|

भद्रपुर (झापा) : भद्रपुर नाकाबाट विषादी परीक्षणबिनै दिनहुँ लाखौँ रुपैयाँको तरकारी तथा फलफूल नेपाल भित्रिरहेको छ। व्यापारीहरूले यस नाकाबाट भित्राउने फलफूल तथा तरकारी भद्रपुर बजारसहित जिल्लाका अन्य बजारमा समेत पठाइन्छ।

झापाको काँकडभिट्टा नाकामा मेची भन्सार कार्यालयले विषादी परीक्षणमा कडाइ गरेपछि त्यहाँका व्यापारीहरूले पछिल्लो समय भद्रपुर नाकालाई रोजेका हुन्। नेपाल तथा भारतका व्यापारीहरूले साइकल, ठेला भ्यान, पिकअप, राँगागाडा, जिपलगायतका सवारीसाधनको प्रयोग गरी फलफूल तथा तरकारी भद्रपुर भन्सार कार्यालय अगाडिबाटै विषादी परीक्षणबिनै नेपाल भित्र्याउँदै आएका छन्। 

भारतबाट भित्रिने फलफूल तथा तरकारी अनिवार्य विषादी परीक्षण गर्न थालेपछि भारतीय पक्षले नेपाल सरकार दबाब दिएपछि सरकार पछि हटेको थियो। तर, गत असार २५ मा सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न र सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो। तर, भद्रपुर भन्सारका कर्मचारीले सर्वोच्च अदालतको आदेशलाई समेत उल्लङ्घन गर्दै विषादी परीक्षणबिनै फलफूल तथा तरकारी भित्राउन अनुमति दिँदै आइरहेका छन्। 

यसरी भित्राइन्छ विषादीयुक्त फलफूल र तरकारी

भारतीय व्यापारीले विभिन्न जिल्लाबाट सङ्कलन गरेका फलफूल तथा तरकारी ट्रक तथा जिपमा लोड गरी गलगलिया नाकासम्म ल्याइ पुर्याउँछन्। त्यसपछि व्यापारीहरूले साइकल, ठेला, भ्यान, पिकअप र राँगागाडामा लोड गर्छन्। लोड गरिसकेपछि व्यापारीहरूले ती साधनहरू मेची पुलको प्रयोग गर्दै भद्रपुर भन्सार कार्यालयसम्म ल्याउँछन्।

भन्सार कर्मचारीले ती फलफूल तथा तरकारीलाई विषादी परीक्षणका पठाउँदैनन्। व्यापारीहरूले प्रज्ञापनपत्र भरेको आधारमै कर्मचारीले राजस्व तिर्न लगाउँछन् र त्यहाँबाट पठाउँछन्।

त्यहाँबाट पठाएका फलफूल तथा तरकारी भन्सारदेखि केही पर गएर फेरि पिकअप तथा जिपमा लोड गर्छन्। लोड गरिएका फलफूल तथा तरकारी बिर्तामोडका बजारमा पठाउँछन्। विषादी परीक्षणबिनै प्रज्ञापनपत्रमा कर्मचारीले हस्ताक्षर गरेको समेत भेटिएको छ। 

नियमविपरीत भन्सार कर्मचारीले फलफूल तथा तरकारी भित्राउन दिइरहे पनि यसतर्फ कसैले चासो देखाएको छैन। यता भन्सारका नायव सुब्बा रेवती गिरीका अनुसार साइकलमा ल्याएको सागसब्जीलाई विषादी परीक्षणका लागि नपठाएर व्यवहारिकता हेरेर राजस्व तिर्न लगाएको बताउँछन्।

भन्सार कर्मचारीको आँखाआगडि पिकअप भ्यानमा लोड गरिएको फलफूल तथा तरकारीलाई पनि व्यवहारिकता हेर्न थालिएको विषयमा जिज्ञासा राख्दा उनले भने, ‘यस विषयमा चाहिँ अब कडाइ गर्नुपर्छ।’ तर, दुई दिन बितिसक्दा पनि कार्यान्वयनमा आएको देखिएको छैन। 

काँकडभिट्टाबाट तरकारी आउन छाडे 

मेची भन्सार कार्यालय काँकडभिट्टाका अधिकृत किरण शर्माका अनुसार विषादी परीक्षणमा कडाइ गरेपछि पछिल्लो समय यस नाकाबाट तरकारी आउन छाडेको बताए। 

‘झापाका बजारमा प्रशस्त मात्रमा भारतीय तरकारी आउँदै गरेको सुनेको छु, तर, कहाँबाट भित्रिन्छ यस विषयमा थाहा भएन’, उनले भने। उनका अनुसार अहिले यस नाकाबाट फलफूल मात्र भित्रिने गरेको छ।्

 ‘दिनमा १५ देखि २० वटा गाडी आउँछ सबैमा फलफूल मात्र हुन्छ’, उनले भने, ‘त्यसपछि गाडीबाट दुई चार वटा फलफूल निकालेर विषादी परीक्षणका लागि बिर्तामोड पठाउँछौ, बिर्तामोडबाट परीक्षण भएर आएको रिपोर्टअनुसार नै राजस्व लिन्छौँ।’ उनका अनुसार यस नाकाबाट विषादी परीक्षण गर्नुअघि फलफूलको तुलनामा तरकारी बढी आउँथ्यो।

भद्रपुर भन्सारले परीक्षण गर्न प्रयोगशाला पठाउँदैन

भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण गर्नु परे विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बिर्तामोडमा जानु पर्ने हुन्छ। भन्सारका कर्मचारीले सिलबन्दी गरी पठाएको फलफूल तथा तरकारी मात्र प्रयोगशालामा परीक्षण गरिन्छ।

परीक्षण गरेको फलफूल तथा तरकारीको रिपोर्ट लिएर गएपछि मात्र भन्सारले राजस्व लिने कानुनी प्रावधान रहेको छ। यस प्रयोगशालामा काँकडभिट्टाका व्यापारी बढी आउने गरेको प्रयोगशालाका सहायक प्राविधिक अन्जु आचार्यले बताइन्। काँकडभिट्टाबाहेक सुनसरीका व्यापारी समेत आउने गरेको उनको भनाइ छ।

 ‘भद्रपुरका भन्सार कर्मचारीले व्यापारीलाई अहिलेसम्म विषादी परीक्षणका लागि पठाएको रेकर्ड नै छैन’, उनले भनिन्, ‘झापामा काँकडभिट्टा भन्सारले मात्र परीक्षणका लागि पठाउँछन्।’

एक दिन ५० देखि ६० वटासम्म परीक्षण गरिने आचार्यले बताइन्। “विषादी परीक्षण गर्दा ३५ प्रतिशतसम्म खान योग्य मानिन्छ, त्यसभन्दा बढी आए थप परीक्षणका लागि विभाग पठाउँछौँ वा खान अयोग्य भनेर भन्सारलाई पत्र काटिदिन्छौं।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.