संखुवासभा : किमाथांका सीमा भन्सार कार्यालयले १७ वर्षदेखि सदरमुकाम खाँदबारी मै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन। किमाथांका सीमा भन्सारकाे कामका लागि ६ दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनु परेकाे छ।
भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो। आर्थिक वर्ष २०७४/०७५ मा १० लाख ५० हजार रूपैयाँ राजस्व संकलन भएको किमाथांका सीमा भन्सार कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको ६ महिना ८ लाख १० हजार रुपैयाँ राजस्व मात्र जम्मा भएको किमाथांका सीमा भन्सार कार्यालयका प्रमुख परासर दाहालले बताए।
किमाथांका नाकाबाट पशु चौपाया, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटी लगायत सामान आयात निर्यात हुने गरेको छ। किमाथांका सीमा भन्सार नाकामा ८० प्रतिशत भन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको सीमा भन्सार कार्यालयले जनाएको छ। किमाथांका विकट र दुर्गम स्थान भएकाले सदरमुकाम खाँदबारी भन्दा छिमेकी देशको भर पर्नु परेको छ।
तिव्बतबाट ल्याएको चौरी पुच्छर सीमामा राखेर भन्सार तिर्न हप्ता दिन लगाएर खाँदबारी आउनु परेको भोटखोला गाउँपालिकाका २ का सोप्पा भोटले बताए। उनले भने भन्सार कार्यालय सदरमुकाममा भएकाले ३ हजार २५४ रुपैयाँ आयात भन्सार शुल्क तिर्न आउँदा १५ हजार खर्च भएको बताए। उनले भने थपे हामी निम्न आय भएकाले व्यापरीलाई सामान्य व्यापार गर्न पनि धेरै दुख पाउनु परेको बताए। तिब्बतबाट आयात गरेका चौरी पुच्छर तराईका जिल्ला सुनसरी, मोरङ र झापाका बजारमा लगेर बिक्री गर्ने बताए।
भन्सार कार्यालयले आवत-जावत गर्न १ हप्ताको प्रज्ञापन पत्र दिने गरेको छ। उक्त पत्रमा उल्लेख भएको विवरण जिल्ला प्रहरीले किमाथांका सीमा प्रहरी कार्यालयलाई जानकारी गराएपछि सीमा प्रहरीले सामग्री आयत तथा निर्यात गर्न दिने गरेको भोटखोला ३ का छिरिङ भोटेले जानकारी दिए। राजस्व जिल्लामा बुझाए पनि प्रज्ञापनपत्र सीमामा नै दिने व्यवस्था मिलाएर आयत तथा निर्यात हुने सामग्रीको अनुगमन गरिनु पर्ने उनले माग गरे।
भोटखोला गाउँपालिकाका किमाथांका, चेपुवा, हटिया, च्याताङ, चेपुवा, रिदाक, थुदाम लगायत हजारौं घर परिवारले किमाथांका नाकाको भर पर्नु पर्ने बाध्यता छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।