दोहोर्‍याएर जानेको संख्या धेरै, नयाँ पुस्ता घट्दै

|

काठमाडौं : वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटिरहेको छ। तर यसले रेमिट्यान्स आप्रावाहमा असर नगरेको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा ३७ प्रतिशतले रोजगारीमा जानेको संख्या घटेको हो। रेमिट्यान्स आप्रवाह भने १७.३ प्रतिशतले बढेको छ।

११ महिनाको अवधिमा करिब आठ खर्ब रुपैयाँ रेमिट्यान्स आएको छ। राष्ट्र बैंकका अनुसार यो अवधिमा सात खर्ब ९९ अर्ब दुई करोडको रेमिट्यान्स आएको हो। गत वर्ष यही अवधिमा ६ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँको रेमिट्यान्स आएको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष एक खर्ब २० अर्ब रुपैयाँ बढेको देखिएको छ।

तर वैदेशिक रोजगारिमा जानेको संख्या यो वर्ष एक लाख १४ हजार ६३३ घटेको छ। आर्थिक वर्ष २०७४/७५ को ११ महिनामा अन्तिम श्रम स्वीकृति र पुन: श्रम स्वीकृतिसहित पाँच लाख ८४ हजार ३०८ जनाले रोजगारीमा जाने अनुमति लिएका थिए। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा चार लाख ६९ हजार ६४५ जनाले स्वीकृति लिएका छन्।

फाइल फोटो: श्रम स्वीकृति लिनेको भीड(श्रम विभाग ताहाचल) 

अन्तिम श्रमस्वीकृति लिनेको संख्या ह्‍वात्तै घटे पनि पुन: लिनेको संख्या बढेको छ। अघिल्लो वर्षको तुलनामा अन्तिम स्वीकृति लिनेको संख्या (नयाँ वा पहिलोपटक रोजगारीमा जाने) एक लाख २७ हजार ७२४ जना घटेको छ। तर पुन: श्रम स्वीकृतिमा लिने (विदामा आएर जाने) संख्या १३ हजार ६१ जनाले बढेको छ।

मलेसियाको रोजगारी १३ महिनादेखि अड्किएपछि पनि विदेशमा रोजगारीमा जानेको संख्या घटेको हो। नयाँ जाने वा अर्को रोजगारीमा जानेको तुलानमा विदामा आएर जानेको संख्या ४० हजार २४१ जनाले बढी छ। रोजगारीमा जाने अन्तिम प्रकिया अन्तिम श्रम स्वीकृति वा पुन: स्वीकृतिलाई आधार मान्दा छुट्टीमा आएर फर्किनेको संख्या दुई लाख ५४ हजार ४९३ जना छन्। नयाँ रोजगारी वा पहिलोपटक जानेको संख्या दुई लाख १४ हजार ७०२ जना छन्।

यसले नयाँ पुस्तामा वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दै गएको देखिन्छ। एउटा देशबाट आएर अर्को देशमा जाने व्यक्ति वा अर्को संस्थामा काम गर्न जाने व्यक्तिले पनि नयाँ प्रकिया सुरु गर्नु पर्ने भएकोले अन्तमि श्रम स्वीकृति गराउनेमध्ये ५० प्रतिशत एक पटक गएर आएको हुनसक्ने व्यवसयीहरूको भनाइ छ।

यस हिसाबले वार्षिक चार लाख नेपाली श्रम बजारमा आउने गरेको देखिन्छ। जसमा करिब एक लाख सात हजार मात्रै स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेका छन्। पछिल्लो समय पढ्न विदेशिनेको संख्या भने बढिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.