१० दिनदेखि स्याहारसुसारमा जुटेका खनाल दम्पती भन्छन्, 'आर्थिक चलखेल भयो'

|

भद्रपुर (झापा) : मेची अञ्चल अस्पताल भद्रपुर। क्याबिन नम्बर ५। जहाँ भद्रपुरको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक महिनाको नवजात शिशु (छोरा)लाई राखिएको छ। त्यही शिशुलाई १० दिनदेखि हेरचाहसँगै पालनपोषण गर्दै आइरहेका छन् कमलप्रसाद खनाल दम्पती। दिनरात अस्पतालको क्याबिनमा बसेर जन्मदिन आमाभन्दा पनि बढी माया दिएर शिशुलाई हुर्काइरहेको दृश्यले सबैको मन छुन्छ।

शिशुलाई दूध खुवाउने, लुगा फेर्न, दिसा पिसाब गराउनेदेखि सुताउनेसम्मको काममा खनाल दम्पती अहोरात्र खटिरहन्छन्। एउटा आमाले नौ महिना गर्भमा राखेर जन्माएको शिशुभन्दा कम छैन उनीहरूको शिशुप्रतिको माया ममता। 

चैत १३ बुधवार राति वडा प्रहरी कार्यालयले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकस्थित बिर्तामोड-भद्रपुर सडक खण्डमा शिशुलाई जीवितै अवस्थामा फेला पारेको थियो। बेवारिसे शिशु फेला परेपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले लगत्तै मेची अञ्चल अस्पताल लगेका थिए।

अस्पताल पुर्याएको भोलिपल्ट नै धर्मपुत्र बनाउने भन्दै मेचीनगर नगरपालिका–७ सतिगठ्ठाका ४३ वर्षीय कमलप्रसाद खनाल र ४० वर्षीया हरिमायाले शिशुलाई जिम्मा लिए। र, अस्पतालमै राखेर स्याहारसुसार गर्न थाले। कानुनी प्रक्रिया पूरा नभएसम्म धर्मपुत्र बनाउन नपाइने भएकाले खनाल दम्पती झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको पखाइमा बसे।

शिशुलाई कसैलाई कानुनी रुपमा जिम्मा नदिएसम्म प्रजिअ नै कानुनी रूपमा शिशुको अभिभावक मानिन्छ। प्रजिअ दाहाल बिदामा काठमाडौं गएका थिए। सोही अवधिमा खनाल दम्पतीले आफ्नो बच्चा नभएकाले आवश्यक कागजात पूरा गरी शिशुलाई धर्मपुत्र बनाउने भनी जिल्ला प्रशासन कार्यालय झापामा चैत १५ मा निवेदन दर्ता गराएका छन्।

धर्मपुत्र बनाउन दर्जनौंको निवेदन

पाँच दिनअघि काठमाडौंबाट प्रजिअ दाहाल झापा फर्किएपछि उनलाई शिशुको विषयमा थाहा भयो। त्यस अवधिमा आधा दर्जन व्यक्तिले शिशुलाई धर्मपुत्र बनाउने भन्दै प्रहरीदेखि पत्रकारसम्मलाई बुझ्न थाले। तर, प्रहरी र पत्रकारले शिशुलाई खनाल दम्पतीले हेरचाह गरिरहेको जानकारी गराएपछि सोध्ने व्यक्ति पछि हटे।

सञ्चारमाध्यममा समाचार बाहिराएपछि खनाल दम्पतीसहित आधा दर्जन व्यक्तिले प्रशासन कार्यालय झापामा शिशुलाई धर्मपुत्र बनाउने भनी निवेदन दर्ता गरिसकेको जनाइएको छ। १० दिनसम्म शिशुलाई कानुनी रूपमा हस्तान्तरण नगरिँदा अहिले शिशुलाई लिएर आर्थिक चलखेल सुरु भइसकेको बुझिएको छ। शिशुको हेरचाहसहित पालनपोषणमा जुटेका खनाल दम्पतीलाई शिशु नदिने कुरा बाहिराएपछि अहिले उनीहरू तनावमा देखिएका छन्। 

खनाल दम्पतीले शिशुको नामकरण समेत गरी धर्मपुत्र मानिसकेको छ। शिशुको नाम विश्वास खनाल राखिएको छ। २०५८ माघ १३ मा विवाह गरेको बताउँदै खनाल दम्पती भन्छन्, ‘हाम्रो छोराछोरी छैन, त्यसैले यी शिशुलाई धर्मपुत्र बनाउन चाहिँ आवश्यक कानुनी कागजात प्रशासनमा बुझाइसकेका छौं।’

‘अहिले आएर शिशु नपाउने सुन्नमा आएको छ,’ आँसु झार्दै हरिमायाले भनिन्, ‘सबै थोकमा पैसा कै चलखेल रहेको छ, अहिले पैसाकै चलखेलले हामीबाट यी शिशुलाई टाढा बनाउने खेल भइरहेको छ। भेटाएकै दिन हामीलाई भनिदिएको हामी शिशुलाई हेरचाह नगरी फर्किन्थ्यौं।’ यतिका दिनसम्म शिशुसँग बस्दा पारिवारिक माया ममता बसिसकेकाले शिशुलाई छाडेर जान नसक्ने हरिमाया बताउँछिन्। 

कमलप्रसादका अनुसार अस्पतालमै एक जनाले तीन लाख रुपैयाँमा शिशु दिन भने आएका थिए।  ‘अस्पतालमै आएर बच्चा खरिदबिक्री गर्ने व्यक्ति भेटियो,’ उनले भने, ‘ती व्यक्तिलाई हामीले चिन्दैनौं, के थाहा त्यस्ता व्यक्तिले प्रशासनलाई नै खरिद गरी हामीबाट बच्चा टाढा बनाउन खोजेका हुन कि?’

यता अस्पतालका चिकित्सक तथा नर्सले समेत शिशु खनाल परिवारले पाउनुपर्ने बताउँछन्। अस्पताल प्रशासनले शिशुलाई खनाल दम्पतीले स्याहारसुसार गर्दै आइरहेको कागजात समेत बनाइदिएको छ। यत्रो दिनसम्म आफ्नै बच्चा सम्झिएर हुर्काइरहेका शिशुलाई अन्य अभिभावकलाई दिनु व्यवहारिक रूपमा नमिल्ने स्थानीय असारु राजवंशी बताउँछन्। उनले भने, ‘कानुनी रूपमा शिशुको अभिभावक सिडियो हुन्, सिडीओले पनि कानुनभन्दा पनि व्यवहारिकता हेरेर निर्णय गर्दा राम्रो।’ 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल जिल्ला बाल कल्याण समिति झापाको बैठकबाट निर्णय भएपछि मात्र बच्चालाई आधिकारिक रूपमा कसैलाई दिन मिल्ने बताउँछन्। उनले भने, ‘अस्पतालमा कसले हेरचाह गर्दैछ भन्दा पनि शिशुलाई कसले आगामी दिनमा राम्ररी पालनपोषण गर्न सक्छन् त्यसको आधारमा निवेदनमाथि निर्णय गरिन्छ।’ शिशु पाउन आर्थिक चलखेलबारे आफूले कुनै पनि सूचना नपाएको उनको भनाइ छ। यदि यस्तो व्यक्ति भेटे त्यसलाई पक्राउ गरी कानुनी कारबाही गर्ने प्रजिअ दाहालले दाबी गरे। उनले शिशु पाउन आएका निवेदनमाथि एकदुई दिनभित्रै कारवाही गरी कुनै एक परिवारलाई जिम्मा लगाउने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.