झापा : भारत सरकारले भारतीय पाँचसय र हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रका नेपाली ठगिने क्रम बढेको छ।
पछिल्लो पटक भारतीय बजारमा किनमेल गर्न जाने नेपालीका नेपाली नोट पनि अवमूल्यन गर्ने तथा भारतीय पाँच सय र हजारका नोट कागजकै मूल्यमा झारेर ठग्ने क्रम बढेको हो। भारतको गलगलिया नाकामा रहेका व्यपारीले सीमावर्ती भद्रपुरमै एजेन्ट राखेर भारतीय एक हजार दरका नोटलाई नेपाली एक हजार दुई सयमा सटही गर्ने अवैध धन्धासमेत सुरु गरेका छन्। यसतर्फ नेपाली नियामक निकायको ध्यान पुग्न सकेको छैन।
सर्वसाधारणमा सीमावर्ती बजारमा नेपाली मुद्रासमेत नचल्ने हल्ला फिँजाएर भारतीय व्यापारिक गिरोहले केही नेपाली दलालमार्फत भद्रपुर नाकामा भारु-नेरु कारोबार गरिरहेका छन्। भारतीय पाँच सय तथा हजार दरका नोट सटही गर्न नेपाली नागरिकले नपाउने वर्तमान व्यवस्थाको फाइदा उठाउँदै उनीहरुले सीमावर्ती क्षेत्रका सर्वसाधारणसँग भएका भारतीय नोट अवमूल्यन गरेर लिन थालेपछि सर्वसाधारण समस्यामा परेको पीडित रमेशचन्द्र राजवंशी बताउँछन्। उनका अनुसार भारतीय पाँच सय तथा हजार दरका नोट लिएर जाने सर्वसाधारणलाई ५० प्रतिशत कम मूल्याङ्कनमा सामान खरिद गर्न दिने गरेका छन् भने नेपाली नोटलाई पनि चलनचल्ती भन्दा ३० प्रतिशत कममा अवमूल्यन गरेका छन्।
भारतीय रुपैयाँको कारोवार गर्ने भारु सटही केन्द्रका कतिपय सञ्चालकले भारु नभएको भन्दै सटही कार्य बन्द गरेर र उनीहरूले नै पाँच सय तथा हजार दरका भारतीय नोट ५० प्रतिशत कम मूल्यमा सङ्कलन गर्ने गरेको स्थानीय बताउँछन्। त्यस्ता व्यापारीले भारतीय व्यापारीको एजेन्टका रुपमा काम गरेको हुन सक्ने स्थानीयको अनुमान छ।
भारु सल्टाउन हैरानी
केही दिन अघिसम्म झापाको काँकरभिट्टा बजारमा खुलेआम भारुको कारोबार गर्ने महिलाहरु यतिबेला चुपचाप बसिरहेका छन्। भारततर्फ जाँदै गरेका नेपालीलाई उनीहरु तानातान गर्थे। नेपाली रुपैयाँ लिएर भारतीय रुपैयाँ साटिदिन्थे। भारतबाट आउनेहरुबाट भारु लिएर नेरु दिन्थे। मन लागेजति नाफा लिन्थे। उनीहरुको कमाउने माध्यम नै यही थियो। हातमा पैसाको मुठो बोकेर उनीहरु मनी चेन्जरको काम गर्थे, सडकमै।
प्रहरीले लखेट्थ्यो कहिलेकाहीँ। तर, काँकरभिट्टामा यस्तो काम गर्ने थुप्रै छन्। भारत सरकारले भारु ५ सय र हजार रुपैयाँको नोटमा प्रतिवन्ध लगाएपछि भने उनीहरु ‘बेरोजगार’ भएका छन्। ‘हामीसँग भएको भारु चाहिँ बल्ल बल्ल सल्टायौँ,’ १० वर्षदेखि भारु साट्ने काम गर्दै आएकी एक महिलाले भनिन्, ‘अब फलफूल व्यापार गरेर खानुपर्ला।’ भारत सरकारको निर्णयका कारण अब छोराछोरी पढाउनै धौ-धौ पर्ने उनले गुनासो गरिन्।
बिरामी ससुरालाई भेट्न भारतको मणिपुरबाट नेपाल आएका श्याम दियालीले यसपाली साह्रै दुःख पाए। ससुरालाई भेटिसकेर केही दिनदेखि उनी नेपाल घुम्दै थिए। त्यति नै बेला भारत सरकारले भारु ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएको समाचार सुने उनले। दियालीले नेपाल प्रवेश गर्ने बित्तिकै भारुलाई नेरु बनाइसकेका थिए। तर, मणिपुर फर्किनका लागि भनेर उनले केही भारु पनि च्यापेका थिए। ५ सय र हजारको नोट कारोबार नहुने सुनेपछि उनी केही उपाय निस्किन्छ कि भनेर भारतको पानीट्याङ्की पुगे। ‘साह्रै असुविधा भयो मलाई त, केही मिल्छ कि भनेर पानीट्याङ्की आएको,’ उनले भने- ‘यहाँ ज्वाईँ हुनुहुन्छ, उहाँको बैङ्क एकाउण्टमा डिपोजिट गरेर हुन्छ कि!’
भारत सरकारले भारतीय ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिवन्ध लगाएपछि यतिबेला दक्षिण एसियाली राष्ट्रहरुमा त्यसैको चर्चा छ। नेपालमा पनि भारतीय रुपैयाँ चलाउने थुप्रै छन्। केही दिनअघिसम्म नेपालमा भारु पैसा खर्च गर्न लोभ गर्नेहरु अहिले भारु सल्टाउन भारततिर दौडधुपमा व्यस्त छन्।
अरुबेला पाउन मुस्किल पर्ने भारु यतिबेला ‘खोस्टो’सरह बन्दैछ। भारु पैसा च्यापेर बसेकालाई त्यो पैसा काउछोजस्तै भएको छ। चोक, चिया पसल, सार्वजनिकस्थलमा सर्वसाधारण र व्यापारीबीच भारु नोट सटही हुने/नहुनेबारे चर्चा सुनिन्छ। भारतले भारु ५ सय र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्न सुरु भएको छ।
भारत सरकारले ५ सय र हजारका नोट ५० दिनभित्रमा बैङ्कमा जम्मा गर्न भनेको छ। भारतमा बैङ्क खाता हुने भारतीयलाई केही हदसम्म राहत मिलेपनि नेपालीलाई समस्या भएको हो। ‘यसले भारतको लागि चाहिँ फाइदै गर्छ,’ पानीट्याङ्कीमा मोटर पाटर्सको व्यवसाय गरिरहेका निशान्त थापा ‘सरकार’ भन्छन्- ‘नेपालमा चाहिँ धेरैलाई असर गर्छ, अझ काँकरभिट्टामा त बट्टा(भारु/नेपाली साट्दा लिइने नाफा) खाने चक्करमा कसैले २० लाख, कसैले ३० लाख रुपैयाँसम्म राखेका हुन्छन्, उनीहको पैसा ड्यामेज हुँदैछ, उनीहरुको सात्तो गइसक्यो।’
भ्याटमा दर्ता भएर सरकारलाई नियमित कर तिरिरहेकाले बैङ्कमा ५० लाख रुपैयाँसम्म जम्मा गर्न पाउने छन्। व्यवसायी थापाले भारत सरकारलाई ट्याक्स तिरिरहेका छन्। त्यसैले उनले आफ्नो बैङ्क खातामा ५० लाख रुपैयाँसम्म राख्न पाउँछन्। नेपालबाट उनलाई भेट्न जानेहरुको लर्को छ। ‘कसैले ५ लाख, कसैले १० लाख बोकेर मेरैमा ३०/३५ जना आइसक्नुभयो,’ थापाले भने, ‘४ महिनापछि दिँदा हुन्छ, मेरो पैसा राखिदिनुस् भन्दै आउँछन्, म एक्लैले कतिजनालाई मद्धत गर्न सक्छु र!’
नेपालीहरुको १०/१५ लाख रुपैयाँ उनले सल्टाइदिए। पानीट्याङ्की पुगेपछि कुनै नेपाली मूलको व्यापारीसँग सहयोग माग्न उनले नेपालीहरुलाई सुझाव दिएका छन्। उनले आफ्नो पसलमा मोटरसाइकल पार्ट्स किन्न आउनेसँग अझै पनि उनी हजार र ५ सयको नोट लिइरहेका छन्। ‘भारतीय मूलका नेपाली व्यापारी र मणिपुर/आसामबाट नेपाल गएर बसेकाहरुसँग भारतमा बैङ्क खाता छ, उनीहरुलाई केही समस्या छैन, आफूसँग भएको पैसा बैङ्कमा हाल्छन्,’ उनले भने।
तर, भारतका सबै व्यापारी थापाजस्ता मात्र हुँदैनन्। पानीट्याङ्कीमा ११ सयवटा दोकान छन्। तीमध्ये १२/१३ वटाले मात्र सरकारलाई कर तिर्ने गरेको थापाको दावी छ। त्यसकारण अधिकांश दोकानमा भारु ५ सय र हजारको नोट चल्नै छाडिसक्यो। झापा शान्तिनगर-१ बर्नेका राम राई पानीट्याङ्की बजारमा भेटिए। सस्तोको लोभमा उनी घरायसी सामान किन्न भारतीय बजार पुगेका हुन्। तर, उनले बोकेको भारु ५ सय र हजारको नोट व्यापारीले लिएनन्। उनले नेपाली रुपैयाँ नै तिरे। ‘नेरु पनि पहिले एक हजारको भारु ६ सयमा कारोबार हुन्थ्यो, अहिले ५५० मात्र हुन थाल्यो,’ उनले भने।
पानीट्याङ्की बजार नेपाली ग्राहकले चलेको छ। भारु पैसा चल्न छोडेपछि नेपाली ग्राहक कम जाने गरेपछि पानीट्याङ्की बजार सुनसान देखिन्छ। पानीट्याङ्कीका हार्डवेयर व्यापारी सुकसागर राउत भन्छन्- ‘पहिले नेपाली पैसा बोकेर सामान किन्न आउनेहरु अहिले त घरमा राखेको भारु लिएर आउन थाले।’
आफूले पुराना ग्राहकबाट मात्र ५ सय र हजारको नोट लिने गरेको राउतले बताए। भारु काण्डले व्यापार घटेको उनी सुनाउँछन्। झापा शनिअर्जुनका दिपक लिम्बू राउतकै पसलमा हार्डवेयर सामान किन्दै थिए। भारु पैसा खर्च गर्न मुस्किल परेको उनले सुनाए। सामान किनेरै उनले भारु पन्छाइसके।
झापा दमककी बिना घिमिरे पानीट्याङ्कीमा व्यापार गर्छिन्। उनको भारतमा पनि बैङ्क खाता छ। आफूसँग भएको भारु उनले बैङ्कमा हालिसकिन्। ‘नेपालबाट सामान किन्न आउनेहरुले आइसी मात्र बोकेर आउन थाले,’ उनी भन्छिन्, ‘हामीले त्यो पैसा लिएका छैनौँ, व्यापार ठप्प छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।