कालोपत्रे सडकप्रति जनप्रतिनिधि असन्तुष्ट

|

भद्रपुर, (झापा) : कालोपत्रे सडक उप्किन थालेपछि स्थानीय विरोधमा उत्रिएका छन्। झापाको बाह्रदशी गाउँपालिका ३ स्थित राजगढ बजार जोडन बनाइएको कालोपत्रे सडक गुणस्तरहीन भएको भन्दै त्यहाँका स्थानीय विरोधमा उत्रिएका हुन्।

कालोपत्रे सडक बनाउने ठेक्का लिएका निर्माण व्यवसायी र इन्जिनियरले सडक गुणस्तरीय भएको दाबी गर्दै आइरहेको अवस्थामा कालोपत्रे उप्किएपछि स्थानीयले विरोध जनाएको स्थानीय कमलराज थापाले बताए। उनका अनुसार बाटो निर्माण गर्दादेखि नै बाटो राम्रो भएन भनेर पटकपटक सम्बन्धित पक्षलाई भन्दा पनि कसैले सुनेनन्।

सडक गुणस्तरीय नबनेको बताउँदै स्थानीय दलबहादुर थापाले भने, ‘बाटो बनाई नसकी खाल्डा पर्न थालेको छ, यो खाल्डा परेको ठाउँ बिस्तारै भत्कँदै जान्छ, पछि बनाएको नबनाए जस्तै हुन्छ।’

रातिराति सडक कालोपत्रे गरिएको बताउँदै अर्को स्थानीय हेमलाल न्यौपानेले भने, ‘बाटोको काम राम्रो भएन भनेर हामीले त्यत्ति बेलै भनेको हो, हाम्रा कुरा त्यो बेला कसैले सुनेनन्, यो अवस्था आउँछ भन्ने लागेकै थियो।’ ‘अहिले पानी पर्दा मट्टितेल जस्तो पदार्थ बग्छ, अलकत्र त नबग्गु पर्ने हो नि?’ उनले थपे। 

यता, गाउँपालिकाले सोमबार गरेको अनुगमनका क्रममा मोटरसाइकल स्ट्याण्ड लगाउँदासमेत कालोपत्रे सडक भासिने थालेपछि स्थानीयले घटनास्थलमै विरोध जनाएका थिए। ८७ लाख रुपैयाँको लागतमा गाउँपालिकाले राजगढ बजारसहित ३५५ मिटर सडक कालोपत्रे गरिएको हो।

कालोपत्रे सडकप्रति जनप्रतिनिधिलाई  चित्त बुझेन

गत आर्थिक वर्ष नै सडक निर्माणको काम सम्पन्न भए पनि स्थानीयले पटक–पटक सडक गुणस्तरीय नभएको भन्दै आवाज उठाएपछि गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले इन्जिनियरसहितको टोली लिएर सडकको अनुगमन गरेकी थिइन्। गाउँपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले सडक गुणस्तरीय भएको दाबी गरिरहेको अवस्थामा अनुगमन समिति संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष राजवंशीले अनुगमन गर्दा सडकको गुणस्तरका विषयमा उनलाई पनि चित्त बुझेन। चित्त नबुझेपछि उपाध्यक्ष राजवंशीले पत्र काटेर दमकबाट सडक डिभिजनको इन्जिनियर ल्याएर सडकको गुणस्तर नाप्ने योजना बनाइन्। त्यसो गर्न लागेपछि उपाध्यक्ष राजवंशीमाथि नै सडक निर्माण व्यवसायी र इन्जिनियर उल्टै जाइलागे।

सो सडक शिवसताक्षी निर्माण सेवाले बनाएको जनाइएको छ। निर्माण व्यवसायी लोकेन्द्र श्रेष्ठले सडक गुणस्तरीय भएको दाबी गर्दै आइरहेका छन्। ‘सबर गुड्ने ठाउँमा फलाम लाग्दा सडक भत्किनु नौलो विषय होइन’ उनले भने।

यता, गाउँपालिका उपाध्यक्ष राजवंशीले सडक गुणस्तरीय नभएको बताएकी छिन्। ‘हातले कोट्याउँदा सडक भत्किन्छ, म कसरी गुणस्तरीय भनौँ, उपाध्यक्ष राजवंशीले भनिन्, ‘स्थानीयको गुनासो आएपछि अन्तिम अनुगमनका लागि म गएको हुँ, सडकको अवस्था हेर्दा आखैं अगाडि मोटरसाइकल उभ्याउँदा सडक भासिँदैछ।’

बाह्रदशी गाउँपालिका ३ का वडा अध्यक्ष वीरेन्द्र राजवंशीले पनि सडक गुणस्तरीय नभएको बताउँछन्। ‘राति सकड कालोपत्रे गरिएकाले सडक गुणस्तरीय हुन सकेन', उनले भने,  ‘म आफैँ छु यो सडक कालोपत्रे गर्दा, राति साढे आठ बजेबाट सडक कालोपत्रे थालिएको हो। सक्दा झन्डै डेढ बजेको हुन्थ्यो। सडकको गुणस्तरप्रति ८० प्रतिशत सन्तुष्ट भए पनि म आफैँ २० प्रतिशत सन्तुष्ट छैन।’

इन्जिनियरले दिए राजीनामा

यता, सडक अनुगमनको क्रममा पत्रकार बोलाएको भन्दै कर्मचारी गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि आक्रोश पोखेको स्रोतले बताएको छ। गाउँपालिका उपाध्यक्ष राजवंशी, इन्जिनियर श्रेष्ठ र  योजना शाखा प्रमुख तेजप्रसाद रेग्मी लगायतको टोलीले राजगढ बजारमा निर्माण गरिएको कालोपत्रे सडक अनुगमन गर्न पुगेका थिए।

गाउँपालिका स्रोतका अनुसार अनुगमनकै विषयलाई लिएर गाउँपालिकामा तालाबन्दी गर्ने अवस्था सृजना भएको थियो। पछि इन्जिनियर श्रेष्ठले आफैँ राजीनामा दिएपछि तालाबन्दी भने भएन। गाउँपालिकाले इन्जिनियर श्रेष्ठलाई करारमा नियुक्त गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.