|

संखुवासभा: जिल्लाको प्रमुख नगदे बालीको रुपमा रहेको अलैंचीको मूल्य घटेपछि चिन्तित संखुवासभाका किसानहरू नयाँ प्रविधिको जानकारी लिन लमजुङ पुगेका छन्। कृषकले लमजुङको बेसीशहर नगरपालिका १० खाचेंका अलैंची बगानमा प्रयोग गरिएको प्रविधिको जानकारी लिएका हुन्। 

नयाँ प्रविधि खेती  र आधुनिक भट्टीको प्रयोगले अलैचीको गुणस्तर राम्रो भएकाले विभिन्न देशले समेत माग गर्न गरेको नेपाल अलैंची व्यवसायी महासंघका लमजुङका  अध्यक्ष अजय तामाङले बताए। केही बर्ष अघि अलैंचीले राम्रो आम्दानी गर्दै आएको भएपनि अहिले मूल्य नपाउदाँ गोदाममै थन्काउनु परेको कृषक छत्रमणि काफ्लेले बताए।

 कृषक छत्रमणिले भने 'हाम्रो जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा गुणस्तरिय अलैंची उत्पादन नभएकै कारणले विक्री हुन छाडेको र नयाँ प्रविधि सिक्न लमजुङ जानु परेको हो'। अलैची अवलोकन गर्न संखुवासभाका १० वटै स्थानिय तहका ३० जना कृषक लमजुङ पगेका हुन्। कृषकहरुको समुहले अलैंची बारीको स्थलगत अवलोकन गरेर त्यसको विषयमा लमजुङका कृषक संग जानकारी लिएको कृषक पासाङ शर्पाले जानकारी दिए।

अलैंची खेतीको प्रचलित प्रजातिको चिनारी, प्रसारण विधि, नर्सरी व्यवस्थापन, विरुवा रोपण, स्याहार, रोग किरा नियन्त्रण, उत्पादन , आधुनिक भट्टी र बजारीकरण लगायतका विषयमा किसानलाई जानकारी गराइएको हो। 

ताप्लेजुङ पछि सबैभन्दा बढी अलैंची उत्पादन संखुवासभामा भए पनि गुणात्मक हिसाबले पछि परेको मकालु अलैंची जोन संखुवासभाका अध्यक्ष सुमन श्रेष्ठको भनाइ छ। गुणस्तरिय अलैंची उत्पादन र बजारीकरणको बारेमा जानकारी लिने उदेश्यले लमजुङमा भ्रमण गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन्।

पछिल्लो समय अलैंचीको उत्पादन बढेपनि मुल्यमा उतारचढाव आएसँगैै किसनाहरु चिन्तीत बनेका छन्। अलैंचीको बारेमा विभिन्न जानकारी लिएकाले आगामी दिनमा संखुवासभालाई व्यवसायिक रुपमा अलैंची उत्पादन गर्न ठूलो सहयोग मिल्ने उनको भनाइ छ। अलैंचीका विषयमा पूर्णरुपमा जानकारी पाएपछि कृषकहरु खुशी भएको मकालु अलैंची जोन संखुवासभाका अध्यक्ष श्रेष्ठ जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.