इतिहासका हरेक घटना आगामी पुस्ताका लागि संग्रहित ऐनाको काम गर्दछन्। देश भन्नाले भौगोलिक सिमानाभित्र रेखांकित मानचित्रलाई बुझिन्छ जो निश्चित देशको नामले अगाडि बढेको हुन्छ। बहादुर सपुतहरूले कयौँ प्रयत्न गरेर देश निर्माण गर्दै आफ्नो राष्ट्रको भौगोलिक सीमाना कायम गरेका हुन्छन्। हाम्रो देशको भौगोलिक इतिहास हेर्दा छिन्नभिन्न र स–साना राज्यमा छरिएर रहेको राज्यलाई एकत्रित गर्दै पश्चिमबाट उदाउँदै आएको अंग्रेजलाई हराउँदै पूर्वमा सिक्किम राज्यको टिष्टासम्म र पश्चिममा भारतको उत्तराञ्चलको गढवालसम्म फैलाएका थिए। त्यही मात्र नभई उत्तरमा तिब्बत र दक्षिणमा लखनउ, बनारस, गोरखपुरसम्म राज्य बिस्तार गर्न सफल भएका थिए। यसरी निर्माण भएको विशाल राज्यलाई सत्ता लिप्सा र आपसी झगडाले गर्दा मुलुकको भू–भागलाई गुमाउँदै गुमाउँदै पूर्वमा मेची नदी र पश्चिम महाकाली नदीसम्म अर्थात करिब १,४७,१८१ वर्ग किमी क्षेत्रमा सीमित रहन गएको छ। यही क्रम चलिरहने हो भने भोलिका दिन राष्ट्र रहने या नरहने प्रश्न गम्भीर रूपले हाम्रो सामु छ भनेर चासो व्यक्त गर्नेको संख्या बढ्दो रूपमा देखिनु चिन्ताको विषय हो।
संसारमा समय समयमा राजनीतिक व्यवस्थाहरू परिवर्तन भइरहन्छन्। इतिहासका हरेक पानाहरू यिनै परिवर्तनका तस्बिर हुन्। विभिन्न कालमा विभिन्न आवश्यकताहरूले महत्त्व राख्दा राजनीतिक परिवर्तन हुनु स्वाभाविकै हो। यसमा दुईमत छैन। तर राजनीतिक परिवर्तनसँगै त्यस देशमा विद्यमान, धर्म, संस्कृति, भाषा, भेषभूषा र परम्परालाई संस्थागत गर्दै अगाडि बढ्न सकेमा परिवर्तित राजनीति स्थायी हुन सक्छ। मुलुकमा भएको राजनीतिक परिवर्तन सँगसँगै आफ्नो पहिचान मेटाउने गरी अरुको सिको गर्न खोजेमा फेद र टुप्पो पत्ता लगाउन नसक्ने गरी मुलुक बिलाउन समय लाग्ने छैन।
समाज विज्ञानका विद्वानहरूले भन्ने गर्दछन्, यदि कुनै देशको नाम निशाना मेटाउनु छ भने पहिला त्यो देशको धर्म संस्कृतिलाई नष्ट गरिदिनु पर्दछ। त्यसपछि आपसे–आफ त्यो देश बिलाएर जानेछ। त्यसलाई प्रत्यक्ष रूपले सैनिक हस्तक्षेप गर्नु पर्दैन। त्यसैले धर्म संस्कृति परम्परालाई मेटाउनु भन्नु आफू मासिनु हो। श्राद्ध गर्दा बिरालो छोपेर गर्नुपर्छ भन्नुको अर्थ बुझ्ने प्रयास गर्नुपर्दछ। त्यसैले परम्परादेखि आएको संस्कारको अर्थ बुझेर त्यसलाई सुधार गर्दै समयानुकूल परिमार्जित गर्न सकेमा त्यो दीर्घायू हुनसक्छ। त्यसैले राजनीतिक परिवर्तन सँगसँगै त्यस देशमा बसोबास गर्ने समग्र जात–जातीहरूको पहिचान र अस्तित्वलाई जगेर्ना गर्दै आर्थिक, सामाजिक, शैक्षिक राजनीतिक विकासको सुनिश्चित गर्नुपर्दछ।
विभिन्न जाति, विभिन्न भाषा, विभिन्न धर्म संस्कृति भए तापनि राष्ट्रिय पहिचानको विषयमा गोलबन्द भई विश्व सामु राष्ट्रियताको परिचय दिनु नै बुद्धिमानी ठहर्छ। त्यसैले राष्ट्रिय अस्तित्वका विषयमा झगडा नगरी एकताबद्ध रूपले अगाडि बढ्न सकेमा परिवर्तित राजनीतिलाई संस्थागत गर्दै स्थायीत्व प्राप्त गर्न सकिन्छ। विश्वका मुलुकहरूको इतिहास हेर्दा त्यो प्रमाणित भइसकेको छ।
इतिहासले हरेक घटनाहरूलाई आगामी पुस्ताको लागि ऐनाको काम गर्दछ। विश्वका कयौँ मुलुक राजनीतिक सत्ता लिप्साका कारण, नेतृत्व वर्गको दूरदृष्टिका कारण हराउने र बिलाउने गरेका छन्। उदाहरणको लागि हाम्रो छिमेकी मुलुक सिक्किम नेताहरूको दूरदृष्टिको अभाव र सत्ता मोहले गर्दा आज विश्व मानचित्रमा इतिहासमा सीमित हुन पुगेको छ। नेताहरूको सानो गल्तीले कयौँ दुःख गरी सिर्जिएको मुलुक सिक्किम आज विश्व नक्सामा छैन। यदि नेपाली राजनीतिक दल र राजनीतिकर्मीहरूको यस्तै चाला रहिरहने हो भने विश्वका देशहरूको सूचीमा नेपाल इतिहासमा मात्र सीमित रहन के बेर?
भर्खरै सरकारले नागरिकता ऐन विधेयक ल्याई नागरिकता वितरण गरिरहेको छ। तीन करोड मात्र जनसंख्या रहेको हाम्रो मुलुकमा सरकारले अंगीकृत नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गरिरहेको छ। यो मुलुकको लागि घातक छ। सरकारले गरेको यस कार्यको जनस्तरबाट चौतर्फी विरोध भइरहेको छ। त्यसैले समयमै सरकारले नागरिकता ऐन विधेयक रोक्न जरुरी छ। पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दा मुलुक अत्यन्त संवेदनशील मोडमा उभिएको देखिन्छ।
त्यसै गरी ठूला ठूला युद्धले निर्माण भएका देश षड्यन्त्र, चालबाजीबाट समाप्त भएको इतिहास साक्षी छ। त्यसैले हाम्रो मुलुकका राजनीतिक नेताहरूको सत्ता लिप्साकै कारण प्रत्यक्ष अप्रत्यक्ष रूपले शक्ति महाशक्ति राष्ट्रहरूको क्रिडास्थल बन्न पुगेको छ। सत्ता टिकाउनको लागि राष्ट्रको पहिचान मेटाउने गरी अगाडि नबढ्लान भन्न सकिँदैन। ससाना राज्यलाई एकीकृत गर्दै विशाल नेपाल बनाएका सपुतहरूको सम्मान गरौँ र उनीहरूको इतिहास नभुलौँ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।