|

पोखरा : मुस्ताङको विभिन्न क्षेत्रमा विभिन्न प्रकारका खानीहरु रहेको देखे सुनेकै हो। ती खानीहरुको उत्खनन भने हुन सकेको छैन। यसपटक मुस्ताङका प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले खानी उत्खनन कुन क्षेत्रको खानीबाट गर्ने भन्ने समेतको अध्ययन गर्न विज्ञ टोली नै लिएर मुस्ताङ पुगेका छन्। 

सांसद तुलाचनसहित भूगर्भविद् धर्मराज खड्का र नरेश महर्जनको टोली मुस्ताङ पुगेको हो। उनीहरुले टोलीले चार दिन अघि देखि त्यहाँका खानीहरुको अध्ययन गरिरहेका छन्। गएको बुधबार भूगर्भविद्हरुले वारागुङ मुक्तिक्षेत्र ३ को तेताङ नुन खानीको स्थलगत अवलोकन गरे।

नुनखानी बन्द भएको १५ वर्षपछि फेरि अध्ययन

तेताङमा रहेको नुन खानी योभन्दा पहिले नै उत्पादन गरेर स्थानीयले उपभोगसमेत गरिसकेको सांसद तुलाचन बताउँछन्। ‘यो नुनखानी १५ वर्ष अघिसम्म पनि सञ्चालनमा थियो,’ उनले भने, ‘पहिले राणाकालमा मुस्ताङका थकाली सुब्बाहरुले यो नुनखानीबाट नुन निकाल्न भनेर जिम्मा लिन्थे। राणाहरूले शंकरमान सेरचन सुब्बा भोगचलन गर्न दिएका थिए। उनी त्यहाँबाट काठमाडौँ हिँडेपछि बन्द भएको हो। स्रोत र साधन हुने उपयोग नहुने भएपछि राम्रो भएन भनेर मैले उद्योग मन्त्रालयमा पहल गरेर फेरि अध्ययन गर्न लागेको हो।’

थकाली सुब्बाहरूले १५ वर्ष अघि परम्परागत तरिकाले वार्षिक १०० मुरी नुन निकालेर बिक्री गर्ने गरेको सांसद तुलाचन बताउँछन्।  सांसद तुलाचन मुस्ताङको ब्राण्ड बनाउन र पर्यटकहरुलाई थप एक दिन मुस्ताङमै बसाउन नुन खानी सञ्चालनमा ल्याउनु पर्नेमा आफुले जोड गरो बताउँछन्। यसपटकको भूगर्भविद्को अध्ययन पछि प्रतिबेदन बुझाएर उत्खनन नै गर्ने सांसद तुलाचन बताउँछन्।

नुनखानीपछि युरोनियम

भूगर्भविद्को टोली नुनखानीमा अझै केही दिन सम्भाव्‍यता अध्ययनपछि माथिल्ला मुस्ताङ जाने सांसद तुलाचनले बताए। माथिल्लो मुस्ताङमा उनीहरूले युरोनियमको खानीको अवलोकनका साथै उत्खननको सम्भाव्‍यताको अध्ययनसमेत गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.