|

काठमाडौं : २०७५ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएका विभुषण तथा मानपदवी २०७६ वैशाख १ गते प्रदान गरिने भएको छ।

गृहमन्त्रालयका अनुसार नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मान सम्मान प्रदान गर्न लागिएको हो। राष्ट्रपति कार्यालयमा 'विभुषण सुशोभन समारोह' आयोजना गरेर मानपदवी प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ।

समारोहमा सहभागी हुनका लागि गृहमन्त्रालयले तोकिएको पोषाकमा उपस्थित हुन सूचना जारी गरेको छ। सूचनाअनुसार नेपाली पोषाक लगाएर मानपदवी प्राप्तकर्ता विहान ०८:३० भित्र पुग्नु पर्ने छ।  पुरुषका लागि लबेदा सुरुवाल, कोट  र टोपी तथा महिलाका लागि सारी चोलो र जुत्ता लगाएर आउन आग्रह गरिएको छ। त्यस्तै, हिमाल पहाड तराईमा प्रचलनमा रहेका धर्म संस्कृति अनुसारका पोषाक लगाउन पनि सकिने गृहमन्त्रालयले जानकारी दिएको छ।

मानपदवी अनुसार नेपालरत्न मरणोपरान्त नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठलाई प्रदान गरिएको छ। महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) सताब्दीपुरुष सत्यमोहन जोशी,राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा मरणोपरान्त सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंह र  प्रसिद्ध संगीतकार अम्बर गुरुङलाई सम्मानित गर्न  लागिएको हो। सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रदान गर्न लागिएको छ। सोही अवसरमा थाहाखबरका प्रधानसम्पादक तीर्थ कोइराला, नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँले पनि सुप्रवल जनसेवा श्रीबाट सम्मानित हुनेछन्।

गृह मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते बिहान शीतल निवासमा आयोजना गरिने बिशेष समरोह बीच यी मानपदवी प्रदान गर्ने कार्यक्रम रहेको छ। मुलुकका विभिन्न क्षेत्रको विकासमा योगदान पुर्‍याएका ३४२ जनालाई मानपदवीबाट सुशोभित गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.