प्रामाणिक ग्रन्थ कुनलाई मान्ने ?

|

सनातन समाजमा वैदिक धर्मशास्त्रको क्रमसम्बन्धी विषयमा अन्योल रहेको पाइन्छ। धर्म–कर्म, संस्कार, आचार–व्यवहार आदिको निर्णय गर्न निर्णयसिन्धु, धर्मसिन्धुजस्ता ग्रन्थलाई आधार मानिँदै आएको छ। यी लगायत पछि बनेका ज्योतिषीय ग्रन्थको आधारमा समेत महत्वपूर्ण निर्णय गरिँदै आएको छ। 

हुन त धर्मसिन्धु, निर्णयसिन्धु लगायत ग्रन्थले पनि वैदिक शास्त्रहरूको सारकै रूपमा आचार विचारको निर्देश गर्छन्। तर कतिपय प्रसंगमा वेदका वाक्यहरूलाई पनि काट्ने काम गरिरहेका हुन्छन्। वैदिक सनातन धर्मको अनुयायीहरूका लागि धर्म, कर्म र मोक्षका विषयमा वेद, वेदाङ्ग, स्मृति, पुराणहरू नै प्रमाण हुन् तर त्यसमा पनि पहिलो वा प्रामाणिक कुन ग्रन्थलाई मान्ने भन्ने अन्योल छ।

धर्मसँग सम्बन्धित विषयमा विवाद देखिए वेदको वचन (भनाइ) लाई पहिलो प्राथमिकता दिनुपर्ने सनातन धर्मको मान्यता छ। वेद र स्मृतिका वचनमा विवाद देखिए वेदको मान्यता हुन्छ भने वेदबीच पनि केही अन्योल देखिए आफ्नै शाखाको वेदलाई आधार मान्नुपर्छ। पुराण र स्मृति बाझिए स्मृतिकै मान्यता बढी हुन्छ। यसका लागि वेद, स्मृति र पुराणको क्रम के हो भन्ने ज्ञान हुनु आवश्यक छ।

छन्दअन्तर्गत वैदिक ग्रन्थ अध्ययनका क्रममा गलाबाट निस्कने स्वरको परिमाणको अध्ययन गरिन्छ । यस्तै सूर्य र चन्द्रको गति नक्षत्र, तिथि, पक्ष, मास, ऋतु, अयन आदि कालको निरुपण गर्ने ग्रन्थ ज्योतिषशास्त्र हो  वैदिक शास्त्रअनुकुलको ३४०० वर्षअघि लगध मुनिले रचना गरेको वेदांग ज्योतिष ग्रन्थलाई आधिकारिक एवं प्रामाणिक मानिन्छ ।

अज्ञानको अन्धकारबाट ज्ञानको ज्योतितर्फ अघि बढाउने, चाहेका कुरा पाउन र नचाहेका कुरा पन्छाउने उपाय देखाउने संसारकै सबैभन्दा पुरानो ग्रन्थ वेद हो। नित्य, अपौरुषेय ९मानवबाट निर्माण नभएको० र ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा बाँडिएको ग्रन्थलाई वेद भनिन्छ। गुरुमुख परम्पराबाट  मन्त्रसंहिता र ब्राह्मणग्रन्थको रूपमा रहेको शब्दहरूको भण्डार हो, वेद। वेदका अनेकौं शाखा छन्। वेद गुरुका मुखबाट सुनेर सार स्वरसहित उच्चारण गरी एक पुस्ताबाट अर्को पुस्तामा हजारौं वर्षदेखि प्रवाहित भइरहेको छ । वेदको पुस्तकाकारमा आउने क्रम केही दशकयता चलेको भए पनि त्यसभन्दा अघि गुरुबाट शिष्यमा निरन्तर हस्तान्तरण हुँदै आएको हो। 

यज्ञका कर्ममा प्रयोग हुने वेद वाक्यलाई मन्त्र भनिन्छ। हाम्रा व्रतबन्ध, विवाह आदि संस्कारमा वेदका यिनै मन्त्रहरूको प्रयोग गरिन्छ। छन्दमा बाँधिएको मन्त्रलाई ऋचा र ऋचामा चढाइने भाकालाई साम भनिन्छ । यज्ञमा प्रयोग हुने गद्य वाक्यहरूपी मन्त्रलाई यजुः भनिन्छ। ऋक्, यजु, साम र अथर्व यी चारै वेदमा यी तीनै प्रकारका मन्त्र हुनछन् । चारै वेदका विभिन्न शाखाका छुट्टाछुट्टै मन्त्रसंहिता रहेको बताइन्छ। 

ऋगवेदमा धर्म, दर्शन, संस्कृति, कृषि, राजनीति, वाणिज्य लगायतका मानव समाजका विभिन्न पक्षहरूको उल्लेख छ। यजुर्वेद यज्ञप्रधान वेद हो। यो कृष्ण र शुक्ल गरी दुई प्रकारको छ। मन्त्र र ब्राह्मण भाग मिसिएको यजुर्वेदलाई कृष्ण र मन्त्र र ब्राह्मण छुट्टाछुट्टै भएको शुक्ल यजुर्वेद हो। नेपालका ब्राह्मणहरू प्रायः शुक्ल यजुर्वेदको माध्यन्दिनीय–वाजसनेयी शाखाका अध्येता भएको बताइन्छ। 

यस्तै भाका वा लयमा ढालेर गाइने ऋचाहरूको संग्रहित रूप सामवेद हो। ब्रह्मज्ञानका साथै शान्ति, पुष्टि अभिचार, आयुर्वेद आदि लौकिक विषय पनि सामवेदमा समावेश गरिएको छ। भूगोल, खगोल, अर्थशास्त्र, राजनीतिशास्त्र, वनस्पति, जडिबुटी तथा मन्त्रहरूको प्रयोगद्वारा उपचारलगायत व्यापक विषय अथर्ववेदमा समेटिएको छ। अथर्ववेदका केही मन्त्र अघिल्ला ३ वेदबाट समेत लिइएको पाइन्छ।  

यज्ञ वा मन्त्रको व्याख्या गर्ने वेदको भागलाई ब्राह्मण ग्रन्थ वा ब्राह्मण भनिन्छ। यज्ञमा विषयका साथै कर्तव्य–अकर्तव्यको बोध गराई निषिद्ध मार्गतिर जानबाट रोक्नु यसको प्रमुख उद्देश्य हो। यसैगरी गुरुसँग घरमा पढ्न नहुने वेदका यस्ता भाग छन्, जसलाई अरण्यक भन्दछन्। यो वनमा बसेर पढ्ने विधान छ। जीवात्मा र परमात्माको सम्बन्ध बुझाउने अरण्यककै भागलाई उपनिषद् भनिन्छ। वेदको अन्तिम भाग वा सारभूत तत्त्वमात्र हुने भएकाले यसलाई वेदान्त पनि भनिन्छ। 

वेदअनुकुलका ईश, केन, कठ, मुण्डक, प्रश्न, माण्डुक्य, तैत्तिरीय, ऐतरेय, छान्दोग्य र बृहदारण्यक १० उपनिषद् रहेका छन्। मानिसहरूलाई नित्य र अनित्यका ज्ञान दिई अनित्य कुरामा वैराग्य उत्पन्न गराउने, चित्तलाई एकाग्र गराउने, मुक्तिको इच्छा प्रबल बनाउने लगायतका विषय उपनिषद्मा संग्रहित छन् । वेदांग भन्नाले वेदका अंग हुन्। शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष गरी वेदका ६ वटा अंग छन् । यिनको मुख्य काम वेदको प्रयोग, अर्थ र रहस्य बुझ्न सहायता पुर्याउनु हो । मुख्य रूपमा वेदको शुद्ध उच्चारण गर्न सिकाउने शास्त्र शिक्षा हो।

वैदिक संस्कारको प्रयोग देखाउने शास्त्र कल्प हो । यसभित्र श्रौतसूत्र, गृह्यसूत्र र पितृसूत्रहरू पर्दछन् । पदको स्वरूप र अर्थको निरूपणलगायतका विषय व्याख्या गर्ने ग्रन्थ व्याकरण हो । पाणीनीय व्याकरण विश्वभरिकै उत्कृष्ट व्याकरण भएको पश्चिमाहरूले समेत स्वीकार गरेका छन् । निरुक्तमा व्याकरणले व्युत्पत्ति नदेखाएका पदहरूको विशेष निर्वचन गरिएको हुन्छ । यसले देवताहरूलाई बुझाउने पदहरूको पनि निर्वचन गर्छ।
 
छन्दअन्तर्गत वैदिक ग्रन्थ अध्ययनका क्रममा गलाबाट निस्कने स्वरको परिमाणको अध्ययन गरिन्छ । यस्तै सूर्य र चन्द्रको गति नक्षत्र, तिथि, पक्ष, मास, ऋतु, अयन आदि कालको निरुपण गर्ने ग्रन्थ ज्योतिषशास्त्र हो  वैदिक शास्त्रअनुकुलको ३४०० वर्षअघि लगध मुनिले रचना गरेको वेदांग ज्योतिष ग्रन्थलाई आधिकारिक एवं प्रामाणिक मानिन्छ ।

वैदिक यज्ञमा र गृह्यकर्ममा अपेक्षित सदाचार र वर्णाश्रम धर्मको प्रतिपादन गरिएको शास्त्रलाई धर्मसूत्र भनिन्छ। बौधायन, आपस्तम्ब, गौतम, वैखानस आदि धर्मसूत्रहरू प्रख्यात छन्। वेदलाई अर्को शब्दमा श्रुति भनिएजस्तै धर्मशास्त्रलाई स्मृति पनि भनिन्छ। मनु, याज्ञवल्क्य, नारद, पराशर लगायत अनेकौं स्मृति प्रसिद्ध छन्। त्यसो त वेदांग र पुराणलाई पनि स्मृतिकै कोटीमा राखिएको छ।
 
सृष्टि, प्रलय ऋषिमुनि  र राजाहरूको वंश, मनवन्तरलगायतका विषयको वर्णन पुराणमा गरिएको पाइन्छ। विभिन्न कथाहरूको माध्यमबाट मानिसलाई आत्मज्ञानतिर लैजाने र समाजमा रहेका सबै वर्गका लागि धर्म र व्यवहारको उपदेश दिने काम पुराणले गर्दछ। १८ वटा महापुराण, १८ वटा उपपुराण र त्यत्तिकै संख्यामा औपपुराण भएको बताइन्छ। 

भागवत (श्रीमद्भागवत र देवीभागवत) अग्नि, गरुड, भविष्य, विष्णु, स्कन्द, मार्कण्डेय लगायत नेपाली समाजमा चलेका महापुराण हुन्। प्राचीन घटनाहरूको वर्णन गरेर धर्म, अर्थ, काम र मोक्षका विषयमा उपदेश गर्ने रामायण र महाभारत ग्रन्थलाई इतिहासअन्तर्गत राखिएको छ। रामायण त्रेताकालीन तथा महाभारत द्वापरकालीन घटनाक्रमको वर्णन हो। धर्म, दर्शन, संस्कृति र नीति आदि सबै पक्षको उल्लेख महाभारतमा पाइन्छ। चारै पुरुषार्थका विषय समावेश भएकाले यसलाई ‘पञ्चम वेद’ पनि भनिन्छ । विश्व साहित्यको दृष्टिले पनि महाभारतको स्थान उँचो छ।

यसैगरी सनातन शास्त्रमा वेदका उपवेदको पनि महत्त्व छ । ऋग्वेदको अर्थवेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गान्धर्ववेद र अथर्ववेदको आयुर्वेद उपवेद मानिएका छन्। अर्थवेदअन्तर्गत अर्थशास्त्र वा राजनीतिशास्त्रका विविध पक्षको अध्ययन हुन्छ। अर्थशास्त्र, शुक्रनीति र चाणक्यनीति आदि ग्रन्थ अर्थवेदका महत्वपूर्ण ग्रन्थ हुन्।

धनुर्वेदमा शस्त्र, अस्त्र, युद्धकौशल आदि विषय समावेश गरिएको पाइन्छ। गान्धर्ववेदभित्र कला–संगीत–नाट्य आदि विषयको प्रतिपादन गरिएको हुन्छ। 

आयुर्वेदमा मानव स्वास्थ्यसम्बन्धी विविध पक्षको अध्ययन गरिन्छ। आयुर्वेदमा प्राकृतिक वस्तुहरूको प्रयोगबाट स्वास्थ्यरक्षा गर्ने, उपचार गर्ने र आयुवृद्धि गर्ने उपायहरूबारे चर्चा गरिएको छ।

 

[email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.