स्थानीय सरकारले ल्यायो गाउँमै गाडी
स्थानीय सरकारले ल्यायो गाउँमै गाडी
सोलुखुम्बु : जिल्लाको अति विकट गाउँको रुपमा परिचित वाकु गाउँ, जहाँ बंगलादेशको टापुभन्दा कुनै फरक छैन। उत्तरमा मेरपिक हिमाल, पूर्व दक्षिणमा मेरापिक हिमाल हुँदै बग्ने इङ्खु खोला, पश्चिम उत्तरमा पाङ्गोम हुँदै बग्ने ठाने खोला, पश्चिमतर्फ खुम्बु हुँदै बग्ने दूधकोशी खोला रहेको छ। दुधकोशी र इङ्खु खोला संगमस्थल माप्यदुधकोशी गाउँपालिका ६ र ७ को सिमानामा साबिक वाकु गाविस रहेको छ।
भौगोलिक हिसाबले यहाँका नागरिकलाई तत्कालीन अवस्थामा गाविसको सेवा लिनको लागि एक दिनको पैदल हिँड्नुपर्ने बाध्यता थियो भने जिल्ला आएर सेवा लिनको त कुरै नगरौँ। सदरमुकामसम्म आउनको लागि दुई दिनको पैदल हिँड्नुपर्ने वाकुवासीको बाध्यता जनप्रतिनिधि आएसँगै कम हुन थालेको छ। पछिल्लो समय त्याहाँका नागरिकले केही राहतको महसुस गर्न थालेको बताउँछन्।
यस गाउँमा खानेपानीको मुहान नहुँदा पानीकै लागि घण्टौँ हिँडेर बोकेको अनुभव ताजै सुनाउने वाकुवासीले बिजुलीको त के सडकको त कल्पना समेत गर्न सकेका थिएनन्। सडक आउनको लागि सबैतिर खोला संगै भौगोलिक विकट्ता भएकाले पनि यहाँका सर्वसाधरणदेखि समाजसेवी समेतले सपना नदेखेको बताउँछन्।
विकासको पहिलो मेरुदण्ड सडक
थुलुङ दुधकोशीको देउसा र वाकु जोड्ने दुधकोशी नदीमा ह्युम पाइप राखेर सडक सञ्चालन गरिएको छ। गत वर्ष नै वाकुमा सडक खनिएको थियो। गाउँपालिकाको रु.२५ लाखले दूधकोशीमा ह्युम पाइप राखेर सिधा सवारी सञ्चालन गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश कुमार राईले जानकारी दिए। वडा अध्यक्ष राईले भने, 'विकासको पहिलो मेरुदण्ड सडक भएकाले हामीले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्यौँ।'
स्थानीय सरकारले ल्यायो गाउँमै गाडी
वाकु गाउँमा अहिले जिप, ट्याक्टरसमेत निर्वादरुपमा सञ्चालन भइरहेको छ। 'घरैबाट गाडी चड्न पाइन्छ भन्ने सोचेको थिएन, तर अहिले घर नजिकैबाट गाडी चढ्न पाएका छौँ।' समाजसेवी स्थानीय मीनबहादुर कार्कीले भने, 'हाम्रो कल्पनाभन्दा बढी विकास भयो, यो स्थानीय सरकारको देन हो।'
स्थानीय सरकार आएपछि दिनप्रतिदिन हरेक क्षेत्रमा सहजताको महसुस भएको नागरिकको भनाइ छ। गाउँ-गाउँमा सिंहदरबारको नारा लिएर आएको स्थानीय सरकारले जनतालाई सहज हुने कार्य संञ्चालन गरेसँगै स्थानीय दंग छन्।
वाकुका जनताले गाउँमा नै सिंहदरबार आएको महसुस भएको बताउँछन्। दुर्गम भएकै कारण नाति पनातिको पालामा गाडी देख्न सकिन्छ कि भन्ने सोचेका स्थानीय टीकाराम राई भन्छन्, 'आँखाअगाडि गाडी कुद्न थाल्यो, हामी आफैँले चढ्न पायौँ, जनप्रतिनिधिले साच्चै काम गरेका छन्।'
भौगोलिक विकट्ता भए पनि आशाभन्दा बढी स्थानीय सरकारले काम गरेपछि वाकुवासीले खुलेर जनप्रतिधिको प्रशंसा गर्छन्। 'स्थानीय सरकाले उत्कृष्ट काम गरिरहेको छ।' स्थानीय बिबा माया राईले भनिन्, 'बिरामीलाई अस्पताल लैजान गाउँभरीको मान्छे जम्मा भएर दुई दिन बोक्नुपर्ने बाध्यता अब हटेको छ।'
फेरियो जीवनशैली
अहिले गाउँमा भएको विकास निर्माणलाई देखेर सबै दंग परेका छन्। दैनिक जीवनयापनको लागि आवश्यक नुत, तेल, चिया, चिनी, चामल, फलामलगायत लिन सात दिनको यात्रापश्चात् दोलखाको जिरी, १० दिनको पैदल यात्रापछि उदयपुरको कटारी पुगेको अनुभव संगालेका अगम राई अहिले घरगाउँमै सहजै पाउन सकिने बताउँछन्। राई भन्छन्, 'रु.२२ सय पर्ने मनसुली चामल रु.१७ सयमा पाउन थालियो यहाँभन्दा सुबीधा के खोज्नु?'
विभिन्न स्थानीय तहका जनप्रतिनिधिको विरोध भएको सुनेका राईले भने, 'यहाँ विरोध होइन, प्रशंसा नै प्रशंसा गर्ने आधारहरु छन्, कसैले राजनीतिक हिसाबले विरोध गरे पनि हामी जनता सन्तुष्ट छौँ।' राईले भने, 'म मात्र होइन यहाँका सबै नै खुसी हुनुहुन्छ, होइन भने अरूलाई पनि सोध्नु।'
'हामीलाई रेल, पानीजहाज कुदेको होइन हाम्रो आधारभूत आवश्यकताको खाँचो छ।' स्थानीय रामिला राईले भनिन्, 'स्थानीय सरकार पाएको महसुस भएको छ।' वाकुमा रहेको खानेपानी समस्या समाधान गर्न ठानेखोला मुहान हुँदै करोडौँको योजना सञ्चालन भइरहेको माप्यदूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए। राईले भने, 'यस अघि पनि खानेपानीले सञ्चालन गरेको योजनाले केही काम भइसकेको छ, त्यसलाई पूरा गर्न हामी प्रतिबद्ध भएर लागिपरेका छौँ।' गाउँपालिका बासीको मर्म र भावनाअनुसार आवश्यकतालाई ध्यानमा राखेर काम गरिरहेको अध्यक्ष राईको दाबी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।