'हजुरहरूकी मात्र हैन आजदेखि मेरी पनि छोरी भइन्, छोरी अन्माएँ भनेर पीर नमान्नु होला, मेरो घरमा अर्की छोरी भित्र्याउँदै छु' भन्दै सम्धीले मेरो दुवै हात समाउँदै सान्त्वना दिएको क्षण भर्खरझैँ लाग्छ। हरेक बाबुआमाले छोरी अन्माउँदा भोग्ने अनिवार्य पीडा लगभग उस्तै हुन्छन्। हरेक बेहुलीका बाबुआमा भक्कानिन्छन् र हरेक बेहुलाका बाबुआमाले यस्तै आश्वासन दिन्छन्। सायद त्यसबेला अरू शब्दले काम गर्दैनन्। शब्द भए पनि धेरै बोल्न अवरुद्ध गलाले र छचल्किएका आँखाले अनुमति दिँदैन। बिदा गर्ने र बिदा हुने चटारोमा अलमलिनुमै बेस मान्छन् सबै।
अहिले कल्पना गर्दा पनि मुटु चसक्क हुन्छ, त्यो दिन झल्झली आँखाअगाडि घुम्छ। त्यही ठाउँ, जहाँबाट हामीले आफ्नो काखकी छोरी थर, गोत्र सारेर मनमुटु बाँधेर अन्माएका थियाैँ। त्यो भावविह्वल वातावरण, त्यो क्षण अनि सम्धीको अनुहार र अभिव्यक्ति ताजै छ। हाम्रो समाजमा छोरी अन्माउने र ज्वाइँको घर पठाउने सामाजिक पारम्परिक निरन्तरता। चल्दै आइरहेको अटुट चलन। हामीले पनि त्यही प्रक्रियालाई निरन्तरता दिँदै हाम्री प्यारी छोरी अन्माएको चार वर्ष बितिसकेछ। तर, हाम्री छोरीलाई आफ्नी पनि छोरीको रूपमा भित्र्याउने हाम्रा सम्धी आज यो दुनियाँमा हुनुहुन्न। अपत्यारिलो र पीडादायी त्यो घटनाको ताजा स्मृति जब-जब आँखाअगाडि घुम्छ, सपनाझैँ लाग्छ। समय कति चाँडै बित्छ, पत्तै हुँदैन। तर, समयक्रममा घटेका कतिपय घटनाहरू भने कहिले मीठा र कहिले तीता अनुभूतिका साथ स्मृतिमा ताजै रहन्छन्। यो मेरो नितान्त निजी अनुभूति हो।
एउटा घरको छोरी, त्यही अर्को घरको बुहारी। छोरी अनि बुहारी शब्दमा फरक भएझैँ त्यतिकै उसको भूमिका, जिम्मेवारी कर्तव्यमा पनि फरकपन हुँदै जाने। भिन्न घर, भिन्न परिवेश, भिन्न नाता सम्बन्ध र परिवार। जसलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने उसको दायित्व। एउटा बारीमा हुर्किसकेको विरुवालाई उखेलेर अर्को बारीमा सारेजस्तै हुने रहेछ छोरीहरूको जीवन। गहिरो गरी खनेर जरैसँग उखेलेर सरक्क नयाँ ठाउँमा सार्दा पनि एकपटक त्यो विरुवाका सबै पातहरू पहेँलिएर झर्छन्। अनि बल्ल नयाँ पातहरू पाउलिँदै जान्छन्। जतिजति मलजल, गोडमेल र स्याहार हुन्छ त्यति नै त्यो विरुवा पनि झ्याम्मिदै-सप्रँदै जान्छ। र, फल्न फूल्न थाल्छ। सबै छोरीको जिन्दगी पनि त्यही विरुवाको रूप रहेछ, जसले चाहेर पनि सधैँ मालीको बगैँचामा हुर्कन नपाउने।
जसरी ठाउँ सारेको विरुवा सप्रेर फस्टाउन त्यहाँको हावापानी र वातावरणले फरक पर्छ, त्यसरी नै फरक पर्छ एउटी छोरीले बुहारी भएर नयाँ घरमा आफू फस्टाउन। सबै नयाँ नातासम्बन्ध, नयाँ चालचलन, नयाँ रहनसहन र भिन्न अपेक्षाहरू। बुहारी, भाउजू, देउरानी, जेठानी, काकी, माइजू... दर्जा अनुसारका भूमिका र कर्तव्यको पालना। अनि मात्र उसको आफ्नो भावना, चाहना, अनुभूति, खुसी र रहर। यसरी छोरीहरू पूर्णतः आफूलाई नयाँ परिवारमा समाहित भएर त्यो परिवारको सदस्यको रूपमा आफूलाई अनुभूति गर्न थाल्छन्। ठीक त्यसैगरी हाम्री छोरी पनि नयाँ बारीमा पाउलिएकी छ। विस्तारै वर्षहरू बितिरहेछन्। ऊ क्रमशः फस्टाउँदै छ आफ्नै घरआँगन, आफन्त र परिवारका माझमा।
अब त एक दिन छोरी हामीसँग आउँदा पनि उसको आफ्नो घरको खुसी, आफ्नै परिवारको माया, आफ्नै परिवारको चिन्तामा तल्लीन हुन्छे। बारीमा के रोप्ने? गमलामा कुन फूल सार्ने? आफ्नो पति, आफ्नै घरको हजुरबुबा हजुरआमा, ममी, बहिनी, भाइ, दिदीहरू, भिनाजुहरू... सञ्च/विसञ्च, कसलाई के मन पर्छ? के पर्दैन? आफूलाई सोचेर हैन अब ऊ परिवारका अरूलाई सोचेर योजना बुन्छे। प्राय: सबै उतैको कुरा। अब उसको खुसी र प्राथमिकता बदलिएको छ। त्यो हरहमेसा चटपटे छोरी, उसको उत्साह, आकांक्षा, उसका विशेष फर्माइसको मागफारम, उसका रहर, कहिलेकाहीँ घुर्की, कहिलेकाहीँ अल्छी अनि दंग्याउने अब क्रमशः स्मृतिमा थन्किँदै छन्।
३४ वर्षअघि मलाई मैतालु पठाउने अघिल्लो रात मेरी आमा अनर्सा बनाइरहनुभएको थियो। खुब जाँगर लगाएर नाङलामाथिको पोस्तदानामा अनर्सा थपार्दै मलाई पनि सिकाउँदै मेरी आमा भन्नुहुन्थ्यो 'छोरी यो अनर्सा जति गुलियो, मीठो र रसिलो हुन्छ तँ पनि तेरो घर परिवारका लागि त्यस्तै मिठी र रसिली हुनु है नानी! नयाँ घर, नयाँ परिवार र चालचलन। यहाँ जस्तो नहोला। सुरु सुरुमा तँलाई गाह्रो होला। सोचेजस्तो सजिलो पक्कै हुँदैन। टाढा पुग्दैछस्, न्यास्रो लागेर सम्झेको बेला आमासँग आउन सक्दिनस्। तँलाई जतिबेला गाह्रो हुन्छ, एकछिन आँखा चिम्लेर ध्यान गरेर मलाई सम्झनु र धैर्य गर्नु। तेरो आँखैअगाडि आमा देख्नेछस्। कहिल्यै नआत्तिनु, नडराउनु। सधैँ सारोगारो हुँदैन। धैर्य र बुद्धिले काम गरे सजिलो हुन्छ। म सधैँ तलाई सम्झिरहन्छु। यहीँबाट मनमनै मायाले आशीर्वाद दिइरहन्छु। तैँले कहिल्यै कसैलाई नराम्रो नगरी ढुक्क भएर आफ्नो काम गर्नू। जस्तोसुकै विपत्ति, अप्ठ्यारो र अँध्यारोमा पनि जीवनको बाटो देखाउने बत्ती शिक्षा नै हो। त्यसैले नपढी हुँदैन, पढ्न चाहिँ नछाड्नु है छोरी' भन्नु भएको थियो।
आज मेरी आमा भौतिक रूपमा यो दुनियाँमा हुनुहुन्न। तर, आमाका ती अभिव्यक्ति र भावनाहरू अहिले पनि मेरा कानमा गुञ्जिरहेका छन्। स्मृतिमा ताजै छन्। बेलाबेलामा लागिरहन्छ आमा यतै कतै गुन–गुनाइरहनुभएको छ। कतैबाट हेरिरहनुभएको छ। मेरी आमाले विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्न पाउनुभएको थिएन। तर, पनि आमा कति धेरै सचेत र दूरदर्शी हुनुहुन्थ्यो। उहाँसँग थियो त आफ्नै अनुभव र अनुभूतिको ज्ञान जसले सधैँ औँसीको अन्धकारलाई चिरेर प्रकाश छरिरहेको थियो।
म भर्खरै प्रवेशिका सकेर १६ वर्षे किशोरावस्थामा विवाह गरेर घर पठाउँदै गरेकी छोरीको पीर र चिन्ताले मेरी आमालाई कति चिथोरेको थियो होला? कति पिरोलिनुभयो होला। अहिले जस्तो हात हातमा फोन थिएन। छोरी के गर्दै छस् नानी? सञ्चै छस्? भन्न सक्ने अवस्था थिएन। आमाले सपना नराम्रो देख्दा पनि छोरीको चिन्ताले पिरोलिएर हालखबर सोधेर पठाएको चिठ्ठी झन्डै महिना दिनमा मेरो हातमा आइपुग्थ्यो। बल्ल हात लागेको त्यो चिठी पढेर त्यसपछि मैले भक्कानिँदै, आँसुले मसी लत्पताउँदै आमालाई लेखेको चिठी फेरि अर्को एक महिनामा आमाको हात पर्थ्यो। आफूले चिठी पठाएको पन्ध्र दिन बितेपछि मेरी आमा हरेक दिन छिनछिनमा आँगनमा निस्केर हुलाकीको बाटो हेर्नुहुन्थ्यो। त्यो एकपाना कागजमा हामी आमाछोरीको अपार माया पोखिएको हुन्थ्यो। जसले मलाई हरेक असहजता र विपत्तिको सामना गर्दै अगाडि बढ्ने प्रेरणा र ऊर्जा दिइरहन्थ्यो।
म पनि त्यस्तै चाहन्छु, सधैँ मेरी आमा जस्तै। मेरी छोरी पनि त्यही अनर्सा जस्तै गुलियो र रसिली भइदेओस्। उसको घरपरिवारका लागि। आशा लाग्छ, परिवारका सबै उसँग खुसी भइदिए उसले पनि त्यो घरको माया पाउली, हौसला पाउली र हाम्री छोरी पनि खुसी होली भनेर। हरेक आमा पक्कै यस्तै चाहन्छन्। अधिकार त खोजेर, मागेर र लडेर पनि मिल्न सक्छ तर माया र खुसी त्यसरी मिल्दैन। जुन पैसाले पनि किन्न पाइन्न। परिवारमा मिल्नु, एकअर्कालाई आदर सम्मान गर्नु, माया गर्नु, यथासम्भव सबैलाई खुसी पार्नु र आफू पनि खुसी हुनु भनेको नराम्रो होइन। अरूको भावनामा ठेस नपुर्याउनु भनेको अन्याय सहनु या दासता र दमनलाई स्विकार्नु पनि हैन। बरु भावनात्मक खुसी र आत्मबलको कुरा हो। एक आपसी माया र सम्मानको कुरा हो।
ऐनामा जस्तो अनुहार हेर्यो त्यस्तै देखिन्छ भनेझैँ छोरीले पनि राम्रो व्यवहार गर्दा उसले पनि त्यो परिवारबाट त्यस्तै माया, आत्मसम्मान, सहयोग र प्रेरणा पाउँछे भन्ने एउटी आमाको आशा र विश्वास हो। छोरीको विवाह भएपश्चात् उसका दुईवटा घर, दुई परिवार हुन्छन्। जन्म घर र कर्म घर। एउटा घरको वातावरण धमिलियो भने अर्को घर पनि धमिलिन्छ। जबसम्म छोरीको विवाह भएको घर परिवारबाट सकारात्मक दृष्टिकोण, माया, सहयोग, प्रेरणा प्राप्त हुँदैन त्यतिवेलासम्म जति पढेलेखे पनि, सक्षम भए पनि उसको जीवन अगाडि बढाउन सहज हुँदैन। उसलाई सधैँ हजारौँ चुनौतीका पहाडहरूले छेकिरहन्छन्। असहजताका तगाराहरू तेर्सिइरहन्छन्। तर, जब त्यही परिवारको माया, साथ र सहयोग प्राप्त हुन्छ, सबै असहजलाई सहज बनाइदिन्छ। र, पत्नीको सफलता, बुहारीको सफलता र भाउजूको सफलतामा सबै खुसी हुने परिस्थितिको निर्माण हुन्छ। त्यसैले, म पनि मेरी छोरीका लागि सधैँ त्यही चाहना राख्छु। त्यही कामना गर्छु मेरी आमा जस्तै। अनि लाग्छ हरेक बाबुआमाले छोरी अन्माएपछि मन कटक्क पार्छन्। यही कामना गर्छन् त्यसपछि उसको खुसीमा उसलाई अन्माउँदाको पीडा बिर्सिन्छन् र मुसुक्क मुस्कुराउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।