|

पाँचथर : जिल्लाको सीमा प्रशासन कार्यालय च्याङ्थापुमा तीन वर्षपछि कार्यालय प्रमुख पुगेका छन्। शाखा अधिकृत विनोदकुमार चौहान बिहीबार सीमा प्रशासन प्रमुखको रूपमा पुगेका हुन्। यसअघि कार्यालय सहयोगी लक्ष्मीप्रसाद खवासले कार्यालय खोलेर राष्ट्रिय झण्डा फहराउँदै थन्क्याउने गर्दै आएकोमा आइतबार (भोलि) देखि भने कार्यालयबाट सम्पूर्ण सेवा प्रवाह हुने भएको छ। 

‘जहाँको सीमा प्रशासनमा झण्डा फहराएर थन्क्याइन्छ’ शीर्षकमा थाहा खबरमा प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले कर्मचारी अभावले सेवा प्रवाह ठप्प रहेको कार्यालयमा हालै अधिकृत पठाएको बताए। उनका अनुसार आइतबारदेखि सीमा प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि,आदिवासी जनजाति प्रमाणित,नाबालक परिचय-पत्र, बजार अनुगमन,द्रूतमार्गबाट राहदानी लिन चाहनेलाई सिफारिससँगै सीमाको अनुगमन र सीमा नाका पास दिने लगायतका सेवा प्रवाह हुनेछ।

‘कर्मचारी नै नभएकाले सीमा प्रशासनबाट नागरिकलाई सेवा दिन सकेका थिएनौं। आइतबारदेखि सबै सेवा प्रवाह हुन्छ। नागरिकको सास्ती हट्छ ’ प्रजिअ वस्तीले भने, ‘समाचारको माध्यमबाट सीमा प्रशासनको सेवा ठप्पबारेको सवालले गम्भीर थिएँ। केही महिनायताको पहलकदमीपछि अधिकृत पठाउन सकें।’

सीमा प्रशासन कार्यालयमा अधिकृतसँगै नायव सुव्वा, कम्प्युटर अप्रेटर, सहायक लेखापाल ,खरिदार र कार्यालय सहयोगी गरी ७ जनाको दरबन्दी छ। तर तीन वर्षदेखि  कार्यालय सहयोगी खवास मात्रै कार्यालयमा थिए। 

कार्यालय प्रमुख कोही साता दिन बसेनन्, कोही हाजिर नभई काज मिलाई अन्तै

कार्यालय सहयोगी लक्ष्मीप्रसाद खवासका अनुसार यसअघि आएका अधिकांश सीमा प्रशासन कार्यालय प्रमुखहरू एक साता पनि नबसी काजमा अन्तै गए। कोही भने कार्यालयमा हाजिर पनि नभई सरूवा लिएर गए। सीमा प्रशासनलाई भने नागरिकता,राहदानीसँगै नावालक परिचय-पत्र,आदिवासी जनजाति प्रमाण-पत्र,बजार अनुगमन र एक नम्बर पिलर फालोटदेखि कालीझारसम्म निरीक्षण गर्ने काम,कर्तब्य र अधिकार छ।

सीमा क्षेत्रमा हुँदै आएको जडिबुटीदेखि  वन्यजन्तु चोरी तस्करी नियन्त्रण र सीमा नाका पास पनि सीमा प्रशासनलाई नै दिने अधिकार प्रत्यायोजन छ। तर कर्मचारी कार्यालयमै नवस्दा वर्षौदेखि यी कामहरू सीमा प्रशासनबाट प्रभावित हुँदै आएका थिए। यद्यपि कार्यालय प्रमुखको रूपमा चौहान हालै पुगेपछि भने कार्यालयबाट निरन्तर सेवा हुने नागरिकले विश्वास लिएका छन्। 

च्याङ्थापुका स्थानीय सूर्यमान बेघाले भने, ‘सीमा प्रशासन कार्यालयबाट कर्मचारी नभएकै कारण नागरिकता, राहदानी लगायतका सेवा प्रवाह हुन सकेकाे थिएन। नागरिकले सास्ती खेप्नु पर्‍यो। सदरमुकाम फिदिम आउँदा जाँदा भाडा मात्रै १२ सय लाग्छ’ उनले भने, ‘यसअघि कायम मुकायम अधिकृत रेणु ओझाबाहेक कोही पनि प्रमुख ५ महिना बढी बसेनन्। अब चाहिँ बस्लान् कि?’

पाँचथरको याङ्वरक गाउँपालिकाको उत्तर–पूर्वी क्षेत्रका वडा नम्बर १,२ र ३ (साविकका गाविसहरू च्याङथापु,फलैचा र ओयाम) का नागरिकलाई प्रशासनिक सेवा सुविधा प्रवाह गर्न सीमा प्रशासन कार्यालय स्थापना गरिएको हो। सदरमुकाम फिदिमदेखि निक्कै टाढा पर्ने ती क्षेत्रका नागरिकको माग अनुसार नै स्थापना गरिएको कार्यालयमा कर्मचारी नै नबस्दा नागरिकलाई यसअघि हर्ष न विस्मात् भएको थियो।

भारतको सिक्किम राज्य आउजाउ गर्ने पुरानो नाका च्याङ्थापु नै हो। यही नाका भएर पाँचथर र ताप्लेजुङ र तेह्रथुमको पूर्वोत्तर क्षेत्रका स्थानीयहरू सिक्किम आउजाउ गर्दै आएका छन्। नातागोता भएकाले जन्मदेखि मरणसम्मका संस्कारगत् क्रियाकलापमा डाँडावारी र पारी आउजाउ हुने गरेको छ।

सडकले जिल्लाको थर्पुलाई नजोड्दासम्म च्याङ्थापु,फलैँचा र ओयाम क्षेत्रका नागरिकहरूको सिक्कमकै बजारमा भर पर्नु पर्ने बाध्यता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.