|

विराटनगर :  मोरङ वैजनाथपुरमा सुटिङ खेलका लागि बनाइएको भवनमा शनिबार बिहान १० बजे पुग्दा  कामदारहरु प्लास्टरको काम गर्दै थिए। भवनको आधा भाग जति प्लास्टर भएको थियो भने आधा बाँकी नै थियो। निर्माणाधीन भवनको माथि छानो पनि छैन। यही भवनमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुटिङका खेलहरु सञ्चालन हुँदै थियो।

भवनभित्र प्रवेश गर्दा अवस्था अझै दयनीय थियो। सुटिङ खेल खेलाउने ठाउँसम्म थिएन। प्रशिक्षकहरुको सहयोगमा कामदारहरुले ड्रिलिङ मेसिनले टेबुल प्वाल पारेर पुल्ली लगाउने र डोरी टाँग्ने काम गर्दै थिए। खेल भइरहेको ठाउँमा हावा नलागोस् भनेर टेन्ट राखिएपनि पुरै भवन ढाक्न सकेको छैन।

विहान ९ बजेदेखि खेल हुने भनेर समयमै आइपुगेका दुई ओलम्पियन खेलाडीसहितका अन्य खेलाडीहरु खेल खेल्न पाइने हो कि होइन भन्ने चिन्तामा थिए। प्रतियोगिता खेल्न आएकी नेपाल पुलिस क्लबकी खेलाडी तथा बेइजिङ ओलम्पिककी सहभागी फूलमाया क्याप्चाकीले खेल हुनेमा आशा व्यक्त गरिन्। 'हिजो आएर हेर्दा खेल नै नहोला जस्तो थियो आज हेर्दा खेलचाहिँ होला जस्तो छ' उनले भनिन् 'तर खेल राम्रो हुँदैन स्कोरहरु डाउन होला जस्तो लाग्छ, इन्डोरमा खेल्नुपर्ने खेलमा हावाले असर गर्छ।'

राम्रो खेलस्थल हुने हो भने सुटिङमा नयाँ राष्ट्रिय कीर्तिमान बन्न सक्ने खेलाडीहरु बताउँछन्। तर खेलस्थलमा हावा लाग्ने भएका कारण कारण यसपटक कीर्तिमान बन्ने सम्भावना नभएको खेलाडी पश्चिमाञ्चल विकास क्षेत्रबाट सुटिङ खेलमा सहभाागी खेलाडी गोमा केसी बताउँछिन्। 

खेल सञ्चालनको प्रतिक्षामा रहेका खेलाडीहरु।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १० मिटर राइफल र १० मिटर पेस्तोलको सुटिङ यहीँ भवनभित्र हुँदैछ। यस खेलमा ७ वटा टिमका खेलाडी सहभागी हुँदैछन्। शनिबार ९ बजे हुने भनिएको खेल खेल संरचना तयार गरिसक्दा ३ बजे मात्र सुरु भयो। शनिबार जम्मा १० वटा मात्र खेल भएको छ।

खेलाडीहरुले सुटिङ भवन तयार हुनु पछिका लागि राम्रो भएपनि राष्ट्रिय प्रतियोगिताका लागि तयार नहुनु दुखद भएको बताए।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुटिङ खेल सञ्चालनकै लागि भनेर यो भवन निर्माण सुरु गरिएको हो। यो भवन निर्माणका लागि राष्ट्रिय खेलकुदद परिषदबाट ६० लाख रुपैयाँ बजेट स्वीकृत भएको पनि थियो। तर रकम समयमा निकासा हुँदा काम समयमा भ्याउन नसकेको सुटिङ संघका केन्द्रीय सदस्य उमेशकुमार थापाले बताए। 'जेठ महिनाबाट बनाउन सुरु गरेका हौं जिल्ला खेलकुद विकास समितिले समयमा बजेट निकासा गर्न सकेन त्यसैले समयमा काम हुन सकेन' उनले भने।

सुटिङका ओलम्पियन टीकाराम श्रेष्ठले राष्ट्रिय प्रतियोगिताको लागि भवन तयार नभएपनि भविष्यका लागि सुटिङको राम्रो खेल स्थल निर्माण भएको बताए। भवन निर्माणमा पनि सक्रिय रहेका श्रेष्ठले ५ गतेसम्ममा छाना हाल्ने काम सक्ने भनिएपनि सम्भव नभएको बताए। खेलकुद प्रतियोगिता सकिएपछि मात्र भवन निर्माण सकिने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.