|

विराटनगर : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज मोरङ, सुनसरी, झापा, धनकुटा र उदयपुरमा बिभिन्न खेलहरु हुँदैछन्। मोरङको विराटनगरमा टेबुल टेनिस, कबड्डी, कराँते, हक्की, सुटिङ, सफ्ट टेनिस, पुरुष क्रिकेट र महिलाहरुको फुटबल प्रतियोगिता हुँदैछ। 

त्यस्तै सुनसरीको इटहरीमा एथ्लेटिक्स, तेक्वान्दो, महिला क्रिकेट र महिला तथा पुरुषको भलिबल प्रतियोगिता पनि सुरु हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। सुनसरीको धरानमा पुरुष फुटबल, उसु, महिला र पुरुषको बास्केटबल तथा कराँतेका खेलहरु सञ्चालन हुनेछन्। धरानमै साइक्लिङ र सेपाक्टाक्रो तथा इनरुवा खोखो खेल पनि सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषदको तालिका छ।

आजै झापाको चन्द्रगढीमा महिला र पुरुषको बक्सिङ, काकडभिट्टामा ब्याडमिन्टन, धुलाबारीमा जुडो र जिम्न्यास्टिक, दमकमा आइटिएफ तेक्वान्दो खेल पनि सञ्चालन हुनेछन्।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन। प्रतियोगितामा सञ्चालन हुने ३० खेलमध्ये मोरङमा ९, सुनसरीमा १२, झापामा ५, सिरहा, सप्तरी, उदयपुर र धनकुटामा १-१ खेल हुनेछन्। प्रतियोगितामा २ सय ६८ स्वर्ण, २ सय ६८ रजत र ४ सय १६ कास्य पदक गरी ९ सय ५२ पदकका लागि ३ हजार ९ सय जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा स्वर्ण पदक पाउने खेलाडीले १० हजार, रजत पदक पाउनेले ७ हजार र कास्य पदक पाउने खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई २५ हजार रुपैयाँसहित ट्रफी दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.