|

काठमाडौं : रेडियो नेपालमा नारायण गोपाल, धर्मराज थापाको आवाज गुंजिँदा गायक तथा संचारकर्मी नन्दकृष्ण जोशीलाई मनमनै लाग्थ्यो, 'हाम्रा वनपाखाका गीतहरू कहिले बज्न पाउलान्? म पनि आफ्ना गाउँघरमा गाइने गीतलाई नेपालभर सुनाउँछु, सुनाउँछु।'

गायक जोशी देउडा गीतको उन्नयन र प्रवर्द्धनका एक हस्ती मानिन्छन्। उनलाई देउडा सम्राटको रूपमा चिनिने गरेको छ। देउडा गीतको संरक्षणमा उनी विगत लामो समयदेखि लागिपरिरहेका छन्। बझाङमा जन्मिएका उनका जिन्दगीका उतारचढाव र देउडा गीतसम्बन्धमा थाहाखबर उनको निवास पुगेको थियो।

उनको निवास पुग्दा उनी आफ्ना पुराना देउडा गीतका एल्बम पल्टाउँदै थिए। देउडा भनेको के हो? भनेर सुरुवात भएको हाम्रो गफ काठमाडौंका उनले भोगेका भोगाइ र उतार चढावहरूमा पुगेर टुंगियो।

देउडा नेपालको प्राचीन संस्कृति हो। विशेष गरेर नेपालको मध्यपश्चिम र सुदूरपश्चिमाञ्चलमा यसलाई महत्त्वका साथ लिइन्छ। 'देउडालाई नृत्यको रूपमा लिइए पनि यो एक खेल हो', जोशी भन्छन्, 'हातमा हात समातेर गोलाकार रूपमा एकातिर पुरुष र अर्कोतर्फ महिला मिलेर खेलिने खेल हो यो।' देउडा गीत बन्न दुईवटा पंक्ति हुन ज्यादै जरुरी छ। उनका अनुसार यो गीत लोक छन्दमा आधारित छ।

मागल, भस्सो, धमारी, छलिया, चाचरीहरू पनि पश्चिममा छन् तर देउडा जस्तो सबैको लोकप्रिय अरू कमै रहेको उनी बताउँछन्। 'देउडामा शृंगार रस छ। देशप्रेममको भाव छ। गरिबीको कथा छ। दरिद्रको व्यथा छ। समाजमा कथित माथिल्लो वर्गले गरिबमाथि गरेका अत्याचारका व्यथा छन्', जोशी भन्छन्। उनलाई देउडा गीत मात्र होइन, सिंगो दर्शन लाग्छ। उनी भन्छन्, 'गाएको खण्डमा गीत हो। लेखेको खण्डमा साहित्य बन्छ। भावमूलक तरिकाले हामीले चिन्तन मनन् गरे दर्शन हो। देउडा अलिखित महाकाव्य हो।' देउडा उत्पति कहिले भयो भन्ने यकिन थाहा छैन उनलाई। उनी भन्छन्, 'देउडाको आदि पनि छैन, अन्त्य पनि छैन। माटोसँगै उत्पति भएको संस्कृति हो यो।'

२०३३ सालमा पुरानो शिक्षाबाट एसएलसी उत्तीर्ण गरेसँगै उनी काठमाडौँ आइपुगे- वि.सं. २०३४ मा। उनी वाल्मीकि विद्यापीठमा भर्ना भए। पढाइ एकातिर, गायन अर्को सोख। गायनको रहरले डोहोर्‍याएर उनी राजधानी आएकै केही दिनमा रेडियो नेपालको भवनतिर सोझिए। पहिलोचोटि उनी रेडियो नेपालमा देउडा गीत गाउने र देशका कुनाकुनासम्म यो गीत पुर्‍याउने लक्ष्यका साथ हिँडे। उनी त्यो पल सम्झन्छन्, 'फाटेको जुत्ता, टालेको पाइन्ट लगाएर पुगेको थिएँ।' कयौँ दिन रेडियो नेपाल धाउँदा पनि उनले गाउने अवसर पाएनन्। धेरै हण्डरपश्चात २०३४ कार्तिक १४ गतेका दिन पहिलोचोटl गीत गाउने अवसर पाए उनले। पहिलोचोटी गाएको देउडा गीत यस्तो थियो। 

वारिको खेती बगाइलैगोपारिका खोलाले ‌‌वाज ओ वाज झुम्रेली वाज
हजुरसँग भेट भयो, देउताका कृपाले वाज ओ वाज झुम्रेली वाज!

त्यसबेला सहयोग गर्ने  दामोदर अधिकारी, राममणि रिसाल, राम थापा, गणेश परियार, मदन परियारलाई उनी भुल्न सक्दैनन्। झलकमान गन्धर्व, चन्द्रकला शाहहरूले उनको स्वरलाई लिएर गरेको टिप्पणीलाई आजका मितिसम्म पनि आशीर्वादको रूपमा लिने गरेका छन् उनले। ती रमाइला, घमाइला, संघर्ष, आत्मीय साथीहरू सम्झँदा ऊर्जा थपिने उनी बताउँछन्।

बझाङको सीमान्तकृत ठाउँ तलकोटमा जन्मेका उनी १७ दिनको पैदल यात्रा गरेर राजधानी आएका थिए। आफ्ना बाबुले राजधानीलाई नेपाल भनेर भन्दा उनको आँखामा सुनैसुनको, अत्यन्तै सफा, मर्यादित, हार्दिकता सम्पन्न मानौँ, स्वर्ग होला भन्ने ठान्थे उनी। उनी गाउँको गोरेटो हिँडेको मान्छे, काठमाडौं देख्दा खुसीको कुनै सीमा नरहेको बताउँछन्। यहाँ चल्ने सवारी साधन, राजाको दरबार, धरहरा, घण्टाघरले आफूलाई एकदमै मोहित बनाउने गरेको सम्झन्छन् उनी। त्यसबेला काठमाडौंबासीले बाग्मतीको पानी पिउने गरेको उनले देखेका छन्। 'अहिले बाग्मतीको पानी पिउने गर्थ्यौं भन्दा एकादेशको कथा जस्तो लाग्छ। अब त्यस्तो बाग्मती नै कहाँ रह्यो र?', उनी खिन्नता प्रकट गर्छन्, 'अस्तव्यस्त, अमर्यादित, फोहोर, महँगो काठमाडौं सायदै मैले त्यसबेला कल्पना गरेको थिएँ।'

'चौतारीले मेरो जीवनमा पनि ठूलो महत्त्व राख्छ। यहाँ आउने स्रष्टाको जीवन संघर्षले आफूले अझै धेरै काम गर्न बाँकी रहेछ भन्ने महसुस हुन्छ।'

उनले आजको मितिसम्म २२ वटा देउडा एल्बम निकालिसकेका छन्। एल्बम निकाल्ने ठूलो कुरा नभएको उनको भनाइ छ। अहिलेको अवस्थामा एउटै कलाकारले धेरै एल्बम निकाल्न सक्षम छन्। गीत बिक्री हुनु, त्यसको महत्त्व बढ्नु, त्यो संस्मरणमा आउनु बेग्लै कुरा भएको उनी बताउँछन्। एल्बम कसरी निस्कियो? कस्तो प्रभाव पार्‍यो? महत्वपूर्ण कुरा भएको उनको बुझाइ छ। उनले गीत रेकर्ड गर्न धेरै व्यक्तिबाट सापटी गरे। आफ्नी श्रीमतीको हार बेचिदिए। घर बन्धकी राखिदिए। देउडा गीतका लागि आफू अर्धपागल भएको भन्न उनले छुटाएनन्।

उनका २२ वटा एल्बमहरूमध्ये विविध किसिमका १८ एल्बमहरू त्यहाँको संस्कृतिलाई माथि ल्याउने गीत हुन् भन्ने लाग्छ उनलाई। गाउँघरमा मान्छेहरूले गर्ने अन्तरसंवादहरूलाई उनले  क्यासेटको माध्यमबाट उनीहरूलाई सुनाइदिँदा अचम्भित हुने गर्थे। देउडा गीतहरू क्यासेटमा आएर बज्नु अच्चमको कुरा थियो। आफ्नै अगाडि आफ‍ना गीत सुन्न पाउन संभव छ भन्ने कुरा उनले प्रमाणित गरिदिए भन्ने लाग्छ उनलाई। राज्यबाट महत्त्व नदिएको देउडालाई राष्ट्रिय स्तरमा ल्याउन सजिलो विषय पक्कै होइन। तर असंभव भन्ने कुरा मूर्खको डायरीमा हुन्छ भन्ने उनले पढेका थिए।

उनी उत्साहित हुँदै भन्छन्, 'देउडाको पनि एउटा कारखाना छ भन्ने कुरा, देउडाको पनि एउटा भविष्य छ भन्ने कुरा, देउडा गीत पनि देशका अरू गीत जस्तै मूल प्रवाहमा जान सक्छ भन्ने प्रमाणित गरिदिएको मात्र हुँ।' रेडियोमा देउडा गीत गाएको तीन दिनपछि रेडियोबाट प्रसारण भएको सम्झना गर्छन् उनी। त्यस दिनको सम्झना यसरी गर्छन् उनी, 'आफ्नो मिहिनेतले स्थान पाएकाले गर्दा मेरा खुट्टा भुइँमा थिएनन्।'

त्यस बेला उनले गाएको गीत अरूले बुझे कि बुझेनन्, थाहा छैन तर उनले बुझे। राष्ट्रले बुझ्यो, बुझेन तर उनले बुझे। गाउँघरका मान्छेले सुनेछन् उनको गीत। तर केही मान्छेले हाम्रा गाउँका पाखे गीतहरू शहरमा लगेर बदनाम गर्‍यो भनेर विरोध गरेछन्।

उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य पनि भइसकेका छन्। नेपालको राष्ट्रिय गानको छनोट समितिमा बसेर पनि काम गरेका थिए।

एल्बम, आन्दोलन र जेल जीवन

काठमाडौं आएपछी पंचायती व्यवस्थाको बारेमा बुझ्ने अवसर पाए उनले। पंचायती व्यवस्थाप्रति घृणा जाग्दै गयो। विपी कोइरालाको समाजवादप्रति उनी आकर्षित भए। तत्कालीन नेता, जो अहिले नेपाली कांग्रेसका उपसभापति छन्, विमलेन्द्र निधि, सदस्य ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर केसीसँग सामीप्य बढ्दै गयो। उनी नेपाल विद्यार्थी संघमा आबद्ध भएर पंचायती व्यवस्थाविरुद्ध आन्दोलनमा लागे। उनलाई पहिलोचोटि २०३४ मंसिर १५ गते जेलमा हालियो। २०३६ सालको आन्दोलमा पनि उनी होमिए। उनी पटक पटक आन्दोलनमा होमिएर ३७ पटक हिरासतमा बसेका छन्। उनी भन्छन्, 'नेपालमा राजनीतिक परिवर्तन सजिलै भएका होइनन्। यसमा धेरै मान्छेको खुन-पसिना बगेको छ। भाग्यवस! यस कार्यमा मैले पनि भाग लिने अवसर पाएँ।'

रेडियो र टेलिभिजनमा उनको यात्रा

उनी नेपाल टेलिभिजनमा सांगीतिक कार्यक्रम 'चौतारी' विगत १४ वर्षदेखि संचालन गरिरहेका छन्। जसमा उनले नेपालका प्रतिष्ठित व्यक्तिहरूको जीवनका उतार चढावहरू खोतल्ने गर्छन्। संगीतकर्मीले सांगीतिक यात्रामा गरेका संघर्षबारे आमामनिससम्म पुर्‍याउने माध्यम बनेका छन् उनी। उनी भन्छन्, 'चौतारीले मेरो जीवनमा पनि ठूलो महत्त्व राख्छ। यहाँ आउने स्रष्टाको जीवन संघर्षले आफूले अझै धेरै काम गर्न बाँकी रहेछ भन्ने महसुस हुन्छ।' उनले रेडियो नेपालमा 'घटना र विचार' कार्यक्रम पनि एक वर्ष संचालन गर्ने अमवसर पाए। यस्तै, कान्तिपुर एफएममा उनले सांगीतिक कार्यक्रम 'रिवर' चलाउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.