सोलुखुम्बु : जिल्लाको तीन गाउँपालिका जोड्ने दुधकोशी नदीमा बेलिब्रिज निर्माण हुने भएपछि यहाँका स्थानीय हर्षित भएका छन्। गत बुधबार पुस ५ को मन्त्रिस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङदूधकोशीको देउसा जोड्ने दुधकोसी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका स्थानीय खुसी भएका हुन्।
दुधकोशी नदीमा बेलिब्रिज निर्माण हुने पक्का भएपछि जिल्लाको कोसीपारीका गाउँपालिका सोताङ र महाकुलुङका स्थानीय हर्षित भएका छन्। कोसीपारिको साबिक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम, गुदेल रहेको उक्त क्षेत्रमा तीन वर्ष अगाडि नै सडक सञ्जाल पुगिसकेको छ।
सडक पुगेपछि गत वर्षदेखि ह्युमपाइप राखेर सडक सञ्चालन गरिरहेको भए पनि सहज नभएको गाडी चालक बलराम थापाको भनाइ छ। नदीमा १६ वटा ह्युम पाइप राखेर सडक सञ्चालन गरेको भए पनि बेलिब्रिज जस्तो सहज नहुने सवारी चालक थापाको भनाइ छ। पानी बग्ने सबै क्षेत्रमा ह्युम पाइप छैन। आधा पानीमै हिँड्नपर्ने हुँदा समस्या रहेको सवारीचालक मानबहादुर घतानीको भनाइ छ। तर अब चाँडै बेलिब्रिज बन्ने भएपछि सहज रूपमा यातायात सञ्चालन गर्न सकिने घतानीको भनाइ छ।
दूधकोसी नदीमा बेलिब्रिज निर्माण भएपछि जिल्ला सदरमुकाम, संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी विराटनगर आवतजावतको लागि सहजता हुनेछ। यस्तै त्यहाँका कृषि उपजसमेत बजारमा लैजान तथा बाह्य सामाग्री यस क्षेत्रमा ल्याउन थप सहज हुनेछ।
'ह्यमु पाइप पूरै खोलामा राख्न नसक्दा बाइकलाई निकै गाह्रो हुन्थ्यो तर अब बेलिब्रिज निर्माण भएपछि हामीलाई धेरै सहज हुन्छ।' स्थानीय नारायण बस्नेतले भने, 'बेलिब्रिज मात्र होइन पक्की पुल बनाउनको लागि चाँडै पहल गर्न आवश्यक छ।'
जनतामाझ गरेका वाचा पूरा गर्यौँ
कोसीपारिका नागरिकको मुख्य समस्याको रुपमा रहेको दूधकोसी नदीलाई मध्यनजर राख्दै प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा मुख्य एजेण्डा नै त्याहाँ बेलिब्रिज राखिने रहेको थियो। आफ्नो घोषणा पत्रमा नै तत्काल बेलिब्रिज राख्ने प्रतिबद्धता उल्लेख गरेर चुनाव जितेका प्रदेश तथा प्रतिनिधिसभाका सदस्यहरुले आफ्नो प्रतिबद्धता पूरा गर्न सफल भएको बताउन थालेका छन्।
अबको दुई महिनाभित्र बेलिब्रिज निर्माण गरिसक्ने गरी बुधबारको मन्त्रीस्तरीय बैठकले निर्णय गरेको छ। सोलुखुम्बु प्रदेश (क) का सांसद उत्तमकुमार बस्नेतले भने, 'जनप्रतिनिधिको तर्फबाट सबै काम सकिएको छ। अब कर्मचारीको रफ्तार कस्तो हुन्छ, त्यसैमा भरपर्छ, करिब हामीले गरेको वाचा पूरा गर्यौँ।'
यसअघि खोटाङ र ओखलढुंगा जोड्ने जयरामघाटमा राखिएको बेलिब्रिजलाई दिप्लीघाटमा प्रयोग गर्ने मन्त्रिस्तरीय निर्णय गरिएको छ। जयराम घाटमा पुल बनेपछि उक्त बेलिब्रिजलाई फिर्ता हुने सर्तमा भौतिक पूर्वाधार मन्त्रालयमार्फत सोलुखुम्बुको दिप्लीघाटमा प्रयोग गर्न गराउनको लागि सडक विभागलाई पत्रसमेत पठाइसकिएको छ।
जिल्लाको थुलुङदूधकोसी, सोताङ र महाकुलुङ, गाउँपालिकालाई जोड्ने दिप्ली घाटमा बेलिब्रिज निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयअनुसार सडक विभागलाई पत्र पठाइएको भौतिक पूर्वाधार विकास मन्त्रालयलले जनाएको छ।
प्रदेश सरकारले लगानी गर्ने
दूधकोसीको दिप्लीघाटमा निर्माण हुने बेलिब्रिजको लागि प्रदेश सरकारले लगानी गर्ने सोलुखुम्बु प्रदेशसभा (क) का सांसद उत्तमकुमार बस्नेतले बताए। 'यसअघि नै प्रदेश सरकारले रु.४६ लाख बजेट व्यवस्था गरिसकेको छ।' सांसद बस्नेतले भने, 'गाउँपालिकाले पनि लगानी गर्छौं भनेका छन्, सायद गाउँपालिकाले लगानी गर्नुनपर्ला हामी प्रदेशबाटै लगानी गराउने पक्षमा छौँ।'
बेलिब्रिज निर्माणका लागि सर्वे डिजाइनलगायत स्टामेट तथा टेण्डर प्रक्रिया भने बाँकी नै छ। तर, पनि तत्काल काम चलाउनका लागि नेपाल सरकारबाट दिक्तेलको जयरामघाटमा यसअघि प्रयोग गरिएको बेलिब्रिज पैँचोको रूपमा नेपाल सरकारले दिएको छ। सांसद बस्नेतले भने।
'पुस १२ गते नै केही सामग्री आउँछ अनि तत्काल निर्माण सुरु हुन्छ, जुन अस्थायी हुन्छ, त्यो चाहिँ हामीले नयाँ निर्माण गरेपछि सरकारलाई फिर्ता दिन्छौँ अनि अर्को नयाँ बनाउँछौँ, त्यो स्थायी हिउँद वर्षा कहिल्यै नझिक्ने गरी निर्माण गर्ने सोचमा छौँ।' सांसद बस्नेतले भने, 'पक्की पुल नबनुन्जेलसम्म कसरी हुन्छ बाह्रै महिना सीधा सडक सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।