|

बुटवल : बुटवल बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक डा. सूर्यबहादुर जिसी हरेक दिन बिहान क्याम्पस जान्छन्, हाजिर गर्छन् र घर फर्कन्छन्। तर,पढाउने चाहना हुँदाहुँदै पनि उनले अहिले पढाउन पाएका छैनन्। यसको एउटै कारण हो–उनको विषयका विद्यार्थी नहुनु। 

क्याम्पसमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थी नभएपछि उनले चाहेर पनि अध्यापन गर्न पाएका छैनन्। ५ वर्षदेखि इतिहास पढ्ने विद्यार्थीको सङ्ख्या शून्यसरह भएपछि उनको क्याम्पसमा दिनचर्या यसरी नै बितेको छ। जिसीमात्र होइन प्रदेश ५ मा रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा इतिहास, भूगोल र संस्कृति विषयमा प्राध्यापनरत अधिकांश प्राध्यापक तथा शिक्षकहरूले विगत ४/५ वर्षदेखि यस्तै दिनचर्या बिताइरहेका छन्। ‘स्नातक तहमा इतिहासमा २ जनामात्र विद्यार्थी छन्। अचेल त उनीहरू पनि आउन छाडे,’ प्राडा जिसी भन्छन्, ‘चाहेर पनि पढाउन नपाउँदा हीनता बोध भइरहेको छ।’  

भैरहवा बहुमुखी क्याम्पसमा इतिहास विषयका सह–प्राध्यापक गणेश पाण्डेको समस्या पनि उही हो। क्याम्पसले इतिहास र संस्कृति विषयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएकाले शैक्षिक सत्र २०७४/७५ देखि यी तीन विषयहरूमा विद्यार्थी भर्ना नलिने निर्णय गरेको थियो। निर्णयपश्चात् सहायक क्याम्पस प्रमुखसमेत रहेका इतिहासका सह–प्राध्यापक पाण्डेले पढाउन पाएका छैनन्। 

रुपन्देही, पाल्पा, दाङ र बाँकेलगायतका जिल्लामा रहेका त्रिविका आंगिक क्याम्पसहरूमा इतिहास, संस्कृति र भूगोल विषय प्राध्यापनरत ३१ जना प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापक तथा शिक्षक सहायकहरू रहेका छन्। तीमध्ये अधिकांश कामविहीन छन् भने अन्य कामविहीन हुन लागेको बताउँछन्। यी विषयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ज्यामितीय हिसाबले ओरालो लागेको छ। विद्यार्थी नभएपछि प्राध्यापकहरूलाई क्याम्पसमा समय कटाउन पनि धौँधौँ परिरहेको छ।

       
 
‘केन्द्रीय प्रशासनलाई विद्यार्थीको अभाव र प्राध्यापकहरूको कामविहीनताको बारेमा ज्ञान छ,’क्याम्पस प्रमुख शशिशरण सुवेदी भन्छन् ‘तर,त्यससम्बन्धी बलियो कार्ययोजना बनाउन सकेको छैन।’ 

पाँच वर्ष अगाडि त्रिविको केन्द्रीय प्रशासनले विद्यार्थीको अभावका कारण प्राध्यापक तथा शिक्षकहरू कामविहीन हुने अवस्था आइपुगेमा उनीहरूलाई विषयका आधारमा अन्य संकायमा समायोजन गर्न सकिने नीति ल्याएको थियो। तर, प्रभावकारी कार्ययोजना र राजनीतिक झमेलामा परी यो नीति प्रभावकारी हुन नसकेको भैरहवा बहुमुखी क्याम्पसका संस्कृति विषयका पूर्वप्राध्यापक प्रा.डा.गितु गिरी बताउँछन्। ‘त्रिविले ल्याएको नीति राजनीतिक भागवण्डाका कारण अलपत्र परेको हो।’ प्रा.डा.गिरीले भने। 

बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शशिशरण सुवेदीले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्रशासन कार्यालयको गैरजिम्वेवारीका कारण प्राध्यापकहरू कामविहीन भएको बताउँछन्। आंगिक क्याम्पसहरूले बर्सेनि विद्यार्थी सङ्ख्यासहितका प्रतिवेदनहरू त्रिविको केन्द्रीय प्रशासनमा पठाएपनि प्रशासनले त्यसलाई अध्ययन गरी समस्या निराकरणमा बलियो कार्य योजना ल्याउन नसकेको उनको भनाइ छ। ‘केन्द्रीय प्रशासनलाई विद्यार्थीको अभाव र प्राध्यापकहरूको कामविहीनताको बारेमा ज्ञान छ,’क्याम्पस प्रमुख सुवेदी भन्छन् ‘तर,त्यससम्बन्धी बलियो कार्ययोजना बनाउन सकेको छैन।’ 

कामविहीन भए पनि प्राध्यापक तथा शिक्षकहरूले तलब सुविधा भने पाइरहेका छन्। आंगिक क्याम्पसहरूमा प्राध्यापक, उप–प्राध्यापक र सह–प्राध्यापहको तलब सुविधाको व्यवस्थापन त्रिविको केन्द्रीय प्रशासनले गर्छ। हाल प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापक र शिक्षक सहायकले क्रमशः सचिव, सह–सचिव, उप–सचिव र अधिकृत स्तरको तलब सुविधा पाएका छन्। 

ध्यापकहरूको दरबन्दी मिलान वा कटौती गर्ने अधिकार आंगिक क्याम्पसलाई छैन। महेन्द्र बहुमुखी क्याम्पस, दाङका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले न्यून विद्यार्थी भएका विषयहरू खारेज गरेर प्राध्यापक तथा शिक्षकहरूको तलब रोक्का गर्ने अधिकार आफूहरूसँग नभएको बताए। ‘यो समस्यामा केन्द्रीय प्रशासनले नै ध्या दिनु पर्छ,’सहायक क्याम्पस प्रमुख रिजाल भन्छन्,‘हामीले त प्राध्यापक तथा शिक्षकहरूको तलबसमेत रोक्न मिल्दैन।’ 

हाल बुटवल बहुमुखी क्याम्पस, रुपन्देहीमा इतिहास विषयमा १ प्राध्यापकसहित १ सह–प्राध्यापक रहेका छन् भने २ उप–प्राध्यापक रहेका छन्। त्यस्तै संस्कृति विषयमा १ उप–प्राध्यापकसहित १ शिक्षक सहायक रहेका छन्। भूगोल विषयमा ३ प्राध्यापकसहित २ उप–प्राध्यापक र १ शिक्षक सहायक छन्। 

भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीमा इतिहास विषयमा १ जना उप–प्राध्यापक रहेका छन्। भूगोल र संस्कृति विषयमा अघिल्लो शैक्षिक सत्रसम्म केही प्राध्यापक तथा शिक्षकहरू रहेपनि उनीहरूको स्थानान्तरण वा निवृत्त भइसकेकाले हाल एक जना पनि प्राध्यापक तथा शिक्षकहरू नरहेको क्याम्पस प्रमुख अनिलकुमार झाले बताए। 

त्यस्तै त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा संस्कृतिमा १ जना प्राध्यापक छन्। त्यस्तै भूगोल विषयमा २ जना प्राध्यापक र इतिहास विषयमा १ जना शिक्षक सहायक रहेको क्याम्पस प्रमुख जीवन थापाले जानकारी दिए। 

महेन्द्र बहुमुखी क्याम्पस, दाङमा भूगोल विषयमा १ जना प्राध्यापक र एक सह–प्राध्यापक रहेका छन्। त्यस्तै संस्कृति विषयमा २ सह–प्राध्यापकसहित १ उप–प्राध्यापक तथा १ शिक्षक सहायक रहेका छन्। सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले क्याम्पसमा इतिहास विषयको अध्यापन नहुने जानकारी दिए।  

त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस, बाँकेमा स्नातक तहअन्तर्गतको भूगोल विषयमा ५ जना प्राध्यापक र १ जना शिक्षक सहायक रहेका छन्। इतिहासमा १ जना उप–प्राध्यापक रहेका छन् भने संस्कृतिमा १ जना प्राध्यापकले प्राध्यापन गरिरहेका छन्।  

ज्यामितीय हिसाबमा घट्दै छन् विद्यार्थी 

भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीमा चालू शैक्षिक सत्रमा स्नातक तहअन्तर्गत इतिहास र संस्कृतिमा भर्ना हुने विद्यार्थीको सङ्ख्या शून्य छ। भूगोल विषयको अध्यापन हुन छाडेको ४ वर्ष भएको छ।  

क्याम्पस परीक्षा शाखाकी सीता श्रेष्ठले विगत ३ वर्ष यता निकै न्यून मात्रामा विद्यार्थी भर्ना हुन आएकाले प्रशासनको आदेशमा गत शैक्षिक सत्रदेखि इतिहास र संस्कृति विषयमा  विद्यार्थीहरूको भर्ना नलिएको बताइन्। 

त्यस्तै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्नातक तहको दोस्रो र तेस्रो तहमा इतिहास विषयमा विद्यार्थी सङ्ख्या शून्य रहेको छ। प्रथम वर्षमा विद्यार्थी भर्ना नसकिएको भए पनि २ जनाभनदा धेरै विद्यार्थी भर्ना हुन नआउने क्याम्पस प्रमुख  जीवन थापा बताउँछन्। 

यी क्याम्पसमा मात्र होइन प्रदेश ५ का रुपन्देही, पाल्पा, दाङ, बाँकेलगायतका जिल्लामा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ५ वटा आंगिक क्याम्पसहरूमा शैक्षिक सत्र २०७४/७५ स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको इतिहास विषयमा मात्र ८ जना विद्यार्थी भर्ना भएका थिए। त्यस्तै संस्कृतिमा ४० जना तथा भूगोलमा ५५ जना विद्यार्थी भर्ना भएका थिए। चालु शैक्षिक सत्रमा यो सङ्ख्यामा धेरै ह्रास आएको प्रध्यापकहरू बताउँछन्। भर्ना कार्यक्रम नसकिएकाले चालु आर्थिक वर्षको यकिन तथ्याङ्क भने आउन सकेको छैन। 

सरकारले व्यवसायीकरण गर्न सकेनः प्राध्यापकहरू  

भैरहवा बहुमुखी क्याम्पसमा संस्कृति विषयका पूर्व–प्राध्यापक डा. गितु गिरीले प्राविधिक धारका विषयहरूका कारण इतिहास र संस्कृति जस्ता विषय ओझेलमा पर्न गएको बताउँछन्। स्वीकृति जस्ता विषयलाई सरकारले व्यवसायीकरण गर्न चुकेका कारण यी विषयप्रति विद्यार्थीको वितृष्णा जागेको उनको भनाइ छ। 

सामाजिक शिक्षाकारुपमा राखे पनि विषयगत रूपमा इतिहास, संस्कृति, भूगोल तथा राजनीति शास्त्रलाई पाठ्यक्रममा समावेश गर्न नसक्दा विद्यार्थीहरूको रुचि अन्य विषयतिर नै केन्द्रित हुने गरेको उनको भनाइ छ। प्रोफेसर जिसी भन्छन्, ‘विषयगतरुपमा प्लस टुको पाठ्यक्रममा पनि छैनन्, यी विषयहरू, स्नातक तहमा विद्यार्थी कम हुनु त्यो एउटा प्रमुख कारण हो।’

 

 

संस्कृतिमा विद्यावारिधिसमेत गरेका प्राडा गिरी भन्छन्, ‘इतिहास, संस्कृति, भूगोल तथा राजनीति शास्त्र जस्ता विषयमा विद्यार्थी टिकाइ राख्न यी विषयलाई व्यवसायीक बनाइएको छैन। त्यसैले विद्यार्थीहरू अन्य धारका विषयमा पलायन हुँदैछन्।’  

पाठ्यक्रमको समयानुसार विकास नगरी पुरातनवादी सैद्धान्तिक पाठ्यक्रममै आधारित प्राध्यापन हुने भएकाले इतिहासमा विद्यार्थीहरू घटेको इतिहासविद् निर्मल श्रेष्ठ बताउँछन्।  

इतिहासको सिकाइ सैद्धान्तिक मात्र नभई अनुसन्धानात्मक हुनुपर्ने बताउँदै उनी  त्यसमा सरकारको लगानी नभएका कारण विद्यार्थीहरूमा पढ्ने चेष्टा हराएको बताउँछन्। 

‘विद्याथीहरूलाई रुचि जाग्ने पाठ्यक्रम भयो र त्यससँगै अवसरहरू पनि जोडिएर आए भने विद्यार्थीहरू कम हुने कुरै आउँदैन,’श्रेष्ठ भन्छन्, ‘इतिहास पढेपछि अब आफू कसरी पालिने भन्ने कुराको चिन्ता पनि त हुनु भएन नि।’ 

बुटवल बहुमुखी क्याम्पसमा इतिहास विषयका प्रा. सूर्यबहादुर जिसीले विद्यार्थीलाई सानैदेखि यी विषयहरूमा रुचि जगाउनेखालका कार्यक्रम नभएकाले यस्तो समस्या आएको बताउँछन्। 

सामाजिक शिक्षाकारुपमा राखे पनि विषयगत रूपमा इतिहास, संस्कृति, भूगोल तथा राजनीति शास्त्रलाई पाठ्यक्रममा समावेश गर्न नसक्दा विद्यार्थीहरूको रुचि अन्य विषयतिर नै केन्द्रित हुने गरेको उनको भनाइ छ। प्रोफेसर जिसी भन्छन्, ‘विषयगतरुपमा प्लस टुको पाठ्यक्रममा पनि छैनन्, यी विषयहरू, स्नातक तहमा विद्यार्थी कम हुनु त्यो एउटा प्रमुख कारण हो।’  

‘नेपाली समाजको मौलिकता नै गुम्न सक्छ’ 

नेपाली समाजको विकासक्रममा आएका घटनाहरूसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयमा विद्यार्थीहरू ह्वात्तै घट्नुले राष्ट्रियताको राम्रोसँग उजागर हुन नसक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। 

 
प्रा. डा. गितु गिरी भन्छन्, ‘यो चाला हो भने अबको ५० वर्षमा नेपालको इतिहास जानेको मान्छे औँलाले गन्न सकिन्छ, यसको असर पर्यटन उद्योगदेखि नेपालको पहिचान सम्ममा पर्न सक्छ।’ 

यस्ता विषयमा विद्यार्थी नहनुु भनेको नेपाली समाजको संस्कृति र त्योसँगै जोडिएर आउने इतिहासको व्याख्या हुन नसक्नु हो भन्छन् प्रा. डा. गिरी। यसले गर्दा यहाँ खोज गर्नुपर्ने संस्कृति र योसँग जोटीएका ऐतिहासिक महत्त्वहरू लुप्त अवस्थामा नै हराएर जान सक्ने उनको चिन्ता छ। ‘हाम्रो पहिचानको व्याख्या हुन नसक्नु नै राष्ट्रियतामाथि नै आँच आउनु हो।’ प्राडा गिरी भन्छन्, ‘यो चाला हो भने अबको ५० वर्षमा नेपालको इतिहास जानेको मान्छे औँलाले गन्न सकिन्छ, यसको असर पर्यटन उद्योगदेखि नेपालको पहिचान सम्ममा पर्न सक्छ।’ 

विद्यार्थीको अभावमा यस्ता महत्त्वपूर्ण कुरामा खोज तथा अन्वेषण गर्न जनशक्ति उत्पादन नहुने भएकाले नेपालको इतिहास, संस्कृति तथा भूगोल जस्ता कुराको अनुसन्धान र व्याख्या गर्न गैर नेपालीलाई बाहिरबाट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनसक्ने इतिहासविद् श्रेष्ठ बताउँछन्। यो कुराले  नेपाली समाजको मौलिकतालाई समेत असर पुर्‍याउने श्रेष्ठको ठहर छ। 

श्रेष्ठ भन्छन्,‘इतिहासको बारेमा नयाँ पुस्तालाई थाहा हुँदैन। ऐतिहासिक सम्पदा तथा सांस्कृतिक महत्त्वका विषयमा खोज गर्न विदेशी विज्ञ बोलाउनुपर्ने अवस्था आउन सक्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.