|

घ्याल्चोक (गोरखा) : बिहीबार बिहान १० बजेदेखि नै गोरखाको घ्याल्चोक गाविस सिउरेनीटारमा बुढीगण्डकी डुबान क्षेत्रका बासिन्दा भेला हुँदै थिए। बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्दा डुबानमा पर्ने १४ गाविसबाट सर्वसाधारणहरु बस, ट्रक चढेर बुढीगण्डकी आयोजना विकास समितिको कार्यालय बाहिर एकत्रित भए।

गएको शनिबार जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मुआब्जामा चित्त नबुझाएका डुबान क्षेत्रका बासिन्दाको तर्फबाट बिहीबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले विरोध कार्यक्रम राखेको थियो। एकपछि अर्को गर्दै गाउँगाउँबाट आएको गाडीमा सयौंको संख्यामा डुबान क्षेत्रका वासिन्दा विरोध कार्यक्रममा सहभागी भए।

उनीहरुले जनतालाई सुकुम्बासी बनाउन पाइँदैन, ५ लाख मुआब्जा चाहिँदैन, राजनीतिक दल सहयोग गर, पुनर्बासको ग्यारेन्टी गर जस्ता नारा लगाएका थिए। नाराबाजी पछि बुढीगण्डकी विकास समितिको कार्यालय बाहिर गरिएको सभामा डुबान क्षेत्रभित्रका गोरखा र धादिङका केही बासिन्दा र जिल्लास्तरीय राजनीतिक दलका नेताले भाषण गरे।

सभा सकिएपछि दिउँसो ३ बजे डुबान क्षेत्रका बासिन्दा बुढीगण्डकी विकास समितिको कार्यालयमा तालाबन्दी गर्न कार्यालयभित्रै प्रवेश गरे। तालाबन्दी गर्ने पूर्व निर्धारित कार्यक्रम भएकाले गोरखा सदरमुकामबाट डिएसपी वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको ठूलो टोली बुढीगण्डकी कार्यालयभित्र राखिएको थियो। सशस्त्र प्रहरी पनि उत्तिकै थिए। तर आन्दोलनकारीको समूह भित्र पसेपछि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे पर्‍यो। डुबान क्षेत्रका बासिन्दाले तालाबन्दी गर्ने क्रममा करिब २० मिनेट झडप र धकेलाधकेलको स्थिति भएपछि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेर भीड तितरबिततर पारेको थियो। त्यस क्रममा प्रहरीले करिब २० सेल अश्रुग्यास हानेको थियो।

९ जना पक्राउ ३ जना घाइते  

कार्यालयमा तालाबन्दी गर्न गएका डुबान क्षेत्रका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। मुआब्जा वृद्धि, समिय सापेक्ष रुपमा जग्गाको वर्गीकरण र पुनर्बासको ग्यारेन्टीको माग राखेर आन्दोलनरत डुबान क्षेत्र गोरखा र धादिङका वासिन्दाले बिहीबार कार्यालयमा तालाबन्दी गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखा आरुआर्बाङ ९ का विकास दाहाल, बोर्लाङका नवराज ढकाल र राजन कुमाल, नाम्जुङका सुनिल माझी र दीपेन्द्र पोखरेल, आरुचनौटेका ज्ञानबहादुर गुरुङ, दर्बुङका हरि आले, धादिङ खरीका कृष्ण काप्री र दीपेन्द्रप्रसाद पाण्डे रहेका प्रहरीले जानकारी दिएको छ।

बुढीगण्डकी विकास समितिको कार्यालय तोडफोड गरेकाले उनीहरुलाई पक्राउ गरिएको गोरखाका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले जानकारी दिए। ‘कार्यालय तोडफोड गरेकाले उनीहरुलाई पक्राउ गरेका हौं’ उनले भने ‘अब मुद्दा लगाउछौं।‘

प्रहरीले अश्रुग्यास हानेपछि प्रदर्शनकारीले ढुंगाले हानेर बुढीगण्डकी विकास समितिको कार्यालयका झ्यालको सीसा फुटाइदिएका छन्। प्रहरीसँगको धकेलाधकेलमा कार्यालयको प्रिफ्याब घरको ढोका र गाह्रो पनि भत्किएको छ।

कार्यालय तालाबन्दी गर्ने क्रममा प्रहरीसँग भएको झडपमा तीन जना घाइते भएका छन्। गोरखा तान्द्राङ गाविसका बलराम पाण्डे, फुजेलका मेगनाथ न्यौपाने र धादिङ मैदीका महाप्रसाद लामिछाने घाइते भएका हुन्। टाउको र शरीरको विभिन्न ठाउँमा समान्य चोट लागेका उनीहरुको धादिङ बेनिघाटको एक मेडिकलमा उपचार गरिएको थियो।

'हामी आयोजना विरोधी होइनौं'

बुढीगण्डकी डुबान क्षेत्रका वासिन्दाले मुआब्जा चलनचल्तीको मूल्य अनुसार पनि नभएको भन्दै पुनरावलोकनको माग गरेका छन्। उनीहरुले यसअघि बुढीगण्डकी विकास समितिले कार्यालय प्रयोजनका लागि खरिद गरेको जग्गाको मुआब्जा प्रति रोपनी ७ लाख ९५ हजार दिएकाले डुबान क्षेत्रका सबै जग्गाको न्युनतम दर त्यसैलाई बनाउनुपर्ने माग गरेका छन्। ‘जनताले जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले दमन गरेर उल्टै हामीलाई आयोजना विरोधी बनाउन खोजिरहेको छ’ बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले भने ‘जनतालाई उचित मुआब्जा नदिएर आन्दोलनमा उत्रन बाध्य पार्नेहरु नै आयोजनाका खास विरोधी हुन्।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • kuro thaki thaki ho gasto lagx6 . thamstintanran gardha naya sirgana ma badi lagat hunx6.