मुख्यमन्त्रीले उद्योगी व्यवसायीलाई भने- कमाईको ठूलो हिस्सा विदेशिने अवस्थाप्रति सचेत हुनुस्
मुख्यमन्त्रीले उद्योगी व्यवसायीलाई भने- कमाईको ठूलो हिस्सा विदेशिने अवस्थाप्रति सचेत हुनुस्
बुटवल: तेश्रो राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला शुक्रबारबाट प्रदेश पाँचको बुटवलमा सुरु भएको छ। प्रदर्शनीमा औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्नका स्टलहरू राखिएको छ।
उद्योग व्यापार संघ बुटवल रुपन्देहीको आयोजनामा गरिएको मेलाको उद्घाटनको क्रममा मुख्यमन्त्री शंकर पोखरेलले ग्रामीणमुखी अर्थतन्त्रको विकास नगरेसम्म औद्योगिक विकास हुन नसक्ने बताए। मेला, महोत्सव आयोजनाले मुलुकभित्रको अर्थतन्त्र विकासमा खासै प्रभाव नपरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जनतालाई मनोरञ्जनप्रति आकर्षण गरेर कमाईको ठूलो हिस्सा विदेशिने अवस्थाप्रति सचेत हुनुपर्ने बताए।
‘हामीले मेला महोत्सव आयोजना गर्दा हाम्रो पेरिफेरिको अर्थतन्त्रमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुराको ख्याल गर्नु जरुरी छ', उनले भने–'हामीले आयोजना गर्ने र त्यसको फाइदा सीमापारिकै बजारलाई हुने हो भने यस्ता मेला महोत्सव आयोजना गर्दा सोचविचार गर्नुपर्छ।’
सस्तो बजार र धरहरा आकर्षण
असोज २८ गतेसम्म चल्ने मेलामा औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न पभेलियन बनाईएको छ। दशै सस्तो बजारको लागि छुट्टै पभेलियन राखिएको संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक प्रविण पाठकले जानकारी दिए। प्रर्दशनी स्थलमा ४ सय १५ भन्दा बढी स्टल छन्।
प्रर्दशनीस्थलमा नौ तले धरहराको प्रतिरुप बनाइएको छ। करिब २२ लाख रुपैयाँ खर्च गरेर भूकम्पले ध्वस्त भएको काठमाडौं सुन्धारामा रहेको धरहराको प्रतिरुप प्रर्दशनी स्थलमा निर्माण गरिएको हो।
प्रर्दशनीमा कलाकारहरु बद्री पगेनी, शिव परियार, सनुप पौडेल, एन्जिला रेगमी सुजाता पाण्डे लगायतले सांस्कृतिक प्रस्तुति दिनेछन्। फेशन शो, विट कन्टेक्स, खुल्ला नृत्य प्रतियोगिता पनि आयोजना हुने छन्। मेलामा २० करोड भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।