ०७५⁄७६ का लागि सोही कार्यक्रममा २ करोड ४३ लाख रकम बिनियोजन गरेको भए पनि ढुवानी अनुदानको व्यवस्था नगरिँदा आफूहरुलाई कागलाई बेल पाक्यो हर्ष न विस्मातजस्तै भएको कृषक हिरालाल बुढाले बताए। ठूलीभेरी नगर प्रमुख गणेशबहादुर शाहीले  नगरका स्याउ किसानहरुलाई स्याउ प्याकेजिङ र ढुवानीको सुविधा दिएको बताए।

जुफाल विमानस्थलसमेत भएको ठूलीभेरीका स्याउ किसानहरुले ढुवानी र कार्टुनमा अनुदान सहयोग पाएपछि नेपालगन्ज सुर्खेत लगायतका बजारहरुमा हवाईजहाजमार्फत ढुवानी गरिरहेका छन्। डोल्पाका स्याउ किसानहरुलाई स्याउको ग्रेडिङ प्याकेजिङ र भण्डारणको तालिम दिनुपर्ने अवस्था रहेको त्रिपुरासुन्दरी नगर प्रमुख ओमबहादुर बुढाले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाका-१ मा पर्ने गल्ली, त्रिपुराकोट अंगुर पकेट क्षेत्रको लागि तीनथान अत्याधुनिक सोलार ड्रायल-३ मा पर्ने जिउ गाउँका स्याउ किसानको लागि ४ थान सोलार ड्रायल वितरण गरिने प्रमुख बुढाले जानकारी दिए। सडक यातायातको पहुँच नपुगुन्जेल सम्मको लागि सोलार ड्रायलबाट स्याउको चाना र अंगुरको किसमिस बनाएर बजारको पहुँचमा पुर्‍याउन सकिने नगर प्रमुख बुढाको भनाइ छ।

कोल्डस्टोरमै कुहिन्छन् ५० प्रतिशत स्याउ

अत्याधुनिक कोल्डस्टोर नहुँदा डोल्पाका स्याउ ५० प्रतिशत माटोको स्टोरमै कुहिने गर्छन्। माटोको चिस्यान युक्त कोल्डस्टोर बनाइएको भएपनि माटो र पानीको कारण स्याउ स्टोरमै कुहिने गरेको स्याउ किसान फूलकुमारी बुढाले बताइन्। गाउँका केही व्‍यक्तिले अत्याधुनिक स्याउ भण्डारणको व्यवस्था गरेको भए पनि अधिकांश स्याउ किसानहरुले माटोकै कोल्डस्टोरमा स्याउ भण्डारण गर्ने गरेका छन्। डोल्पाका रंग, जिउलगायत जुफाल र लोचाका स्याउ फारमहरुमा बर्सेनि २५ हजार टनको हाराहारीमा स्याउ उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.