दैलेख : जिल्लामा रहेको छाउपडी प्रथालाई अन्त्य गर्ने उद्देश्यका साथ दैलेखको पश्चिममा रहेको आठविस नगरपालिकाले जातीय भेदभाव तथा छाउपडी बार्ने नागरिकलाई नगरपालिकाबाट पाउने कुनै पनि सेवासुविधा नदिने भएको छ।
नगरपालिकाका प्रमुख खड्काराज उपाध्यालयले यस्तो कुप्रथा मान्ने नगरवासीहरूलाई नगरपालिकाबाट प्रवाह गरिने सबै खाले सेवासुविधाबाट वञ्चित गराउने घोषणा गरेका हुन्।
छाउपडी बसेका बेला केही महिलाले ज्यानै गुमाउनु परेकाले यसको अन्त्य गर्नको लागि आफूहरू लागी परेको बताउँदै छाउपडी नमान्ने र भेदभाव नगर्ने नागरिकको घरमा रातो झन्डा अनिवार्य राख्न लगाउनेसमेत उपाध्यालयले बताए।
नगरपालिकामा छाउपडी तथा जातीय भेदभावसम्बन्धी धेरै रकम खर्च गर्नुका साथै विभिन्न समयमा जनचेतना मूलक कार्यक्रमहरू गर्दै आएको भए पनि छाउपडीको विषयले आफ्नो नगरपालिकाले बदनाम भोग्नु परेकाले यस्तो गर्न बाध्य भएको उनको भनाई छ।
सबैभन्दा पहिला दिदी-बहिनी आफैँले परिवर्तन रोज्नुपर्ने र यस्ता रुढीवादी परम्पराविरुद्ध आवाज उठाउनु पर्ने बताउँदै नगरपालिकाकी उप-प्रमुख दीपा बोहराले महिलाले आफैँबाट परिवर्तन ल्याउन्न सके कुनै पनि बहानामा हिंसा सहनु नपर्ने बताइन्।
दैलेखमा छाउ भएका महिलाहरूलाई सात दिनसम्म घर बाहिर राख्ने र पोसिलो खाने कुरा नदिनुले विभिन्न प्रकारका रोग लाग्नुका साथै सर्पले टोकेर पनि ज्यान जाने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।