|

काठमाडौं : रंगमंच दुनियाँमा युवा पुस्ताको सक्रियता लोभलाग्दो रहेको तथ्य युवाहरूको यसतर्फको आकर्षणले देखाइरहेको छ। देशका विभिन्न शहरमा नाटक घरहरू खुल्ने क्रम पनि बढ्दै गएको छ। नाटक घर बढेसँगै नाटक हेर्ने दर्शकहरू पनि पछिल्लो क्रममा बढ्दै गएको प्रमाण पछिल्लो क्रममा नाटक निर्माणको संख्याले जनाउँछ। नाटकमा आंचलिकता, मिथक, जातभित्रको सामाजिक संस्कृतिका बारेमा नयाँ पुस्ताले मौलिक नाटक लेखन निर्देशन गरिरहेका छन्। आफ्नै परिवेशको कथा लिएर आइपुगेका छन्, रंगकर्मी प्रणव आकाश।

जनसंख्याको हिसाबमा नेपालको चौथो जातिका रूपमा रहेको जाति हो थारू। नेपालको आदिवासीको रूपमा लिने गरिन्छ थारूलाई। विशेष गरेर यो जाति नेपालको मध्यपश्चिमका सुर्खेत, भित्री मधेसका दाङ, बर्दिया, कैलाली, बाँके र कंचनपुर तथा चितवनका साथै नेपालको समग्र तराई भेगमा बसोबास गर्दै आएका छन्। यही जातिको परिवारभित्रको उतार चढावलाई लिएर रंगकर्मी आकाशको लेखन र निर्देशनमा सर्वनाम नाटकघरमा थारू भाषाको नाटक 'करोट' मंचन भइरहेको छ। दोस्रो पटक थारू भाषाको नाटक काठमाडौंमा मंचन भइरहेको हो।

सर्वनाम थिएटरको सहकार्यमा ख्याल बगालको प्रस्तुति तथा थारू फिल्म्स प्रोडक्सनको सहआयोजनामा नाटक प्रदर्शन भइरहेको छ। यसअघि उनको निर्देशन र सुशील चौधरीको लेखनमा राजधानीमा 'भुरभुरा रहर' मंचन भएको थियो। उक्त नाटकले पाएको प्रशंसा र चर्चाको कारण थारू भाषाको अर्को नाटक मंचन गर्ने सोच आएको आकाशले बताए।

'भुरभुरा रहर' नाटक आजभन्दा ५० वर्षअगाडिको थारू समुदायको कथा थियो तर अहिले मंचन भएको नाटकमा भने अहिलेको थारू समुदायको बारेमा खुलस्त पार्न खोजिएको छ।

थारू समुदायका युवाहरूलाई रंगमंचतिर खासै आकर्षण नभएको र आमजनमानसमा जो थारू जातिका बारेमा अध्ययन गर्न चाहन्छन्, तिनीहरूलाई समर्पित गर्नका निम्ति 'करोट' मंचन गरेको उनी बताउँछन्। थारू भाषाको संरक्षण तथा उत्थान र थारू संस्कृति प्रवर्द्धनका लागि यो नाटक कोशेढुंगा सावित हुने पनि प्रणवले बताए। 

उनीसँग यसअघि नाटक ‘मान्छे पोल्ने भट्टी’मा लेखन तथा निर्देशन र थारू नाटक ‘भुरभुरा रहर’मा निर्देशन गरेको अनुभव पनि छ, जसले गर्दा यस नाटकको निर्देशन र लेखनमा त्यति धेरै अप्ठ्यारो महसुस नभएको उनले बताए। उनका अनुसार हरेक युवाहरूको आफूले बाँचेको समाज, भाषा, आफ्नो संस्कार, संस्कृति संरक्षण र प्रवर्द्धनमा कर्तव्य र अवसर दुवै हो।

यस नाटकमा विशेष गरेर आर्थिक प्रलोभनमा पर्दा  एउटा मध्यमवर्गीय परिवारमा के कस्ता उतार चढाव आउँछन् भन्ने कुरा देखाइएको छ। यो नाटकको प्रस्तुति पनि थारू भाषामा नै छ। अन्य जातिका व्यक्तिलाई पनि हरेक नेपाली समाजको यस्तो कथालाई प्रस्तुत गर्न थारू भाषालाई माध्यम बनाइएको उनको भनाइ छ। यो नाटकमा कलाकारहरू ईन्द्र चौधरी, दीपक पछलडङ्ग्या, लक्ष्मी चौधरी, भूमिका चौधरी, निरजबाबु चौधरी, सुनिता चौधरी, उर्मिला चौधरी र शान्ति चौधरीको अभिनय रहेको छ। काठमाडौंमा पढ्ने विद्यार्थीहरूलाई करिब एक महिनाको कार्यशाला र अभ्यासपश्चात कलाकारहरू तयार गराइएको पनि उनले बताए।

काठमाडौंमा यो नाटक मंचनपश्चात् दाङ, बाँके र बर्दियाका विभिन्न स्थानहरूमा नाटक मंचन गर्ने तयारीमा रहेको पनि निर्देशक प्रणव बताउँछन्। नाटक सर्वनाम थिएटरमा पुस ६ गतेदेखि पुस २१ गतेसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.