'नेकपाबाट पनि काम हुँदैन'
'नेकपाबाट पनि काम हुँदैन'
पोखरा : कांग्रेस, नेकपाले देश र जनताको हितको लागि काम नगर्ने समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आरोप लगाएका छन्। संघीय समाजवादी पार्टीसँग आफू नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकीकरण गरेपछि सातै प्रदेशमा अभिमुखीकरण घोषणा गरेको समाजवादी पार्टीको पहिलो पटक पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन्।
कार्यक्रममा अन्तिममा सम्बोधन गर्न आएका भट्टराईले सुरुमै वर्तमान नेकपाको दुई तिहाईको सरकारको विरोध गर्न भ्याए। ‘अहिले नेपालको राजनीतिमा गतिरोध सन्नाटा छाएको छ,’ भट्टराईले भने, ‘दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिस्ट नाम गरेको सरकारले जनतालाई जनतालाई जुन प्रकारको निराशामा पुर्यायो। देशमा एकपछि अर्को कुशासन र भ्रष्टाचार चुलिँदै गयो। जनताको पक्षमा कुनै पनि काम हुन सकेन।’
केपी ओली नेतृत्वको दुई तिहाई सरकारको आलोचना गर्ने वित्तिकै भट्टराईले कांग्रेस झनै काम नलाग्ने पार्टी भएको आरोप लगाए। ‘अब कांग्रेसको युग सिद्धियो। उसले निजी स्वतन्त्रतामा आधारित उदारबादमा आधारित लोकतन्त्र ल्याउन भूमिका खेलेकै हो। उसलाई धन्यावाद दिनुपर्छ,’ उनले भने, ‘उसले इतिहासमा जुन काम गर्याे। त्यसलाई म्युजियम बनाम, कांग्रेसमै समर्पित खालको। उसलाई गर्ने यही हो। उसले यो देशको नेतृत्व गर्न सक्दैन।’
अरू समयभन्दा अलि बढी नै फुर्तिलो देखिएका भट्टराईले कांग्रेस कम्युनिस्टले देशको लागि अब केही गर्न नसक्ने भन्दै त्यसको विकल्पमा समाजवादी पार्टी आएको बताए। संघीय समाजवादी पार्टीसँग एक हुनु अघि नयाँ शक्तिमा हुँदा पनि भट्टराईले अन्य राजनीतिक दललाई नेपालको वैकल्पिक राजनीतिक शक्ति भने देख्थेनन्।
चुनाबमा पुछारमा पुगे पनि नयाँ शक्ति नै वैकल्पिक शक्ति रहेको दाबी गरिरहन्थेँ। उनले नेपालको भौगोलिक मात्र हाेइन भावनात्मक एकता पूरा गर्ने शक्ति समाजवादी पार्टी रहेको समेत दाबी गरे। उनले विश्वमै पुँजीवादको युग सकिएको बताए। उनले भने, ‘पुँजीवादी युग सकियो। अमेरिकादेखि हंगेरीसम्म फसेको छ। कम्युनिस्ट पार्टी झन अलोकतान्त्रिक हुनेरहेछ। यहिँ पनि देख्यौँ। अहिलेको कम्युनिस्ट सरकार भ्रष्टाचार गरेर पुँजीवादको विकास गरिरहेको छ।’
नेता भट्टराईले हिजो कम्युनिस्ट भनेर हिँड्नेहरू आज जनतालाई बिर्सेर महलमा रजाइँ गरिरहेको समेत आरोप लगाए। ‘हिजो तपाईंको घर आँगनमा खाली खुट्टा, चप्पल, जडौरी लुगा लाएर हिँड्ने कम्युनिस्ट साथीहरू अहिले जुन खालको महलमा बसेका छन यो वर्ग पैदा भएको होइन?’ ‘जनताको अवस्था उही छ। त्यही नेताहरू ठूला राजा महाराजा जस्तो भएर हिँडेका छन्। त्यसैले कम्युनिस्ट युगले केही गर्ने वाला छैन' उनले भने, विकास र समृद्धिमा आधारित जनताको हितमा रहेको उन्नत प्रकारको संघीय समाजवाद अबको युगको विचार हो। यही विचारमा टेकेर हामीले पार्टी एक बनाएका छौँ।’
पहिचान र अधिकार सहितको संघीयतामा नगई सुख नहुने पनि बताए। हिमाल पहाड तराई जोड्ने, संघर्षमा खारिएका नेताको टिम भएको सबै भएको पार्टी नेपालको इतिहासमा समाजवादी पार्टी मात्रै बनेको उनको दाबी छ। १० प्लस १ प्रदेश बनाउनुपर्ने समेत उनको भनाई छ। उनले यससम्बन्धी बहस गर्ने मान्छेसँग बहस गर्न आफू तयार रहेको समेत बताए।
सोही कार्यक्रममा बोल्दै समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पनि अहिलेको नेपालका ठूला राजनीतिक दलहरूबाट विकास हुन नसक्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।